थापाथली चोकबाट उम्किएको कार सिसिटिभी फुटेजपछि कारबाहीमा

0Shares

काठमाडौं । थापाथली चोकमा ट्राफिक नियम उल्लंघन गरेको कारलाई सिसिटिभी क्यामेराको सहायताले कारबाही गरिएको छ। प्रत्यक्ष रूपमा कारलाई कारबाही नगरिए पनि ट्राफिक प्रहरीले प्रविधिको प्रयोगमार्फत नियम उल्लंघनकर्तालाई कारबाहीको दायरामा ल्याएको हाे ।

मिति २०८२/१०/८ गते बिहान करिब १०ः४५ बजे थापाथली चोकमा ०२३ च ५१२१ नम्बरको सेतो हुन्डाई क्रेटा कार लेन बाहिरबाट आएर जबर्जस्ती लेनभित्र प्रवेश गरेको थियो।
घटनाको एक हप्तापछि पनि ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकलाई कारबाही गरेको हो ।

ट्राफिक प्रहरीका अनुसार थापाथली क्षेत्र सिसिटिभी निगरानीमा रहेको हुँदा लेन क्रस, रेड लाइट उल्लंघनलगायतका गतिविधि पछि क्यामेराबाट पुष्टि गरेर कारबाही गर्ने अभ्यास निरन्तर भइरहेको छ। सोही अभ्यासअनुसार उक्त कारलाई पनि नियम उल्लंघन गरेको प्रमाणका आधारमा कारबाही गरिएको हो।

यसअघि, हेलोखबरले थापाथली चोकमा मोटरसाइकल चालकलाई कारबाही गरेको तर कारलाई भने कारबाही नगरेको भनी समाचार प्रकाशित गरेको थियो । त्यसलगत्तै ट्राफिक प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको थियो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यायलले नियम उल्लंघन गर्ने सवारी चालकलाई कारबाही गरी सचेत समेत गराइएको जनाएको छ ।

ट्राफिक नियम सिकाउने अनुशासनको प्रतीक बन्दै थापाथली चोक
कुनै पनि सवारी चालक थापाथली चोक नजिकिँदा आफैँ सतर्क हुन्छन्। यसको मुख्य कारण हो- त्यहाँ कार्यरत ट्राफिक प्रहरीको निडर र निष्पक्ष कार्यशैली । नियम पालनामा सम्झौता नगर्ने उनीहरूको उपस्थितिले थापाथली चाेकलाई अनुशासनको प्रतीक बनाएको छ।

काठमाडौं उपत्यकाका अन्य स्थानमा लेन क्रस वा रेड लाइट उल्लंघन गरेपनि सजिलै छुट पाइने गुनासो सुनिए पनि थापाथलीमा भने त्यस्तो गुनासो कम सुनिन्छ । त्यहाँ नियम उल्लंघन गर्ने सवारी चालकलाई कुनै पनि बहानामा नछाडिने भएकाले नै गर्दा थापाथलीमा खटिने ट्राफिक प्रहरीहरु चालकहरूबीच सँधै नै चर्चाकाे पात्र बन्ने गरेका हुन्छन् ।

चालकलाई डर मात्र होइन, नियमको महत्व बुझाउने थलोका रूपमा पनि थापाथली विस्तारै उदाहरणीय ट्राफिक क्षेत्र बन्दै गएको छ।

पछिल्ला दिनमा त्यहाँ प्रविधिमार्फत पनि निगरानी गरी नियम उल्लंघनकर्तालाई कारबाही गर्ने गरिन्छ । फिल्डमा खटिएका ट्राफिकको आँखा छलेर भाग्ने सवारी चालकलाई प्रविधिको प्रयोगमार्फत पनि कारबाही गरिदैं आइएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।