चक्र बहादुर के.सी.भदौ २ । बर्डफ्लुको सङक्रमण बढ्दै गएपछि प्युठान जिल्लामा कुखुरा तथा मासुजन्य पशुपंक्षी आयात, निर्यात तथा वितरणमा रोक लगाइएको छ ।
जिल्ला बर्डफ्लु रोग नियन्त्रण तथा रोकथाम प्रविधिक समितिले बैठकबाट निर्णय गरी ब्रोइलर कुखुरा, अण्डा तथा कुखुरा जन्य बस्तु ओसार पोसारमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी कमलमणि काफ्लेले बताएका छन् ।
दाङको भालुवाङ कपिलबस्तु लगाएत तराईका जिल्लाबाट भित्रने पंक्षी आयातमा बर्डफ्लु आउने सक्ने सम्भावना भएकोले सतर्कता अपनाउँदै जिल्ला बाहिरबाट कुखुराको चल्ला र अण्डा तथा कुखुराको मासु अर्को निर्णय नभएसम्मका लागि ल्याउन निषेध गरिएको छ ।
देशका विभिन्न क्षेत्रमा बर्डफ्लु फैलिरहेको र छिमेकी जिल्लामा समेत यसको संक्रमण भएसँगै यस्तो निर्णय गरीएको पशु सेवा कार्यालयले जनाएको छ । कुखुराको दाना स्रोत खुलेको प्रमाणपत्रको आधारमा ल्याउन सकिने भएपनि जिल्लामा उत्पादित कुखुरा तथा अण्डा ओसारपसार गर्दा समेत पशुसेवा तथा उपकेन्द्रको सिफारिस लिएर बेच्न सकिने कार्यालय डा. विष्णु धितालले बताए ।
जिल्लावासीलाई बर्डफ्लु रोग संक्रमणबाट बचाउन सबैखाले सवारीका साधनमा जिल्ला बाहिरबाट यस्ता पदार्थ ढुवानी नगर्न र नगराउन समेत समितिले सूचना जारी गरेको छ । समितिले निर्णय गरेअनुसार नियमको उल्लघंन गरेमा सम्बन्धित व्यक्ति वा व्यापारीलाई आवस्यक कारवाही गरिने प्रमुख धितालले जानकारी दिएका छन् ।

