राजनीतिक कोर्ष बदल्न खोज्दै रवि र बालेन, निशानामा पुराना दल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बनेर विजयी बनेका मेयर बालेन शाहले एकआपसमा मिलेर नेपाली राजनीतिक कोष नै बदल्ने प्रयास सुरु गरेका छन् ।

यी दुई शक्तिबीच छलफलको सुरुवाती भईसकेको छ भने आगामी निर्वाचनमा मिलेर जाने र प्रधानमन्त्री को हुने भन्नेसम्ममा छलफल पुगेको छ ।

स्रोतहरुका अनुसार रवि लामिछानेले बालेनलाई सुरुमा प्रधानमन्त्री बन्न अफर गरेका छन् । त्यसपछि रवि प्रधानमन्त्री हुनेछन् । यस विषय केन्द्रित छलफल भइरहे पनि निचोड निस्कन अझै बाँकी छ ।
रवि र बालेन मिलेर चुनावमा गएमा काठमाडौं उपत्यकाभित्रका प्राय सबै ठाउँमा पुराना दल नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टीले आफ्नो विरासत जोगाउन मुस्किल पर्नेछ ।
रवि र बालेनले चुनावमा बालेनलाई प्रधानमन्त्रीको उम्मेदवारको रुपमा अघि सारेर सुशासनको नारासहित गएमा यिनीहरुले कति सिट पाउँछन् र पुराना दल कतिमा खुम्चिन्छन् भन्ने आँकलन गर्न समेत गाह्रो छ ।

यी दुई शक्ति यतिमा मात्र केन्द्रित देखिदैनन् । नयाँ शक्तिहरुलाई एक ठाउँमा जम्मा गरेर बहुमत ल्याउने गरी तयारी गरिरहेका पाइन्छ ।

रास्वपाका पूर्वसांसद असिम शाहको कमलपोखरीस्थित निवासमा सोमबार साँझ ७ बजेदेखि सुरु भएको छलफल मंगलबार बिहान साढे १ बजेसम्म चलेको थियो । छलफलपछि रवि र बालेन एउटै गाडीमा चढेर निस्किएका थिए ।

छलफलमा रवि, बालेन, रास्वपा उपसभापति डीपी अर्याल, असिम शाह, आसिफ शाह, कुमार बेन, निश्चल बस्नेतलगायतको सहभागिता थियो । रास्वपा नेताहरूले दुवैबीच सौहार्दपूर्ण वातावरणमा छलफल भएको बताएका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।