काठमाडौं, १७ भदौ । संघीय संसद्ले विदेशस्थित नेपाली दूतावास भएका र नेपालमा आवासीय राजदूतावास रहेका मुलुकमा संसदीयमैत्री समूह गठनको प्रक्रिया शुरु गरेको छ । सभामुख कृष्णबहादुर महराले नेपाल–अष्ट्रेलिया संसदीयमैत्री समूहमा रहने सांसदको नाम घोषणा गरेर उक्त प्रक्रियाको शुभारम्भ गरेका हुन् ।
काठमाडौंमा आयोजित एक समारोहमा आइतबार सभामुख महराले नेपाल–अष्ट्रेलिया संसदीयमैत्री समूहमा रहने सांसदहरुको नाम घोषणा गरे । नेकपाका नेता एवं सांसद भीम रावलको नेतृत्व रहने नेपाल–अष्ट्रेलिया संसदीयमैत्री समूहमा सांसदहरु योगेश भट्टराई, जयपुरी घर्ती, पुष्पा भुसाल, सुरेन्द्रराज पाण्डे, लेखराज भट्ट र उमेश श्रेष्ठलगायत छन् । केही सांसदहरुको नाम अझैं आउने क्रममा रहेको र नाम आइसकेपछि समूहले पूर्णता पाउने सभामुख महराले बताए यो ।
सभामुख महराका अनुसार पहिलो चरणमा भारत, चीन र अष्ट्रेलियाका लागि संसदीयमैत्री समूह गठन हुनेछ । प्रत्येक मुलुकका लागि गठन हुने संसदीय मैत्री समूहमा १५ जना सदस्य रहनेछन् ।
नेपाल–अष्ट्रेलिया संसदीयमैत्री समूहको शुभारम्भ गर्दै सभामुख महराले मैत्री समूहले दुई देशबीचको कूटनीतिक सम्बन्ध प्रगाढ तुल्याउन योगदान पु¥याउने विश्वास व्यक्त गरे ।
उनले भने, ‘संसदीयमैत्री समूहको विभिन्न राजनीतिक दलका शीर्ष नेताबाटै नेतृत्व होस् भन्ने हामी चाहन्छौं । दुवै देशका संसदीय अभ्यासको अनुभव आदानप्रदान गर्न यस्ता समूहको गठनबाट योगदान पुग्नेछ ।’
अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले नेपाल र अष्ट्रेलियाबीचको सम्बन्ध विस्तारमा संसदीयमैत्री समूह गठनको घोषणा नौलो र ऐतिहासिक क्षण भएको बताए ।
नेपाल–अष्ट्रेलिया संसदीय मैत्री समूह घोषणा
Comments

