कामना सेवा बैंकको रक्तदान अभियानबाट ४०४ पिन्ट रगत संकलन

काठमाडाैं । कामना सेवा विकास बैंकले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

बैंकले केन्द्रीय कार्यालयसहित देशभरका विभिन्न क्षेत्रीय कार्यालय तथा शाखामा आयोजना गरेको रक्तदान कार्यक्रमबाट कुल ४०४ पिन्ट रगत संकलन भएको जनाएको छ ।

कार्यक्रममा बैंकका प्रमुख व्यवसाय अधिकृत दीपेन्द्र सुवेदीले दुर्लभ नेगेटिभ रक्तसमूहको रगतसहित ६१औँ पटक रक्तदान गरेका छन् ।

बैंकको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा नायब प्रमुख कार्यकारी अधिकृत विनय दाहालले हिमाल हस्पिटल तथा रक्तसञ्चार केन्द्रकी निशा भण्डारीलाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरेका थिए ।

रक्तदान कार्यक्रम कोशी प्रदेशको विराटनगर शाखा, मधेश प्रदेशको बर्दिबास शाखा, नारायणगढ क्षेत्रको कावासोती शाखा, पोखरा क्षेत्रको न्युरोड पोखरा शाखा, बुटवल क्षेत्रको बुटवल ब्लड बैंक तथा पश्चिम क्षेत्रका घोराही र महेन्द्रनगर शाखामा आयोजना गरिएको थियो ।

ती कार्यक्रममा क्षेत्रीय प्रमुख, स्थानीय समाजसेवी, रक्तदाता तथा बैंकका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।