काठमाडौं । नेपाल राष्ट्र बैंकले हालै प्रकाशन गरेको विभिन्न पदहरूको विज्ञापनविरुद्ध परेको रिट निवेदन सर्वोच्च अदालतले दरपीठ अर्थात दर्ता गर्न अस्वीकार गरेको छ।
नेपाल राष्ट्र बैंक केन्द्रीय कार्यालय, बालुवाटारले २०८३ साल भदौ ९ गते प्रकाशित गरेको विज्ञापन नं. १०६/२०८३ समेतका विज्ञापनमा कागजात नपुगेको भन्दै बैंकले आफ्नो दरखास्त गैरकानूनी रूपमा अस्वीकृत गरेको दाबी गर्दै निर्मला भुजेलले सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेकी थिइन्।
निवेदकले बैंकको उक्त विज्ञापन उत्प्रेषणको आदेशद्वारा बदर गरी पुनः विज्ञापन जारी गरी पदपूर्ति गर्नुपर्ने माग राख्दै अदालतको असाधारण अधिकार क्षेत्रअन्तर्गत रिट निवेदन लिएर गएकी थिइन् । तर, प्रस्तुत निवेदनको अध्ययन तथा कानुनको व्यवस्था अनुसार उक्त विषयमा अदालतको असाधारण अधिकार क्षेत्रअन्तर्गत रिट निवेदन दर्ता गर्न मिल्ने नदेखिएएको भन्दै सर्वोच्च रजिष्टरद्धारा रिट दरपिठ भएको थियो ।
रिट दरपिठपछि निर्मलाको आरिसनामामा अधिवक्ता प्रकाश भुजेलले आज बुधबार पुनः दरपिठका विरुद्ध सर्वोच्चमा निवेदन दर्ता गराएका छन् । त्यसको सुनुवाई मिति समेत २० गतेका लागि तोकिएको उनले बताएका छन् । २० गते उक्त निवेदन दर्ता गर्ने कि नगर्ने भन्ने विषयमा सुनुवाई हुनेछ ।




