काठमाडौं । नेपाल आयल निगमले स्वचालित प्रणालीमा अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा बढ्ने र घट्दा घट्ने जनाउँदै आएपनि स्वचालित प्रणाली अनुसार नभएको पाइएको छ ।

अन्तर्राष्ट्रिय बजारमा दुई/तीन पटक मूल्य घट्दा पनि आयल निगमले थोरै मात्रामा घटाउने गरेको पाइएको छ । तर, अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको अवस्थामा भने तत्काल नै निगमले मूल्य वृद्धि गर्ने गरेको छ ।

अन्तर्राष्ट्रिय बजारमा विगत नौ महिनामा कच्चा तेलको मूल्य २३.५३ प्रतिशत घटिसकेको छ । नेपाल आयाल निगमले भने पेट्रोल ६.४३ तथा डिजेल, मट्टीतेल र हवाई इन्धन ८.७५ प्रतिशत मात्रै घटाएको छ । स्वचालित प्रणाली अनुसार कच्चा तेलको मूल्य साढे २३ प्रतिशत घट्दा नेपालमा पनि सोही अनुपातमा घट्नुपर्नेमा सरकारले नघटाई उपभोक्तामाथि भार थाेपरिरहेको हो ।

सरकारले खाना पकाउने एलपी ग्यासको मूल्य पनि घटाएको छैन । अन्तर्राष्ट्रिय बजार अनुसार मूल्य समायोजन हुँदा खाना पकाउने ग्यासको मूल्य घट्दा सर्वसाधरणको किचनसम्म राहत मिल्ने अवस्था रहेको थियो । यस्तै, पेट्रोलियम पदार्थको मूल्य घट्दा बस भाडा समेत समयोजन हुँदा सर्वसाधरणले राहत पाउने अवस्था रहेको थियो ।

सरकारले उपभोक्तामुखी नीति र व्यवहार नदेखाउँदा सर्वसाधरणले महंगी खेपिरहनु परेको छ भने आयल निगम मोटाइरहेको पाइएको छ । आयल निगमले उपभोक्तालाई महँगीको मार थोपरेर अबौं कमाइरहेको छ ।

नयाँ पत्रिकाका अनुसार अन्तर्राष्ट्रिय बजारअनुसार मूल्य समायोजन नगरेकै कारण निगमले चालू आवको नौ महिनामा नौ अर्ब रुपैयाँ नाफा आर्जन गरिसकेको छ ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य घटबढ भएअनुसार प्रत्येक १५ दिनमा निगमले नेपाली बजारमा मूल्य समायोजन गर्छ । तर, निगमले समायोजन गर्दा चर्को नाफा राखेर मूल्य तय गर्ने गरेको छ ।
पछिल्लो समायोजनअनुसार निगमले प्रतिलिटर पेट्रोलमा ६.५६, डिजेलमा ११.६६, मट्टीतेलमा २२.१५, आन्तरिक हवाई इन्धनमा १८.१६ र अन्तर्राष्ट्रिय हवाई इन्धनमा २०.४४ रुपैयाँ नाफा लिइरहेको छ । ग्यासमा भने निगम घाटामा रहेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।