जेठ ६ । अनियमित तरिकाबाट विद्यार्थी भर्ना गराएको भन्दै राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमा केही विद्यार्थी सङ्गठनले तोडफोड गरेका छन् ।

नयाँ विद्यार्थी भर्ना गर्न केही विद्यार्थी सङ्गठनले चेकमार्फत भर्ना शुल्क भुक्तानी गरेको भन्दै मधेसी विद्यार्थी फोरम सप्तरीले आइतबार क्याम्पस प्रमुख डा. चिरञ्जीवीलाल देवको कार्यकक्षमा तोडफोड गरेको छ ।

नयाँ भर्नाको अन्तिम दिन शुक्रबार राति ३ बजेसम्म क्याम्पसमा कानुनविपरीत चेकबाटै दस्तुर जम्मा गरी करिब १०० विद्यार्थीको भर्ना गरिएको थियो । एमाओवादीले आफ्नो विद्यार्थी सङ्गठनलाई स्ववियु निर्वाचनमा जिताउन १०० बढी विद्यार्थी भर्ना गराएको छ ।

एमाओवादीका जिल्ला इञ्चार्ज उमेश यादवले शुक्रबार राति रमेश यादवको नाममा राष्ट्रिय वाणिज्य बैंक पुल्चोक शाखाको चेक नम्बर एस ६८, ०९००९७१ बाट ३१ हजार ३३५ रूपैयाँको चेक काटेर क्याम्पस प्रशासनलाई बुझाएका छन् ।

यसैगरी प्रमोद मण्डलले आफ्नै नाममा राबा बैंक कलङ्की शाखाको एस ११,०३२७०७८ नम्बरको चेकबाट रु दश हजार ५०० विद्यार्थी भर्नाको लागि क्याम्पस प्रशासनलाई बुझाएका छन् ।

यस्तै सन्तोष यादवले आफ्नै नाममा सनराईज बैंकको ०३९३५३६० नम्बरको चेकबाट पाँच हजार रूपैयाँले विद्यार्थी भर्नाका लागि रसिद कटाएका छन् ।

चेकबाट भर्ना भएका विद्यार्थीहरूको भर्ना रद्द गरिनुपर्ने विद्यार्थी फोरम, नेविसङ्घ, अखिल क्रान्तिकारीसहितका विद्यार्थी सङ्गठनहरूले माग गरेका छन् ।

यता केही विद्यार्थी सङ्गठनका नेताहरूले अन्य विद्यार्थी सङ्गठनहरूले नै कानुनविपरीत त्यस्ता विद्यार्थी भर्ना गराएको दाबी गरेका छन् ।

आफैँले चेकबाट विद्यार्थी भर्ना गराउने अनि आफँै त्यसको विरोध गर्ने भन्दै केही विद्यार्थी सङ्गठनहरूले विरोध गरेका छन् ।

यता क्याम्पस प्रमुख डा देवले चेकबाट विद्यार्थी भर्ना गराउनु गैरकानुनी भएको स्वीकार गरेका छन् । “मैले सुरुमा रोकेको थिएँ तर विद्यार्थीहरूको दबाबले एउटा चेकलाई मान्यता दिएँ,” क्याम्पस प्रमुख देवले भने ।

चेकबाट यसअघि कहिल्यै पनि विद्यार्थी भर्ना नगरिएको बताउँदै क्याम्पस प्रमुख डा देवले विद्यार्थी सङ्गठनको सहमतिमा चेकको आधारमा भर्ना गरिएको स्वीकार गर्नुभयो ।

यता कानुनविपरीत चेकबाट भर्ना भएका सबै विद्यार्थीको भर्ना रद्द नगरिए आफूहरू कडा आन्दोलनमा उत्रने विद्यार्थी फोरम र नेविसङ्घका विद्यार्थी नेताहरूको भनाइ छ ।

तीन विद्यार्थी सङ्गठनद्वारा क्याम्पस बन्द

सल्यान– आगामी स्ववियु निर्वाचनलाई लक्षित गरी अनियमित तरिकाले विद्यार्थी भर्ना गरिएको भन्दै तीन विद्यार्थी सङ्गठनले अनिश्चितकालका लागि जिल्लाका चारवटै क्याम्पस बन्द गरेका छन् । अनेरास्ववियु, नेविसङ्घ र अनेरास्ववियु क्रान्तिकारीले जिल्लामा रहेका सबै क्याम्पस बन्दको घोषणा गरेका हुन् ।

श्ैक्षिक योग्यताका प्रमाणपत्रबिना आचारसंहिता विपरीत क्याम्पस प्रशासनले विद्यार्थी भर्ना गरेको भन्दै विद्यार्थी सङ्गठनहरूले क्याम्पसहरू बन्द गरेकोे नेविसङ्घ सल्यानका अध्यक्ष लोकराज आचार्यले बताए ।

अनेरास्ववियुका अध्यक्ष घनश्याम पुनले जिल्लाका चारवटै क्याम्पसमा अखिल क्रान्तिकारीले एउटै विद्यार्थी भर्ना गरेको आरोप लगाउनुभयो । उहाँले पढाइका लागि भर्ना भएको विद्यार्थी चारै क्याम्पसमा ३ गते नै भर्ना हुनै नसक्ने बताउनुभयो ।

उहाँले क्याम्पसहरूले आफ्ना मागको बेवास्ता गरे आन्दोलन अझ शसक्त बनाउने र त्यसको जिम्मेवारी क्याम्पसले लिनुपर्ने बताए ।

विद्यार्थी सङ्गठनहरूले जेठ ३ गते गरिएको भर्नाको छानबिन नहुँदासम्म क्याम्पस नखोलिने बताएका छन् । उनीहरूले विज्ञप्ति जारी गरी स्ववियु चुनावलाई षड्यन्त्र गरी क्याम्पस प्रशासन अघि बढेकाले सो दिनको भर्ना प्रक्रिया छानबिन गर्न र माग पूरा नहुँदासम्म अनिश्चितकालीन क्याम्पस बन्द गर्ने जनाइएको छ ।

एमाओवादी निकट अखिल क्रान्तिकारीले सल्यान क्याम्पस सल्यान, शिवजन क्याम्पस शितलपाटी र जनकल्याण क्याम्पस थारमारेमा फर्जी विद्यार्थी भर्ना गरेको विद्यार्थी सङ्गठनको आरोप छ ।

अखिल क्रान्तिकारीले सल्यान क्याम्पसमा ६८ जना, शिवजन क्याम्पसमा ७० जना र जनकल्याण क्याम्पसमा ४२ जना फर्जी विद्यार्थी भर्ना गरेको उनीहरूले दाबी छ ।

यसैबीच, यही जेठ २३ गते हुने स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) निर्वाचनका लागि एमाओवादी निकट अनेरास्ववियु (क्रान्तिकारी)ले मुलुकभरका क्याम्पसका अध्यक्षको उम्मेदवार एकसाथ घोषणा गरेको छ ।

आइतबार पत्रकार सम्मेलनमा देशभरका ११२ क्याम्पसमा अध्यक्षका उम्मेदवार नाम सार्वजनिक गरिएको हो । बाँकी क्याम्पसको यही जेठ ९ गते सार्वजनिक गरिने क्रान्तिकारीले जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।