काठमाडौं ८ चैत । धर्मको आवरणमा महिलामाथि गरिएको हिंसाको विरोधमा लेखेकै कारण तसलिमा नसरिनले २५ वर्षअगाडि आफ्नो देश छाड्नुपर्यो । त्यसपछि बंगलादेशमा प्रधानमन्त्रीदेखि विपक्षी दलका नेतासम्म पनि महिला नै भए । तैपनि, आजसम्म नसरिन घर फर्कन पाएकी छैनन् । न त बंगलादेशमा महिलाको स्थितिमा सुधार नै आउन सकेको छ ।आफ्नो संघर्षशील जीवनकथा सुनाउँदै उनले भनिन्,’केही महिला निर्णायक तहमा पुग्दैमा समग्र महिलाको स्थितिमा सुधार आउँदैन ।’ महिलाको अवस्थामा सुधार ल्याउन निर्णायक तहमा रहेका व्यक्तिमा वैचारिक प्रतिबद्धता आवश्यक रहेको उनको ठहर छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।
दक्षिण एसियाली महिला विकास मञ्च (सडफ) ले सोमबार आयोजना गरेको ‘वमन स्पिक्स’ नामक कार्यक्रममा उनले महिलालाई घरभित्र समान व्यवहार नगर्दासम्म बाहिरी दुनियाँमा पनि समान हुन नसक्ने विचार व्यक्त गरिन् । पुरुषले महिलाबाट घर, बच्चा सम्हाल्नेलगायत काम सिके मात्रै समाजमा समानता हुने व्यंग्य गर्दै उनले भनिन्,’महिलाले डाक्टर, इन्जिनियर आदि सबै बन्न सक्छु भनेर सावित गरिसकेका छन्, अब घरभित्रको काम गरेर आफूलाई सावित गर्ने पालो पुरुषको हो ।’
१०७ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले आफ्नो साहित्यिक जीवन र संघर्षबारे बताइन् । १३ वर्षकै उमेरदेखि कविता लेख्न थालेकी उनले लेखेका कृति विश्वभरका महिलाका लागि प्रेरणादायी दस्ताबेज बनेका छन् । तिनै महिलाले पाएका प्रेरणा नै आफ्नो जीवनको सबैभन्दा ठूलो उपलब्धि ठान्छिन् उनी ।
एमाले सांसद गौरा प्रसाईंले उनकै संघर्षका कथा पढेर आफू राजनीतिमा प्रेरित भएको बताइन् भने कांग्रेस सांसद लक्ष्मी राईले निर्वासनक्रममा लामो समय भारत बसेकी नसरिनलाई बंगलादेश र भारतमध्ये कुन देश मन पर्छ भनेर सोधेको जिज्ञासामा उनले’जसले मलाई माया गर्छ, त्यही मेरो घर र देश भएकाले विश्व नै मेरो देश हो’ भन्ने चलाखीपूर्ण जवाफ दिइन् ।
धर्मका आडमा अझै पनि विश्वका थुप्रै ठाउँमा महिलामाथि विभेद हुन्छन् । यसरी महिलालाई विभेद गर्ने र दबाउन खोज्ने धर्मलाई संसारका कुनै पनि महिलाले स्विकार्न नहुने पनि उनले बताइन् ।
विभेदकारी धर्मको विरोध गर्ने नसरिनसँगै ड्यासमा बसेकी नेपाली गायिका आनी छोइङ डोल्माले भने हिंसाबाट टाढिन धर्मको आड लिएको जीवनकथा सुनाइन् । यद्यपि, आज उनी आफूलाई धार्मिक व्यक्तित्व भन्दा पनि आध्यात्मिक व्यक्तित्व भन्न रुचाउँछिन् । आफ्नो परिवारभित्रै महिलामाथि भएको विभेद र हिंसा सहन नसकेर आनीले १३ वर्षकै उमेरमा भिक्षुणी बन्ने निर्णय गरेकी थिइन् ।