भोलि पनि सार्वजनिक यातायात नखुल्ने, वार्तामा ठोस सहमति भएन

काठमाडौं । सरकार र यातायात व्यवसायीबीच आज भएको वार्तामा ठोस सहमति नहुँदा भोलि पनि सार्वजनिक यातायात नखुल्ने भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको छलफलमा व्यवसायीले आफ्ना माग राखे भने निरन्तर छलफल गर्ने भन्दै छलफल सकिएको छ ।

सरकारले काठमाडौं उपत्यकाभित्र तीन वटा जिल्ला र अन्य जिल्लामा सम्बन्धित जिल्ला भित्र हुने गरी सार्वजनिक सवारी साधन सञ्चालन गर्न अनुमति दिएपनि व्यवसायीले विभिन्न माग राखेर सार्वजनिक यातायात खोल्न मानेका छैनन् ।

यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले यातायात कहिले खुल्छ भन्न नसकिने बताए । उनले बैठकमा आफ्ना समस्याहरु र सरकारले गर्न सक्ने सहजीकरणबारे आफूहरुले जानकारी गराएको बताए ।

सरकारले गत बिहीबार छोटो दुरीका सार्वजनिक सवारी साधन सञ्चालन गर्न अनुमति दिने निर्णय सार्वजनिक गरेको थियो । तर व्यवसायीले विभिन्न माग राखेर सञ्चालन गरेका छैनन् ।

व्यवसायीले बैंकको ऋण किस्ताको स्थगन गरी पुनर्तालिकीकरण गर्नुपर्ने, ब्याजदरमा सहुलियत दिनुपर्ने, पुर्नकर्जाको व्यवस्था गर्नुपर्ने, गाडी र चालकको कागजपत्र नवीकरण गर्न सहजीकरण गर्नुपर्ने, चालक र परिचालकको स्वतः कोरोना बिमाको व्यवस्था गरिनुपर्ने लगायतका माग राखेका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।