नाटककी एक कलाकार इष्टु कार्की
‘बौका’ बोल्न सक्दैनन्, त्यति मात्र होइन उनी शारिरीक अपांग छन्, सामान्य मानिस झैं उनी सहजै हिडडुल गर्न पनि सक्दैनन् । उनी आफैं एक्ला छन् तर उनको चिन्ता आफ्नो भन्दा छोरी बुधिनीको विवाह नभएकोमा छ । उनले दाई भगतरामलाई मात्र होइन, भाउजु भगेनी र भतिजो रबिलाई बुधिनीको विवाह गरिदिनका लागि ठूलै दबाब दिईरहन्छन् । तर भगतरामको चिन्ता छोरीको विवाह गर्नमा पटक्कै छैन, उनको चिन्ता त चम्फुली बाजा र घोडचडी नाच लोप हुँदै गएकोमा छ । अझ रबि भने दिदीसँग काठमाडौंमा आएर पढ्ने ठूलो सपना देखिरहेको हुन्छ, दिदीको विवाह भए काठमाडौंमा दिदीसँग बसेर पढ्न पाइन्न भनेर रबिले दिदीको विवाहको कुरै सुन्न चाहदैन ।
प्रस्तुत विषय विस्तुहरु सुवलमणि सापकोटाको लेखन तथा निर्देशनमा शिल्पी थिएटरमा अहिले चलिरहेको नाटक ‘घोडचडी’ को हो । घोडचडी नाच चमार समुदायको एउटा संस्कृति हो । २ असोजसम्म शिल्पी थिएटरमा चल्ने नाटकमा चमार समुदायको मुख्य सँस्कृति घोचडीको लोप हुन लागेको विषयलाई दरिलो तरिकाले उठाइएको छ । त्यति मात्र नभएर चमार समुदायको भाषा, भेषभुषा, रितिरिवाज रहन सहनलाई सशक्त रुपमा उठाइएको छ । नाटकमा एउटी उमेर पुगेकी छोरीको विवाह ढिला हुँदा समाजले काट्ने कुरालाइ पनि उठाईएको छ ।
नाटकको सुरुमा भगरातमको भाई बौकाको दैनिकीबाट सुरु हुन्छ । कथा अघि बढ्दै जाँदा उनले बुधिनीको विवाह गर्न दबाब दिईरहन्छन् । नाटकभर नै उनले बुधिनीको विवाहको चिन्तामा जिवन बिताउछन् । उनका दाई भगतराम भने घोडचडी नाचमा निस्किएका हुन्छन् । २४ वर्षिया बुधिनी शहरमा बसेर डिग्री पढ्दै गरेकी हुन्छिन् । तर गाउँभरी उनले विवाह नगरेको र लस्सिदै हिडेको भनेर कुरा काटिन्छ ।
नाटकमा महिलाले ढिला विवाह गर्न हुन्न भन्ने पुरुषवादी सोचमाथि व्यंग्य त छँदैछ नै ललिताले आफैंले एउटा गाउँकी नारीको कुरा छरछिमेक तथा पधेरामा काट्दै हिड्छिन् । कुरौटे एउटी बुहारी बनेर पधेरामा आएकी ललिताले बुधिनीका आमा भगेनीसँग मात्र नभएर छिमेकी रामबत्तीसँग कुस्ति नै खेलौला झैं गर्छिन् । नाटकमा गाउँको पँधेरामा महिलाहरुले महिलाकै कुरा काटेको विषय उठाएर लेखक तथा निर्देशकले व्यंग्य गरेका छन् । त्यति मात्र होइन ललिताको भूमिकामा देखिने कलाकार इष्टु कार्कीको हाउभाउ र बोलीचालीले दर्शकमाझ हाँसाको फोहोरा समेत छुटाउँछ ।
जँड्याहा श्रीमानबाट श्रीमतीले भोग्नु पर्ने पीडासँगै घोड्चडी र चम्खोली बाजा कसरी लोप हुँदैछ भन्ने प्रसँगमा यो नाटकको कथा केन्द्रित छ । लेखक तथा निर्देशक सुबलमणी सापकोटाले चमार समुदायको षियमा अनुसन्धान नै गरेर नाटक लेखिएको बताउँछन् । ‘चमार समुदायको विषयमा अनुसन्धानपछि यो नाटक लेखेको हुँ, मुख्य गरेर अन्य समुदायको आफ्नो सँस्कृति अर्को पुस्तामा हस्तान्तर हुँदै आएको छ तर चमार समुदायको घोडचडी लगभग लोप हुने अवस्थामा रह्यो, त्यसैले घोडचडीलाई नाटक मार्फत देखाउ भनेर यो गरिएको हो ।’
उनी भन्छन्– ‘म स्वयं तराईवासी हुँ । सानैदेखि मेरो आँखामा सामु झल्किने तीतामिठा घटना साथै साँस्कृतिक उत्सव लगायत तराई समुदायको परिवेश यस नाटकमार्फत पस्कने प्रयास गरेको छु ।’ नाटक हप्ताको मंगलबार बाहेक अन्य बार बेलुकी ५ः१५ देखि पुरानो बानेश्वरस्थित सिल्पी थियटरमा लाग्दै आएको छ ।

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।