रात्रि बसमा चोरीका घटना बढ्यो

गोलबजार (सिरहा), ३ असार । लामो दूरीका रात्रि बसमा चोरीका घटना बढ्न थालेपछि यात्रुहरु हैरान हुन थालेका छन् ।

चोरी भएको सामान खोजीका लागि यातायात सञ्चालक र प्रहरीलाई जानकारी गराउँदा आफ्नो सामान आफैँले सुरक्षित गर्नु पर्दैन भन्दै उल्टै धम्काउने गरेको यात्रुहरु बताउँछन् ।

लहान नगरपालिका– ६ का निर्मल राउतका अनुसार काठमाडौँबाट गाईघाट चल्ने ना४ख ९०४३ नम्बरको एस एन्ड एस रात्रि बसबाट लहानसम्म आउँदा बाटोमै झोलाबाट रु ७० हजार मूल्य बराबरको ‘ल्यापटप’ चोरी भएको बताए । बाटोमा खाजा र खानाका लागि बस रोकिएको दुई ठाउँमा आफू ओर्लेको र त्यसबीचमा ब्याग खोलेर सामान चोरी भएकाले गाडीकै स्टाफले चोरी गरेको यात्रु राउतको भनाइ छ ।

लहान आइपुगेका यात्रुले आफ्नो सामान चोरी भएको बारे बसका सञ्चालक र प्रहरीमा समेत जानकारी गराएको तर सामान भने अझै नभेटिएको पीडित राउतले गुनासो गरे ।

यसै सम्बन्धमा एस एन्ड एस बसका सञ्चालक सनद बस्नेतले आफूकहाँ सो घटनाको बारेमा जानकारी आएकाले सोधपुछ गरिने बताए ।

उता घटनाको जानकारी प्रहरीमा आएलगत्तै प्रहरीले सामान खोजबिन गरिरहेको तर फेला पर्न नसकेको वडा प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक सन्तोष निरौलाको भनाइ छ । उनका अनुसार रात्रि बसमा चोरी भएको भन्दै पीडितले उजुरीसमेत हालेका छन् । रासस


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।