काठमाडौं : आर्थिक अवस्था सामान्य भएका नेपालीको बाध्यता नै हो परिवारको शिक्षा र स्वास्थ्यका लागि पैसाको जोहो गर्नु। सबैभन्दा बढी खर्च यहीँ हुन्छ भनेर कमाएको केही रकम बैंक वा सहकारीलगायतका वित्तीय संस्थामा उनीहरू जम्मा गर्छन्, आवश्यक परेको समय प्रयोग गर्छन्। तर, त्यहीँ जम्मा गरेको पैसा आवश्यक परेको समयमा निकाल्न नपाए अवस्था के होला ? अहिले सहकारी पीडितको अवस्था हेरे उत्तर पाइन्छ।

केहीले राम्रो ब्याज आउने आसले पनि सहकारी रोजे। ब्याज त परै जाओस, दुःख गरेर कमाएको पैसा पनि सहकारीले फिर्ता नदिएपछि सर्वसाधारण एकाएक सडकमा पुगेका छन्। उनीहरूको एउटै माग छ– सहकारीले हाम्रो पैसा फिर्ता गरोस्। लाखौं सहकारी पीडितहरूले निक्षेप रकमको साँवा र ब्याज अबिलम्ब फिर्ता गर्न माग गर्दै काठमाडौंको माइतीघरबाट जुलुस निकाल्दै बिहीबार आन्दोलन गरे। बिजुलीबजारमा पूरै सडक कब्जा गर्नेक्रममा सहकारी पीडित र प्रहरीबीच मुठभेड भएर दुई जना सहकारी पीडित घाइतेसमेत भए। लामो समयदेखि पीडितले उठाएको आवाज सरकारले नसुनेको भन्दै उनीहरू आन्दोलित भएका थिए। उनीहरूले सहकारी संस्थालाई राष्ट्र बैंकको निगरानी र नियन्त्रणमा राख्ने व्यवस्था गर्नुपर्ने, बचकर्ताको साँवा तथा ब्याज रकम फिर्ता गर्नुपर्ने, सहकारी सञ्चालकका परिवार र कर्मचारीको सम्पत्ति रोक्का गर्नुपर्ने मागसहित प्ले कार्ड बोकेर दबाबमूलक र्‍याली निकाले।

सहकारीपीडित मध्येकै एक नेपाली चलचित्रकी पहिलो नायिका भुवन चन्द सहकारीले गरेको व्यवहारमा दुःख लागेको बताउँछिन्। भन्छिन्, ‘सहकारी पीडितको यस्तो अवस्था हँुदा पनि सरकार किन मौन छ ?’ नेपालभर सहकारीबाट ठगिएका निक्षेपकर्ताहरू एकबद्ध भएर आन्दोलन गरे। सहकारीपीडित बचतकर्ता महासंघको संयोजक हरिश्चन्द्र श्रेष्ठ ६३ दिनदेखि निरन्तर धर्ना र रिले अनशनमा रहेको बताउँछन्।

१ सय ६ वटा सहकारीका पीडित सहकारीहरू रहेको यस आन्दोलनमा उनीहरूको समस्यालाई समाधान गर्न एकजुट भएको उनले बताए। उनका अनुसार मुलुकभर करिब ३२ हजार सहकारी दर्तामा छन्। ‘यसमध्ये ३० हजार सहकारीमा समस्या आउँदा १४ हजार सहकारी संकटमा छन् र ८ हजार सहकारीले पूर्णरूपमा निक्षेपकर्ताको पैसा फिर्ता गरेका छैनन्,’ उनले भने। ‘१८ प्रतिशत ब्याज पाउने आसमा ९० लाख रुपैयाँ मुद्दतीमा राखेका थिए। तर, साँवा ब्याज नआएको १२ वर्ष भयो। यसबिच २०६९ साल भदौमा उनीहरूले पैसा दिन नसक्ने भनेको सुनेपछि लिन जाँदा कहिल्यै दिएनन्। यसलगत्तै आन्दोलन, जुलुस गरियो सञ्चालकलाई जेल हालियो, सर्वोच्चमा मुद्दा दायर गरियो र जितियो पनि तर पैसा पाइएन,’ श्रेष्ठले सुनाए।

संयोजक श्रेष्ठ ओरियन्टल सहकारीबाट ठगिएका व्यक्ति हुन्। २०५४ सालदेखि दैनिक रूपमा पैसा जम्मा गर्दै जानेक्रममा १ लाख पुगेपछि बढी ब्याज आउँछ भनेर मुद्दतीमा सार्दै गएका थिए। यसो गर्दै जानेक्रममा उनले ९० लाख रुपैयाँ जम्मा भएको थियो तर १२ वर्षदेखि साँवा ब्याज पाएका छैनन्। ‘करिब ८ हजार सहकारीले पूर्ण रूपमा पैसा नदिएको देख्दा करिब ६५ अर्ब रुपैयाँ साँवा मात्रै उठ्न बाँकी रहेको अझ ब्याज जोडेको छैन। हामीहरूले ३ चरणमा सहकारी मन्त्रीसँग कुरा गरिसकेका छौं तर, निकासा निक्लिएको छैन,’ उनको भनाइ छ।

यद्यपि बिहीबार सहकारी पीडितको दबाबमूलक आन्दोलनले सरकारको ध्यानाकर्षण भएको छ। सरकारले सहकारी पीडितसँग सातबुँदे सम्झौता गरेको छ। वास्तवमा सञ्चालकको बदमासी र गैरजिम्मेवारीका कारण सहकारीमा समस्याले विकराल रूप लिँदै गएको हो। सञ्चालकले मनपरी ऋण चलाउने, साँवा, ब्याज नतिर्ने र अन्धाधुन्ध घरजग्गामा लगानी गर्दा सहकारी धराशायी हुने क्रम बढ्यो। देशभर २९ हजार ८ सय ८६ सहकारी छन्। अधिकांश सहकारी काठमाडौंमा छन्। सहकारी विभागका रजिस्टार घिमिरेका अनुसार ७५ प्रतिशत बढी सहकारी निक्षेप फिर्ता गर्न नसक्ने स्थितिमा पुगेका छन्। जसले गर्दा सदस्यको बिल्लीबाठ भएको छ।

३० हजारसम्म जम्मा गरेका सदस्यले पनि निक्षेप फिर्ता पाउन सकेका छैनन्। ३ करोड निक्षेप राखेका एक सदस्य ५ हजार रुपैयाँ पनि फिर्ता नपाएको गुनासो गर्छन्। अहिलेसम्म १० वटा खरेज भएका छन् भने ५ सय बढीको उजुरी परेको छ। देशभरका १ सय ३५ सहकारी जटिल समस्यामा पर्दा ५७ वटा कारबाही सिफारिसमा परेका छन्।

काठमाडौं उपत्यकामा मात्रै कुलमध्ये ७५ प्रतिशतभन्दा बढी सहकारी धराशायी भएका छन्। विषयका आधारमा बचत तथा ऋण ३९, कृषि सहकारी ३८, बहुउद्देश्यीय सहकारी १३ र अन्य सहकारी १० प्रतिशत छन्। तर, सबैले खुलेआम बचत तथा ऋण मात्रै गर्दा समस्या आएको जानकारी बताउँछन्। उनका अनुसार देशभरको सहकारीले १० खर्बको कारोबार गर्छन्। ४ खर्ब ७७ अर्ब ९६ करोड निक्षेप संकलन गरी ४ खर्ब २६ अर्ब २६ करोड कर्जा प्रवाह गरेका छन्। सेयर पुँजी १ खर्ब पुगेको छ। पछिल्लो समय एकपछि अर्को गर्दै सहकारी संस्था धराशायी बन्दै गएका छन्। कति सहकारीका त सञ्चालक नै फरार छन्। सय बढी सहकारी कार्यालयमा ताला लागेको छ। – अन्नपूर्णपाेष्टबाट साभार

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।