काठमाडौँ, २४ पुस रासस – नेकपा–माओवादीको बुधबारदेखि सुरु भएको सातौं महाधिवेशनलाई धेरैले अर्थपूर्ण रूपमा हेरीरहेका छन् । एकीकृत नेकपा(माओवादी)ले क्रान्तिलाई धोका दिएको र संसद्वादमा फसेको भन्दै गत असार ४ गते अर्को समूहले छुट्टै पार्टी गठन गरेको थियो ।
माओवादीले लिने कार्यदिशा र महाधिवेशनले लिने नीति हिंसात्मक हुने हो कि भन्ने आशङ्काका कारण धेरैले माओवादीको महाधिवेशनलाई रुचिपूर्वक नियालिरहेका छन् । अध्यक्ष मोहन वैद्यले महाधिवेशनका लागि प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमा ‘जनयुद्धको जगमा जनविद्रोह’ अबको पार्टी कार्यदिशा रहने उल्लेख हुनाले माओवादीभित्र विद्रोहको बहसलाई दृष्टिगत गर्छ ।
त्यस्तै अध्यक्ष वैद्यको प्रतिवेदनमाथि जिल्लामा भएको छलफलका क्रममा धेरै कार्यकर्ताले हतियार उठाउनुपर्नेमा जोड दिनाले पनि सो पार्टीमा हिंसात्मक सङ्घर्षका लागि चर्को दबाब रहेको देखिन्छ । माओवादी प्रवक्ता पम्फा भुसाल भने महाधिवेशनपछि आफ्नो पार्टी युद्धमा जाने भनी गरिएको चर्चालाई हल्ला र स्यालहँइँयाको संज्ञा दिनुहुन्छ । उहाँ राज्यले लिने नीतिले नै आफूहरूको सङ्घर्षको स्वरूप तय हुने बताउनुहुन्छ ।
माओवादी अध्यक्ष वैद्यले यही पुस २० गते पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा वैधानिक सङ्घर्षका मैदान संसद्वादी दलहरूलाई खाली नछाडिदिने बताएर घुमाउरो पाराले आफूहरू वैधानिक किसिमले नै अगाडि बढ्ने सङकेत गर्नुभयो । महाधिवेशनले सङ्घर्षको स्वरूप, पार्टीको निर्वाचन आयोगमा दर्ता, संविधानसभा चुनावमा सहभागितालगायत विषयमा निर्णय लिने समेत उहाँले बताउनुभएको थियो ।
माओवादीमा तत्काल युद्धमा जनुपर्ने, जनविद्रोहको तयारीमा लाग्नुपर्ने, संविधानसभाको निर्वाचनमा भाग लिएर केही समय वैधानिक रूपमै जानुपर्ने लगायत मत देिखएका छन् । त्यसैले माओवादीमा एउटा वैधानिक मोर्चा र अर्को अवैधानिक मोर्चा बनाउने विषयमा समेत छलफल चलिरहेको बताइन्छ । अवैधानिक मोर्चामा जाँदा शान्तिकालमा आबद्ध पार्टी निकट शिक्षक, प्राध्यापक, बुद्धिजीवी, मजदुर, विद्यार्थी, कर्मचारी र पार्टीका साधारण सदस्यको ठूलो पङ्क्ति पार्टीबाट छुट्टिने र वैधानिक सङ्घर्षमा मात्रै बस्दा क्रान्ति गरिहाल्नुपर्छ भन्ने पूर्वलडाकु र युवा पङ्क्ति तथा युद्धकालीन कार्यकर्तामा निराशा र पलायन हुन सक्ने दोधार माओवादी नेतृत्वलाई छ । त्यसमाथि पार्टी विभाजनको औचित्य पुष्टि गर्न पनि माओवादीलाई यथास्थितिको भन्दा भिन्न कार्यक्रमको आवयश्कता परेको छ ।
बाहिर युद्धको चर्चा चले पनि महाधिवेशनपछि माओवादी तत्कालका लागि राष्ट्रियता र जनजीविकाको मागलाई लिएर आन्दोलन चर्काउने मनस्थितिमा देखिन्छ ।
कम्युनिस्ट पार्टीको इतिहास
विसं २००६ वैशाख १०मा भारतको पश्चिम बङ्गालस्थित कलकत्ताको श्यामाबजारमा नेपाल कम्युनिस्ट पार्टी(नेकपा) स्थापना भएको हो । पुष्पलाल श्रेष्ठ, निरञ्जनगोविन्द वैद्य, नारायाणविलास जोशी, नरबहादुर कर्माचार्य र मोतीदेवी श्रेष्ठको पहलमा कम्युनिष्ट पार्टी स्थापना भएको थियो । कम्युनिस्ट पार्टीमा पार्टीको महाधिवेशन भनेको सर्वाेच्च निकाय हो । यसले पार्टीको आगामी विचार, कार्यदिशा लगायत विषयमा गहनतम छलफल गर्ने र भावी राजनीतिक कार्यदिशा निर्माण गर्ने काम गर्छ ।
नेकपाको पहिलो महाधिवेशन पार्टी जन्मेको पॉच वर्षपछि भएको थियो । एकाथरीले २०१० माघ १३ देखि १७ सम्म ललितपुरको पाटनमा सम्पन्न भएको बताएकाछन् भने अर्काथरीले २०१० माघ १७ देखि गोप्यरूपमा पाटन र काठमाडौंमा गरी नौ दिनसम्म चलेको बताउ‘दैआएका छन् । सो महाधिवेशनले मनमोहन अधिकारीलाई महासचिव बनाउँदै १३ सदस्यीय केन्द्रीय समिति र पाँच जनाको पोलिटब्युरो गठन गरेको थियो ।
नेकपाको दोस्रो महाधिवेशन २०१४ जेठ १५–२५सम्म काठमाडौंँको फोहरा दरबार (प्रभा सिनेमा हलमा)मा खुल्लारूपमा भएको थियो । महाधिवेशनले केशरजड्ग रायमाझीलाई महासचिव चुनेको थियो । सो महाधिवेशनमा पुष्पलालको गणतन्त्रको नारालाई सुरक्षित राख्दै तत्काल संविधानसभाका लागि सङ्घर्ष गर्ने कार्यक्रम पारित गरेको थियो ।
नेकपाको तेस्रो महाधिवेशन भारतको बनारसको मयुरगन्जस्थित मोतीमहलमा २०१९ साल वैशाख ४ देखि १५ सम्म १२ दिन चलेको थियो । महाधिवेशनले महासचिवमा तुल्सीलाल अमात्यलाई चयन गरेको थियो । यसबीचमा अहिलेको माओवादी र एमालेलगायत पार्टीको तत्कालीन सङ्गठनमा विभाजन आई छुट्टाछुट्टै पार्टी गठन भएका थिए ।
विसं २०३१ भदौ ३० देखि असोज ७ मा बनारसमा रहेको धर्मशालामा भएको चौथो राष्ट्रिय महाधिवेशनले मोहनविक्रम सिंहलाई पार्टीको महामन्त्रीका रूपमा चयन गरेको थियो । यसबीचमा अहिलेका माओवादी अध्यक्ष मोहन वैद्य र नेकपा(मसाल)का महामन्त्री मोहनविक्रमसिंह बीच विवाद उत्पन्न भयो र पार्टी फुट्यो ।
विसं २०४१ मङ्सिरमा भारतको अयोध्यामा पाँचाँ महाधिवेशन सम्पन्न भयो जसले मोहन वैद्यलाई महामन्त्रीका रूपमा चयन ग¥यो । विसं २०४८ मङ्सिर ४ गते चितवनमा एकताको महाधिवेशन सम्पन्न भएको थियो । त्यही महाधिवेशनले पार्टीको नाम नेकपा (एकता केन्द्र) राख्ने निर्णय ग¥यो र पुष्पकमल दाहाललाई महामन्त्रीमा चयन ग¥यो । यसबीचमा २०५१ सालमा पार्टीको नाम नेकपा(माओवादी) राख्ने निर्णय भयो र २०५२ साल फागुन १ गतेदेखि जनयुद्ध सुरु भयो । गत असार ४ गते एमाओवादीबाट अलग्गिएर नेकपा–माओवादी गठन भएपछि सो पार्टीले पहिलो पटक महाधिवेशन गर्न लागेको हो । एमाओवादीले पनि माघ २० गतेदेखि हेटौँडामा पार्टीको सातौं महाधिवेशन गर्दैछ ।
महाधिवेशनको तयारी पुरा
बुधबार काठमाडौँको खुलामञ्चमा अपराह्न १ बजे महाधिवेशन उद्घाटन हुँदैछ । बिहीबारदेखि नेपाल प्रज्ञा–प्रतिष्ठानमा महाधिवेशनको बन्दसत्र सुरु हुने छ । महाधिवेशनमा आठ सय प्रतिनिधि, आठ सय पर्यवेक्षक र पाँच सय स्वयंसेवक गरी करिब दुई हजार एक सयको सहभागिता रहने प्रवक्ता पम्फा भुसालले बताउनुभयो ।
देशभित्रबाट १३ राज्य समितिका प्रतिनिधि, प्रवास राज्य समिति(भारत)का प्रतिनिधि र अन्तराष्ट्रिय राज्य समिति( युरोप) गरी १५ राज्य समितिका प्रतिनिधि र केन्द्रीय समिति, सल्लाहकार समिति, प्रचार राज्य समिति, सांस्कृतिक राज्य समितिलगायत पाँच वटा विशेष राज्य समितिबाट गरी २० क्षेत्रबाट महाधिवेशनमा सहभागिता हुनेछ ।
महाधिवेशन उद्घाटन सत्रमा फिलिपिन्स, प्रजग कोरिया, क्यानाडालगायत आधा दर्जन देशका कम्युनिस्ट पार्टीका प्रतिनिधिको उपस्थिति रहने पोलिटब्युरो सदस्य हितमान शाक्यले जानकारी दिनुभयो । कुपन्डोल, बबरमहल, लैनचौर, कालीमाटी र बत्तीसपुतलीबाट जुलुससहित खुलामञ्चमा सहभागी आउने उहाँले जानकारी दिनुभयो । महाधिवेशनमा अध्यक्ष वैद्यले प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदन र सचिव देव गुरुङले प्रस्तुत गर्ने विधान प्रतिवेदनमाथि छलफल हुनेछ ।








