देउवाको राजनीतिक उडान: पञ्चायतमा कठोर जेल, गणतन्त्रमा ‘जेनजी’को प्रहार, गगन–विश्वको जारी घेराबन्दी

रोष्मा कटवाल/हेलाेखबर​
काठमाडौँ । पाँच पटक प्रधानमन्त्री बनिसकेका कांग्रेस सभापति शेर बहादुर देउवाले गत भदौ २४ मा जिवनमा नै नसोचेको भाेग्नु पर्यो । छाेरा नाती पुस्ताबाट आफ्नै घरभित्र कुटाई खानुपर्यो । रगताम्य हुनुपर्यो । आफ्नो ज्यान जोगाउन नेपाली सेनाको उद्दारमा भर पर्नुपर्ने अवस्था आयो ।

पञ्चायती व्यवस्थाको अन्धकारमा प्रजातन्त्रको दियो बाल्न खोज्दा जिब्रोमा करेन्ट र ९ वर्ष जेल भोगेका देउवा, नातीनातिना सरहका युवा समुहबाट कुटाई खानु परेको छ भने आफ्नै पार्टीभित्रको महामन्त्री गगन थापा र विश्व प्रकाश शर्माको अगुवाईको बहुमत कांग्रेस नेता कार्यकर्ताको घेराबन्दीमा छन् ।

पाँच पटक प्रधानमन्त्री भइसकेका देउवाको पछिल्लो समयको राजनीतिक यात्रा निकै सकसपूर्ण देखिन्छ। हुन त जेनजी आन्दोलनपछि उनले कार्यबाहक सभापति पूर्ण बहादुर खड्कालाई बनाएर सक्रिय राजनीतिबाट अलग भइसकेका छन् । तर, उनले नियमति महाधिवेशन गराउने सन्दर्भमा ठोस नतिजा दिन सकेनन् । त्यसपछि बहुमत महाधिवेशन प्रतिनिधिको तागतमा गगन विश्वप्रकाशले विशेष महाधिवेशन बाेलाए ।

कठोर यातनाले बनेको जग
​देउवाको राजनीतिक जग पञ्चायतकालीन कठोर यातनाले बनेको हो। २०३० को दशकमा नेपाल विद्यार्थी संघको नेतृत्व गर्दा उनले अमानवीय शारीरिक यातना सहे। ‘जिब्रोमा करेन्ट लगाइएको’ जस्ता कहालीलाग्दा यातनाका कथाहरू आज पनि राजनीतिक वृत्तमा सुनिन्छन्। त्यही ९ वर्षको जेल जीवन र त्यागले उनलाई नेपाली कांग्रेसको शीर्ष नेतृत्वमा पुर्याएको थियो। तर, हिजो राजा र पञ्चायतसँग नझुकेका देउवालाई आज आफ्नै छोरा-नाति पुस्ताका युवाहरूबाट चुनौती थपिएको छ। उनले समयको प्रवाह बुझे पनि बुझ्दाबुझ्दै रोकिए । त्यसपछि आज उनी एउटा भुमरीमा परेका छन् । यति लामो र संघर्षपूर्ण यात्रा गरेका उनको राजनीतिक बिदाई सुखद् पक्कै देखिएन ।

भदौ २४ को त्यो अप्रत्याशित घटनास् ‘जेनजी’को आक्रोश
​देउवाको जीवनमा गणतन्त्रपछिको एउटा नमीठो मोड गत भदौ २४ गते देखियो। ‘जेनजी’ भनिने नयाँ पुस्ताको समूहले आयोजना गरेको आन्दोलनमा सहभागी हुने क्रममा देउवामाथि भौतिक आक्रमण र अभद्र व्यवहार भयो। पञ्चायतका विरुद्ध लडेर आएका नेतालाई आफ्नै देशका युवाहरूले घरबाट निकालेर सडकमा भौतिक आक्रमण गरे । यसलाई लामो समयसम्म सुशासनको क्षेत्रमा गति लिन नसकेकोमा युवाहरुको आक्रोशको रुपमा पनि लिने गरिएको छ ।

​पार्टीभित्र ‘गगन–विश्व’को घेराबन्दी: महाधिवेशनको राप
​अहिले देउवा आफ्नै पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माबाट राजनीतिक रूपमा ‘लखेटिएका’ छन्। देउवा आगामी वैशाखमा नियमित महाधिवेशन गर्ने पक्षमा अडिग रहँदा रहँदै पनि महामन्त्रीद्वयले विशेष महाधिवेशनको एजेन्डालाई अगाडि बढाएर देउवामाथि दबाब सिर्जना गरेका छन्। उनलाई हटाउने नहटाने विषयमा महाधिवेशनले अन्तिम निर्णय गर्न बाँकी नै छ ।

तर, नैतिक रुपमा उनी अप्ठ्यारोमा छन् । गगन विश्वले भर्खरै भौतिक आक्रमणको सिकार बनेका देउवाको विश्वासमा नियमित महाधिवेशनका लागि वैशाखसम्म कुर्ने धैर्यता देखाएनन् भने देउवाले पनि मंसिरमा नै नियमित महाधिवेशन गरेर सम्मानपूर्वक बहिगर्मनको बाटो रोज्ने अवसर पक्कै पनि चुकाएकै हुन् ।

​गगन–विश्वको जोडीले पार्टीमा ‘पुस्तान्तरण र रूपान्तरण’को नारा लगाउँदै देउवालाई विधानको पालना र नेतृत्व हस्तान्तरणका लागि घेराबन्दी गरे । विशेष महाधिवेशन बोलाउने महामन्त्रीहरूको सक्रियताले देउवालाई रक्षात्मक अवस्थामा पुर्याएको छ।

निक्कै ठुलो चुनौती मोलेर महामन्त्रीले विशेष महाधिवेशन बोलाउने हिम्मतको पनि कदर गनैपर्छ । तर, उनीहरुले सही गरे वा गलत गरे यो समयले पक्कै पनि बताउने नै छ । अबको कांग्रेस कस्तो कांग्रेस हुने हो ? र कांग्रेसमा के-के हुने हो ? यी प्रश्नको उत्तर भेटाउन भोलिका दिनहरुको प्रतिक्षा गर्नैपर्नेछ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।