काठमाडौँ — बैंकमा झन्डै दुई किलो सुन थुप्रिँदा गहना व्यवसायीहरूले भने सुन आयातको कोटा बढाउन ‘लबिइङ’ थालेका छन् । चाडबाडसँगै बिहेको सिजन नजिकिएको र माग बढ्ने भन्दै उनीहरूले सुनको कोटा बढाउन ‘लबिइङ’ थालेका हुन् । व्यवसायीले अर्थमन्त्री, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री र राष्ट्र बैंकका पदाधिकारीलाई भेटेर सुनको आयात कोटा बढाइदिन आग्रह गरेका छन् ।

आयात र लगानी निरुत्साहित गर्न राष्ट्र बैंकले कोटा प्रणाली लागू गरेको छ । कोटा प्रणालीअनुसार वाणिज्य बैंकले दिनको १० किलो मात्रै सुन आयात गर्न पाउने व्यवस्था छ । आयात कोटा बढाएर कम्तीमा २५ किलो पुर्‍याइदिन उनीहरूले आग्रह गरेका हुन् ।

‘सुनको आयात कोटा नबढेको करिब ३ वर्ष भयो । कोभिडअघि दिनको कोटा २० किलो थियो, आयात रोकिएपछि कोटा १० किलोमा झारियो । चाडबाड र सिजन आउन लागेकाले माग बढ्छ,’ नेपाल सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष पवनकुमार सोमानीले भने, ‘आयात कोटा बढाउने सन्दर्भमा ३/४ पटक बैठक बसिसक्यौं, राष्ट्र बैंकले बैंक र व्यवसायी सबैका लागि आयात खुला गर्नुपर्छ भन्ने हाम्रो सुझाव हो । त्यो गर्न नसके भन्सार दर १५ प्रतिशतबाट घटाएर साढे १२ प्रतिशतसम्म पुर्‍याउने र दैनिक कोटा २० प्रतिशत गर्नुपर्छ ।’

महासंघका अनुसार कोटाले विकृति ल्याएको छ । भन्सार ग्यापका कारण तस्करी बढेको छ । वाणिज्य बैंक र व्यवसायीका लागि आयात खुला हुँदा प्रतिस्पर्धा भई मूल्य पनि घट्छ । गत आर्थिक वर्षमा १० ग्राम सुनको ८ हजार ५ सय भन्सार लाग्ने गरेको उपाध्यक्ष सोमानी बताउँछन् । अर्थात् करिब १० प्रतिशत भन्सार हुन्थ्यो । नयाँ आर्थिक वर्षबाट भन्सार दर बढेर १५ प्रतिशत पुर्‍याइएको छ ।

सुन बिक्रीवितरण निर्देशिका ०६८ मा सुन आयात गरेका आधारमा वाणिज्य बैंकलाई ०.५ प्रतिशत मुनाफा राख्न पाउने व्यवस्था गरेको छ । व्यवसायीले पनि सुन बिक्री गर्दा ०.५ प्रतिशतसम्म मुनाफा राख्न पाउने सरकारले कार्यविधि बनाइदिएको छ । तर बैंकहरूले १ प्रतिशतसम्म मुनाफा राख्दै आएको महासंघले जनाएको छ । कान्तिपुरबाट साभार

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।