काठमाडाैं । नेकपा एमालेले पूर्व राष्ट्रपति समेत रहेकी विद्या भण्डारीलाई पार्टी राजनीतिमा जसरी पनि नआउन दिने रणनिति तय गरेकाे छ ।

पार्टी नेतृत्वकाे आकांक्षा गरेकी भण्डारीलाई कुनै पनि हालतमा राेक्नेमा अध्यक्ष केपी ओलीसहितका नेताहरू लागेका छन् ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता नवीकरण पेन्डिङमा भएको दाबी गरेका छन् । उनकाे भनाईबाट भण्डारी महाधिवेशनमा नेतृत्वकाे दाबी गरे सदस्यता नवीकरणकाे नाममा राेक्ने याेजना रहेकाे बुझिन्छ ।

त्यस क्रममा गौतमले पार्टी विधानको दफा ८ को उपदफा १ को सन्दर्भ उप्काए । त्यसमा पार्टी सदस्यता स्वेच्छाले परित्याग गरेको विषय छ ।

भण्डारीले राष्ट्रपति हुने क्रममा पार्टी सदस्यता स्वेच्छाले परित्याग गरेको व्याख्या गर्दै यस्ताे बेला पार्टीले सदस्यता नविकरण नगर्न सक्ने संकेत पनि गरे ।

एमाले भित्र विद्या राेक्न अनेक प्रपञ्च भएपनि उनी भने जसरी पनि महाधिवेशनमा नेतृत्वकाे रूपमा दाबी पेश गर्ने पक्षमा छिन् । उनले यसअघि पूर्व राष्ट्रपतिकाे रूपमा राज्यबाट पाउने सुविधा समेत त्याग गरिसकेकी छिन् ।

७० वर्षे उमेर हद नराख्ने, दुई कार्यकाल पनि नमान्ने
एमालेभित्र ७० वर्षे उमेर हद र एउटै व्यक्ति दुई कार्यकाल एउटै पदमा नहुने भन्ने व्यवस्था लागू नहुने निश्चित जस्तै बनेकाे छ ।

याे व्यवस्था लागू भएमा केपी ओली अध्यक्ष बन्न बाटाे बन्द हुने छ भने ७० वर्षमाथिका नेताकाे बिदाई हुने छ । यी विषय निक्कै चर्चा र बहस भए पनि फुस्स जस्तै बन्नेमा पुगेकाे छ ।

शुक्रबार र शनिबार बसेकाे एमाले पोलिटब्युरो बैठकले ७० वर्षे उमेर हद र एउटै व्यक्ति दुई कार्यकाल नराख्ने, केन्द्रीय कमिटीको संख्या घटाउने विधान मस्यौदालाई अनुमोदन गरेको छ । अब याे लाइन केन्द्रीय समितिले पनि पास गर्ने निश्चिच जस्तै छ ।
तर, केन्द्रीय समितिकाे बहुमत पक्ष यसका विरूद्व भएमा निर्णयमा परिवर्तन हुने झिनाे सम्भावना बाँकी छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।