काठमाडौं । एनआईसी एशिया बैंकको इटहरी कार्यालयमा सोमबार दिउँसो ठू-ठूलो हल्ला गर्दै हातमा पेट्रोल बोकेर एक व्यक्ति आत्मदाहको प्रयास गर्छन् ।
बैंक वित्तिय क्षेत्रमा त्रासको अवस्था र बैंकले पनि ठगी गर्ने गरेको गुनासो आइरहेको अवस्थामा यो घटनाले धेरैको ध्यान खिचेको पाइयो । विगतमा सुनिने घटनाहरु भन्दा उक्त घटना भने अलिक फरक खालको रहेको छ ।
के हो त घटना ?
एनआइसी एशिया बैंकको इटहरी शाखाभित्र लालबहादुर पौडेल नामका एक व्यक्ति पेट्रोल छर्कंदै आत्मदाह गर्छु भन्दै होहल्ला गर्न पुग्छन् । केही छिनमा प्रहरीले उनलाई पक्राउ गर्छ । उक्त घटना सामाजिक सञ्जालमार्फत देश विदेशभरी एकैछिनमा फैलिन पुग्छ ।
पौडेलसँग व्यक्तिगत कारोबार भएका एक व्यक्तिले बैंकबाट लिएको ऋण केही वर्षदेखि नतिरेपछि बैंक धितो लिलाममा गएको थियो ।
बैंकका ऋणी गंगाशरण साह तेलीले लिएको ऋण नतिरेपछि बैंक धितो लिलाम प्रक्रियामा गएको थियो । सोही ऋणीसँग पौडेलले पनि पैसा लिनुपर्ने थियो । पैसा उठाउन नसकिरहेका पौडेलले बैंकले धितो लिलाम प्रक्रिया अघि बढाएपछि लिलामबाट आउने पैसा आफूले पनि पाउनुपर्ने भन्दै एनआइसी एशिया बैंकलाई दबाब दिन उनी बैंक पुगेका थिए ।
व्यक्तिगत कारोबारको विषयमा केही गर्न नसक्ने बैंकले बताएपछि उनी बैंकविरुद्ध आक्रोशित हुँदै पेट्रोल लिएर आत्मदाह गर्ने धम्की दिन पुगेका हुन् । जग्गा नै बैंकले लिलाम गर्ने भएपछि आफ्नो पैसा पनि उठाइदिनुपर्ने अन्यथा बैंकमा नै आत्मदाह गर्ने भन्दै पेट्रोल छर्किँदै बैंकविरुद्ध अभिव्यक्ति दिएका थिए । पौडेल पनि सोही बैंकका ऋणी समेत हुन् ।
प्रहरीले बैंकबाट आत्मदाह प्रयास गर्छु भन्दै एक व्यक्तिले प्रज्वलनशिल पदार्थसहित धम्की दिएको जानकारी आएपछि नियन्त्रणमा लिनु परेको जनाएको छ ।








