संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि
गठबन्धन दलका उम्मेदवारलाई मतदान गर्न संयुक्त अपील

आगामी २०७९ मंसिर ४ गते सम्पन्न हुन लागेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन प्रचार प्रसार तीव्र गतिमा अगाडि बढिरहेकै छ । नेपाली कांग्रेसको नेतृत्वमा रहेको लोकतान्त्रिक वाम गठवन्धनका पक्षमा देशभर जनलहर आएको र नेता कार्यकर्ताहरु उत्साहित भएर सहभागी हुनु भएबाट गठवन्धनको विजय सुनिश्चित रहेको हामीले महसुस गरेका छौं । यो अभियानलाई निरन्तरता दिंदै आम मतदातालाई मतदानमा सहभागी गराउन पार्टीका साथीहरु एवं शुभेच्छुकहरुमा हार्दिक अपील गर्दछौं ।

देशको संविधान, कानुन, विधि र प्रक्रिया उल्लंघन गरी दुई दुई पटक गरेको प्रतिनिधि सभा विघटन र कोरोना महामारीमा परेका नागरिकलाई खोप दिलाउनु सट्टा भ्रष्टाचारमा निर्लिप्त हुदै अनेकन स्वेच्छाचारी र प्रतिगामी कदम चालेपछि तत्कालीन सरकार बिरुद्ध २०७८ असारमा यो गठवन्धन बनाउनु परेको विदितै छ । यो गठवन्धनको सरकार बनेपछि पनि प्रतिगमनकारी र अधिनायकवादी आक्रमणको खतरा कायम रहेका कारण स्थानीय निर्वाचन र यो आम निर्वाचनमा समेत संविधानका पक्षधर शक्ति एक ठाउँमा उभिएका हुन् । झण्डै डेढ वर्षको यो अवधिमा सरकारले स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित तवरमा निर्धारित समयमा नै स्थानीय तहको निर्वाचन सम्पन्न गराएको छ । मुलुकको विदेश नीतिमा सन्तुलन कायम गरेको छ । नागरिकलाई सत्ताको अधिनायकवादी त्राशबाट मुक्त गर्दै दैनिक जीवन यापनका स्रोत साधनको नियमित आपूर्ति गर्दै आएको छ ।

गठवन्धनका प्राथमिकताहरु अहिले पनि उत्तिकै प्रष्ट छन् । संविधानमाथि कुनै खालको आक्रमण हुन नदिने तथा विकासका पूर्वाधारहरुलाई छिटोभन्दा छिटो सम्पन्न गरी मुलुकलाई विकासशील मुलुकको दाँजोमा माथि उठाउने लक्ष्यका साथ हाम्रा संकल्प, प्रतिवद्धता र घोषणापत्र सार्वजनिक भइसकेका छन् । यो गठवन्धन प्रत्यक्ष निर्वाचन तर्फ भएकाले समानुपातिक तर्फ सबै पार्टीले आ–आफ्ना पक्षमा मत माग्नु स्वाभाविक हो । यसले गठवन्धनको भावनामा कुनै चोट पु¥याउँदैन । गठवन्धनको स्पष्ट बहुमतबाट नै भोलिको सरकार गठन हुने र यसले संविधानको भावना अनुरुप राजनीतिक स्थायित्व दिने हो ।

यो निर्वाचनको परिणामले विघटनकारी र प्रतिगमनका पक्षधरहरुको गठवन्धनलाई उदाङ्गो पार्दै परास्त गर्नु परेको छ । यसको अर्थ संविधानको भावना अनुरुप लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका पक्षधर लोकतान्त्रिक वाम गठवन्धनलाई विजयी गराउनु हो । तसर्थ पाँच वर्षमा हुने यो आम निर्वाचनलाई राष्ट्रिय महोत्सवका रुपमा लिएर मतदानमा सहभागी भई लोकतान्त्रिक वाम गठवन्धनका उम्मेदवारलाई अत्याधिक बहुमतले विजयी गराउनु हुन हार्दिक आह्वान गर्दछौं ।

(कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर के.सी.द्धारा मंगलबार जारी संयुक्त अपिल)

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।