काठमाडौं । नेपाल बीमा प्राधिकरणले सबै किसिमका भुक्तानी अनिवार्य रूपमा बैंक खातामार्फत गर्न सबै बीमा कम्पनीलाई निर्देशन दिएको छ।

प्राधिकरणले मंगलबार परिपत्र जारी गर्दै जीवन बीमा, निर्जीवन बीमा, लघुबीमा, पुनर्बीमा कम्पनी तथा पुनर्बीमा दलाल कम्पनीलाई आगामी माघ १ गतेदेखि सबै प्रकारका भुक्तानी सम्बन्धित संस्था वा व्यक्तिको बैंक खातामै गर्नुपर्ने व्यवस्था लागू गर्न निर्देशन दिएको हो।

बीमा दाबी भुक्तानी, कमिसन, तलब, सेवा शुल्क, परामर्श शुल्कलगायत सम्पूर्ण आर्थिक कारोबार नगद वा चेकमार्फत नभई बैंकिङ प्रणालीबाटै गर्नुपर्ने प्राधिकरणले बताएकाे छ।

प्राधिकरणका अनुसार यो व्यवस्था आर्थिक पारदर्शिता बढाउन, गैरनगद कारोबार प्रवर्द्धन गर्न, मनी लन्डरिङ जोखिम न्यूनीकरण गर्न र डिजिटल भुक्तानी प्रणालीलाई प्रोत्साहन गर्न लागू गरिएको हो।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।