काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीका लागि भक्तपुरको गुण्डुमा निवास बनाउन सुरु गरिएको छ । जेनजी आन्दोलनका क्रममा बालकोटमा रहेको उनको निवास जलाइएको थियो ।

त्यसयता, उनी भक्तपुरमा भाडाको घरमा बस्दै आएका छन् । उनको लागि गुण्डुमै निवास बनाउन थालिएको हो ।ओलीका लागि बनाउन लागिएको निवासको नाम ‘ओली कुटी’ राखिएको छ । जसको बिहिबार ओलीकी श्रीमती राधिका शाक्यले शिलान्यास् गरेकी छिन् ।

अहिले ओली बस्दै आएको घर नजिकै करिब एक रोपनी क्षेत्रफलमा ‘ओली कुटी’ निर्माण हुन लागेको हो । नयाँ निवास निक्कै भव्य बनाउन लागिएको छ ।

गुण्डुवासीले दिएको जग्गामा निवास निर्माण गर्न लागिएको बताइएको छ । जग्गा के कसरी किनिएको हो भन्नेबारे खुलाइएको छैन ।

एमाले पोलिटब्यूरो सदस्य महेश बस्नेतले अनलाइनखबरसँग गुण्डुवासीले दिएको जग्गामा निवास निर्माण गर्न लागिएको बताएका छन् । उनको भनाईबाट उक्त जग्गा किनेको नभई अरुले नै दिएको बुझ्न सकिन्छ ।

तर, भक्तपुरको शहरी क्षेत्र गुण्डुमा एक रोपनी जग्गा सित्तैमा कसले दियो भन्ने विषयमा भने शंका उत्पन्न भएको छ । आनाको २० लाखले मात्र हिसाब गर्ने हो भने पनि ३ करोडमाथि उक्त जग्गाको मूल्य हुन जान्छ । के यति ठूलो राशिको जग्गा ओलीले सित्तैमा पाएका हुन् त भन्ने प्रश्न खडा भएको छ ।

सहयोगीले दिएको भए उनीहरुबारे किन खुलाइएन भन्ने पनि प्रश्न उठेको छ ।

बस्नेतले सेतोपाटीसँग सीमित मानिसहरूसँग आर्थिक सहयोग लिएर ओलीनिवास बनाउन लागिएको बताएका छन् ।

ओलीको लागि भव्य निवास बन्दै गर्दा आर्थिक पारदर्शिताको विषय भने रहस्यमा नै लुकेको छ । ओली केबल एक व्यक्ति मात्र नभएर एमाले अध्यक्ष र पूर्वप्रधानमन्त्री समेत रहेकाले उनको बन्न लागेको घर जग्गाको आर्थिक पारदर्शिताको विषयमा सबैतिर चासो हुनु स्वभाविक पनि छ । हेरौं एमाले र ओलीले यस विषयमा स्पष्ट पार्लान् वा यो विषयलाई यत्तिकै छोपछाप गरेर अघि बढ्नेछन् ।

एउटा कुरो के सत्य हो भने, सहयोगी तथा चन्दादाताहरुको नाम सार्वजनिक गरेर आर्थिक पारदर्शिता देखाए भने यसले एमाले र ओलीलाई नै राम्रो गर्नेछ नत्र भने यो विषय पटक पटक भविष्यमा उठिरहन सक्नेछ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।