कार्यक्रमको सुरुवात ‘कुरूप अनुहार हो, यहाँ कोही साथी छैन’ बाट भएको थियो । झन्डै साढे चार दशकअघि यो गीत तयार पारेका विक्रम गुरुङले नेपाली संगीतलाई कुनै समय महŒवपूर्ण योगदान दिएका थिए । अरुण थापाका प्रारम्भिक लोकप्रिय गीतहरूका यी संगीतकार झन्डै तीन दशकदेखि हङकङमा शिक्षण पेसा अँगाल्दै आएका छन् ।
कुनै जमानामा त्रिवि कीर्तिपुरको विद्यार्थी रहँदा कोठामा सँगै बस्ने साथी सरुभक्त (हाल संगीत नाट्य एकेडेमीका कुलपति) ले लेखेका लाइनलाई संगीतबद्ध पारेका उनै विक्रम गुरुङका निम्ति आइतबारको ‘नेपथ्य हङकङ साँझ’ नोस्ताल्जिक बन्न पुग्यो ।
‘युवा अवस्थामा तयार पारेको यो गीत भर्खरै पहिलोपटक सुन्दै छु,’ मञ्चबाट झन्डै सय मिटर परको अँध्यारो लहरमा सेतै फुलेका गुरुङ भनिरहेका थिए, ‘नेपथ्यले आफ्नै शैलीमा प्रस्तुत गरे पनि मेरो उतिबेलाको मुड यसमा अटाएको पाएँ ।’
संगीतमा एउटै ‘थिम’ लाई पनि फ™क–फरक प्रस्तुतिले सजाउने गरेको बताउने गुरुङले गीत सुनेर आफू सन्तुष्ट बनेको सुनाए । एउटा उराठलाग्दो दिनमा कीर्तिपुरमा जन्मेको यो गीतले यति लामो समयपछि फेरि आफूलाई कर्मथलो हङकङमै बसेर पनि त्यही क्षणमा पु¥याएको उनले थपे ।
‘आज होलीको दिन म तपाईंहरूसँग रङ खेल्नका निम्ति आइपुगेको छु,’ कार्यक्रमको प्रारम्भमै गायक अमृत गुरुङले टनाटन भरिएका दर्शकहरूसँग संवाद गरे, ‘शब्द र संगीतको यो रङमा उता नेपालको माया भरिएको छ ।’यहाँस्थित तमु टहो ह्युलले आयोजना गरेको ‘आठौं रोदी साँझ’ को यो प्रस्तुतिमा नेपथ्यका नयाँ पुराना गीतहरूको मिश्रण थियो ।
‘हङकङमा हामीले हेर्ने कार्यक्रम र हाम्रा छोराछोरीले हेर्ने कार्यक्रम एकदमै फरक छ,’ अढाइ दशकदेखि यतै बस्दै आएका यातायात व्यावसायी शेरबहादुर पुन भनिरहेका थिए, ‘तर, नेपथ्यको कार्यक्रम हेर्ने बेलामा भने बुढापाकादेखि यतै हुर्केका केटाकेटीको उत्तिकै भीड देख्दा रमाइलो लाग्यो ।’
शेरबहादुरका अनुसार घरमा समेत बाबुआमा र आफन्त आएको बेलाबाहेक आपसमा जहिल्यै चिनियाँ भाषा नै बोल्ने उनका छोराछोरी र आफूहरूले हेर्ने टेलिभिजन नै बेग्लाबेग्लै छ । बूढापाकाले नेपालबाट आउने टिभी सो र सिनेमा हेर्छन् भने छोराछोरीहरू अन्यत्र मुलुकका कार्यक्रम ।
‘यस्तो अवस्थामा उनीहरूलाई नेपालसँग कसरी जोड्ने भनेर मुस्किल परिरहेको बेलामा नेपथ्यको प्रस्तुतिले सजिलो पारिदिएको छ,’ उनले थपे । आफैंमा अत्याधुनिक युन लुंग थिएटरले उपलब्ध गराउने प्रकाश र आवाजको सुविधासमेत अरूबेला नेपालबाट आउने प्रस्तोताहरूले पूर्ण रूपमा प्रयोग गर्न नसकिरहेको बेला ‘नेपथ्य कन्सर्ट’ का दिन भने हलको सुविधाले समेत नपुगेर बाहिरबाट ठूल्ठूला ट्रकमा लाइट र साउन्ड सिस्टम ल्याएको देखेरै आफू चकित परेको समेत शेरबहादुरले बताए । हङकङमै जन्मेकी र हाल बेलायतमा बसाइ सरेकी स्वेच्छा बस्नेत रंग रूप, चाल ढाल कतैबाट पनि नेपाली देखिएकी थिइनन् ।
‘छुट्टीमा यता आएका बेला काकाले नेपथ्यको सो छ भनेपछि हेर्न आएकी हुँ,’ आफूजस्तै किशोरीहरूको हुलबाट बोल्दै बेलायतको अक्सब्रिज कलेजमा ‘ट्राभल एन्ड टुरिज्म’ तेस्रो वर्ष पढ्दै गरेकी उनले भनिन्, ‘प्रायः अंग्रेजी र कोरियन ब्यान्डको सो हेर्ने गरेकोमा नेपथ्यको नाम पहिलेदेखि सुन्दै आएकाले कस्तो रहेछ भनेर हेर्न आएकी हुँ ।’
बेलायतमै पनि नेपथ्यको कार्यक्रम हुँदा हेर्न नपाएको धोको छुट्टीमा आएको बेला यहाँ पूरा भएको र आफूलाई असाध्यै रमाइलो लागेको उनले प्रतिक्रिया दिइन् ।
दुई घण्टासम्म चलेको कार्यक्रममा नेपथ्यले अत्यधिक मात्रामा नयाँ सिर्जना गरिएका गीतहरू सुनाएको थियो । त्यसैलाई निरन्तरता दिँदै कार्यक्रमको अन्त्य पनि मुलुकलाई जोड्ने सन्देश बोकेको ‘तिमी पनि नेपाली–म पनि नेपाली–हामी नेपाली’ बाट गरिएको थियो । कार्यक्रममा नेपथ्यका मुख्य गायक अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए ।








