Saturday, October 31, 2026
15.1 C
Kathmandu
Home समाचार २ अर्बभन्दा बढीको क्रिप्टो कारोबार गर्ने २८ वर्षीय युवक समातिए

२ अर्बभन्दा बढीको क्रिप्टो कारोबार गर्ने २८ वर्षीय युवक समातिए

काठमाडौं । बाइनान्स मार्फत दुई अर्ब रुपैयाँभन्दा बढीको क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा धनुषाको सबैला नगरपालिका–१२ स्थायी ठेगाना भएका २८ वर्षीय सुनील कुमार यादव रहेका छन्।

नेपाल राष्ट्र बैंकको नीति तथा प्रचलित कानुनविपरीत विभिन्न विद्युतीय माध्यम तथा अनलाइन बेटिङ एप्लिकेसनमार्फत सट्टेबाजी खेल्ने तथा खेलाउने र अवैध रूपमा क्रिप्टोकरेन्सीको ठूलो कारोबार भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो।

कार्यालयबाट खटिएको प्रहरी टोलीले सूक्ष्म निगरानी तथा प्राविधिक विश्लेषण गरेपछि यादवले Binance ID मार्फत २ करोड ६९ लाखभन्दा बढी USDT (क्रिप्टो) कारोबार गरेको विवरण फेला पारेको जनाएको छ। उक्त कारोबारको नेपाली रुपैयाँमा मूल्य दुई अर्बभन्दा बढी रहेको प्रहरीको प्रेस विज्ञप्तिमा उल्लेख छ।

प्रहरीले यादवलाई जिल्ला प्रहरी कार्यालय धनुषाको समन्वयमा पक्राउ गरेको हो। उनीमाथि मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद ५ अन्तर्गत दफा १२५ (जुवा खेल्ने वा सट्टेबाजी गर्न नहुने) तथा सोही संहिताको दफा २६२ (क) १ (अभौतिक मुद्राको प्रयोग गर्न नहुने) सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ।

पक्राउ परेका यादवलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि काठमाडौं जिल्ला अदालत, बबरमहलबाट म्याद थप गरी अनुसन्धान भइरहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

क्रिप्टोकरेन्सी कारोबार तथा अनलाइन बेटिङमार्फत हुने गैरकानुनी गतिविधिमाथि प्रहरीले निगरानी बढाउँदै आएकाे छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।