काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका कर्मचारीमाथि पछिल्लो समय बढ्दै गएको आक्रमण र दुर्व्यवहारप्रति कर्मचारी युनियनले गम्भीर आपत्ति जनाएको छ।
युनियनले नेपाल राष्ट्र बैंकका गभर्नरको ध्यानाकर्षण गराउँदै कर्मचारीको सुरक्षा सुनिश्चित नभए कडा आन्दोलनमा उत्रने चेतावनी दिएको छ।
सोमबार कर्मचारी युनियनका अध्यक्ष शिवहरि भण्डारीले हस्ताक्षर गरेको ध्यानाकर्षण पत्र राष्ट्र बैंकमा बुझाउँदै बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरू निरन्तर हिंसाको निशानामा पर्दै आएको उल्लेख गरिएको छ।
युनियनले माग सम्बोधन नभएमा बैंकका सम्पूर्ण शाखा कार्यालयका साँचो नेपाल राष्ट्र बैंकमा र जगेडा साँचो अर्थ मन्त्रालयमा बुझाई सबै कर्मचारी धर्नामा बस्ने चेतावनी दिएको छ।
युनियनका अनुसार घोराही शाखामा कर्जा असुलीका क्रममा कर्मचारीहरूमाथि ज्यान मार्ने नियतका साथ अराजक समूहले साङ्घातिक हमला गरेको थियो। यस्ता आपराधिक गतिविधिमा संलग्न व्यक्तिलाई तत्काल कानुनी दायरामा ल्याई कडा कारबाही गर्न माग गरिएको छ।
‘विभिन्न समूहहरूको प्रहारको केन्द्र बैंकका कर्मचारी बन्दै जानु र नियामक निकाय तथा सरकार मौन रहनु लज्जास्पद हो,’ ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘कर्जा नतिर्ने बहानामा कर्मचारीमाथि हुने भौतिक आक्रमण, अभद्र व्यवहार र सामाजिक सञ्जालमार्फत आउने धम्कीले कार्य वातावरण गम्भीर रूपमा प्रभावित भएको छ।’
युनियनले बैंक तथा वित्तीय संस्थाले देशको अर्थतन्त्रमा पुर्याएको योगदान स्मरण गराउँदै कर्मचारीको पेशागत मर्यादा र सुरक्षाको ग्यारेन्टी गर्न राज्यसँग माग गरेको छ। कर्जा मिनाहाको माग गर्दै वित्तीय प्रणालीलाई नै कमजोर पार्न खोज्ने अराजक तत्वलाई राजनीतिक संरक्षण दिइनु दुर्भाग्यपूर्ण भएको युनियनको ठहर छ।
मागहरू सम्बोधन नभए र कर्मचारीको सुरक्षा सुनिश्चित नभए कडा आन्दोलनमा उत्रिने युनियनले चेतावनी दिएको छ।
‘यस्तै अवस्था कायम रहेमा बैंकका सबै शाखाका साँचो राष्ट्र बैंक र अर्थ मन्त्रालयमा बुझाई सम्पूर्ण कर्मचारी धर्नामा बस्न बाध्य हुनेछौं,’ ध्यानाकर्षण पत्रमा उल्लेख छ।







