Tuesday, November 24, 2026
11.1 C
Kathmandu
Home उपभोक्ता सवाल रेल ढिलो हुँदा दम्पतिकाे विमान छुट्यो, भारतीय रेलवेलाई ६३ हजार रुपैयाँ क्षतिपूर्ति...

रेल ढिलो हुँदा दम्पतिकाे विमान छुट्यो, भारतीय रेलवेलाई ६३ हजार रुपैयाँ क्षतिपूर्ति तिर्न आदेश

काठमाडाैं । जम्मुस्थित जिल्ला उपभोक्ता आयोगले रेल ढिलो भएका कारण दिल्लीबाट गुवाहाटी जाने कनेक्टिङ फ्लाइट छुटाएका एक दम्पतीलाई ६३ हजार १९९ रुपैयाँ क्षतिपूर्ति दिन उत्तर रेलवे र भारत सरकारलाई आदेश दिएको छ।

जम्मुका मोहित सिंह भाउ र उनकी पत्नी दामिनी बिलोरिया सन् २०२२ डिसेम्बर १९ मा दिल्ली दुरन्तो एक्सप्रेस (रेल नम्बर १२२६६) मार्फत जम्मुबाट दिल्ली यात्रा गरिरहेका थिए। उक्त रेल डिसेम्बर २० को बिहान ३:५५ बजे दिल्ली पुग्ने तालिका थियो।

उनीहरूले दिल्लीबाट बिहान ७:१५ बजे गुवाहाटी जाने विमानको टिकट पनि बुक गरेका थिए। तर रेल निर्धारित समयभन्दा झण्डै चार घण्टा ढिलो अर्थात् बिहान ७:५० बजे दिल्ली पुगेपछि उनीहरूको विमान छुट्यो।

विमान छुटेपछि दम्पतीले नयाँ विमान टिकट खरिद गर्न ३५ हजार ६९९ रुपैयाँ र होटलमा बस्न थप २ हजार ५०० रुपैयाँ खर्च गर्नुपरेको थियो।

रेल सेवामा लापरवाही भएको भन्दै उक्त दम्पतीले सन् २०२३ फेब्रुअरी १३ मा जिल्ला उपभोक्ता आयोगमा उजुरी दिएका थिए।

उत्तर रेलवेले रेल ढिलाइ हुनुको कारण कुहिरो (फग) भएको दाबी गरेको थियो। तर उक्त दाबी पुष्टि गर्ने पर्याप्त प्रमाण पेश गर्न नसकेको आयोगले जनाएको छ।

सन् २०२६ नोभेम्बर ४ मा जारी आदेशमा आयोगले रेलवेको सेवा त्रुटि ठहर गर्दै अतिरिक्त यात्रा तथा होटल खर्चबापत ३८ हजार १९९ रुपैयाँ वार्षिक ७.५ प्रतिशत ब्याजसहित तिर्न आदेश दिएको छ।

त्यसैगरी मानसिक पीडा तथा असुविधाबापत २० हजार रुपैयाँ र मुद्दा लड्न लागेको खर्चबापत ५ हजार रुपैयाँ थप क्षतिपूर्ति दिन आदेश गरेको छ। यससँगै ब्याजबाहेक कुल क्षतिपूर्ति रकम ६३ हजार १९९ रुपैयाँ पुगेको छ।

रेलवेले आदेश प्राप्त भएको ६ हप्ताभित्र उक्त रकम बुझाउनुपर्नेछ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।