काठमाडौँ । सुदूरपश्चिम प्रदेशका १० व्यक्ति सम्पर्कमा आएका छन् । भोटेकोशी बाढीका कारण रसुवाको धुञ्चेबाट उहाँहरु सुरक्षित स्थानमा रहनुभएको थियो । बाढी कम हँुदै गएपछि उहाँहरु प्रहरीको सम्पर्कमा आएका हुन् । सुदूरपश्चिमका १३० व्यक्ति अझै सम्पर्कमा आउन सक्नुभएको छैन ।
प्रहरीको सम्पर्कमा कञ्चनपुर र डडेल्धुराका व्यक्ति रहेको प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक पदमबहादुर विष्टले जानकारी दिनुभयो । सुनिल चौधरी, चन्दा जोशी, अजय राना, सुरेश राना, सन्तोश राना, बेलौरीका नवीन चौधरी, आर्दश चौधरी, कञ्चनपुरकै राकेश भट्ट, प्रदीप चन्द र डडेल्धुराका सुनिल बुढामगर प्रहरीको सम्पर्कमा आएका छन् ।
उनीहरु मध्ये सात जना हाइड्रोपावरमा काम गर्ने व्यक्ति हुन् भने चन्दा नर्सिङकी विद्यार्थी हुन् । अन्य दुई जना किन त्यहाँ गएका थिए ? भन्ने खुलेको छैन । १० जना सकुशल भेटिएसँगै सम्पर्कविहीन भएका व्यक्तिको सङ्ख्या १३० जना रहेका छन् । प्रवक्ता विष्टका अनुसार कैलालीका ४९, कञ्चनपुरका ३४, बाजुराका १४, डडेल्धुराका १७, बैतडीका आठ, दार्चुलाका चार, डोटी र बझाङका दुई÷दुई जना र अछामका एक जना अझै सम्पर्कविहीन छन् ।
सुदूरपश्चिम घर भएर कामको सिलसिलामा रसुवा पुगेका मजदुर, कर्मचारी तथा सुरक्षाकर्मी बाढीमा परेर सम्पर्कविहीन भएको जनाइएको छ ।




