काठमाडौं । बैंक तथा वित्तिय संस्थामा कर्जा दिलाएबापत कमिशन लिने गरेका विषय त बेलाबखत आउने गरेका छन् । तर, सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकमा भने मार्केटिङ विभागमा नै कमिशनको खेल हुने गरेको पाइएको छ ।
वाणिज्य बैंकको मार्केटिङ विभाग प्रमुख दिनेश गौतम हुन् । उनकै संयोजनकारी भूमिकामा विज्ञापनको नाममा कमिशन अर्थात घुसखोरी काम भइरहेको पाइएको हो । गाैतमले टिम नै प्रयाेग गरेर कमिशन लिने गरेका छन् । कमिशन नदिएमा बिल नै राेकेर घुसखाेरी धन्दा चल्ने गरेकाे हाे ।
हेलोखबरले सुचनाको हकमार्फत प्राप्त विवरण अनुसार एउटै कम्पनीले एउटै रकमको बजेट दुई पटक भुक्तानी भएको पाइएको छ । त्यस्ता बजेटमा ५० प्रतिशतसम्म कमिशन लिने गरेको तथ्य हेलोखबरले प्राप्त गरेको छ ।
त्यस्तै, कतिपय खासै नाम नचलेका मिडियालाई कमिशनको चक्करमा अति नै बढी रकम दिएको पाइएको छ भने नाम चलेका मिडियाले भने थोरै बजेट पाएको पाइएको छ ।
यसले कुनै मापदण्ड बिनै वाणिज्य बैंकमा विज्ञापन दिने गरेको तथ्य उजागर गरेको छ भने कमिशन दिनेले मात्र विज्ञापन पाउने र नदिनेले नपाउने गरेको समेत पाइयो ।
एक अनलाइन सञ्चालकले प्रमाण नै देखाउँदै आफूले कमिशन दिन बाध्य भएकाे बताए । ‘कमिशन नदिएसम्म बिल नै पास नहुने भएपछि बाध्य भएर दिन पारियो ।’ उनले भने ।
वाणिज्य बैंकका कर्मचारीले घुस भने बैंकिङ प्रणालीमार्फत लिन अस्वीकार गर्ने गरेका छन् । तर, केही व्यक्तिले बैंकिङ प्रणालीमा नै घुस दिएको तथ्य हेलोखबरले प्राप्त गरेको छ ।
मार्केटिङ विभाग प्रमुख दिनेश गौतमसँग यस विषयमा बुझ्दा उनले सुरुमा सूचनाको हक अन्तर्गत आउन अनुरोध गरे । तर, समाचारका लागि प्रतिक्रिया दिन भनेपछि उनले यस विषयमा छानबिन गरी यथार्थ सत्यको पहिचान गरी प्रक्रिया अगाडी बढाउन चुनौती समेत दिए ।
वाणिज्य बैंकमा विज्ञापनको नाममा कमिशन लिने गरेको गुनासो बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सम्म पुगिसकेको छ । तर, सिइओ भने यस विषयमा मौन रहँदै आएका छन् ।








