विनोद मेहता भारतका चर्चित पत्रकार हुन् । डेबोनेयर पत्रिकाबाट सम्पादन
सुरु गरेका मेहताले आधा दर्जनभन्दा धेरै पत्रिकामा सम्पादकको रूपमा काम
गरे । पछिल्लो समय उनले सम्पादन गरेको आउटलुक पनि सफल पत्रिका मानिन्छ ।
विशेषगरी पत्रिकाको लेआउट, फरक विषय र विवादास्पद लेख छापेर उनले भारतीय
पत्रिकारिताकोे इतिहासमा नयाँ आयाम ल्याइदिए । त्यस्तै, विभिन्न पत्रिकामा
स्कुपका कारण उनी जति चर्चामा रहे, त्यति नै विभिन्न मिडियाबाट हटाइएका
कारण पनि । लखनउमा हुर्केका विनोदको पछिल्लो आत्मकथा लखनउ ब्वाई पनि
चर्चामा छ ।
तिनै चर्चित पत्रकार केही समयअघि नेपाल आए । बुक वर्म ट्रस्टले आयोजना
गरेको नेपाल लिटरेचर फेस्टिवलमा भाग लिन उनी नेपाल आएका थिए । सो साहित्यिक
महोत्सवमा उनले दुई कार्यक्रममा आफ्नो जीवन र पत्रकारिताबारे कुरा गरे ।
उनका दुवै कार्यक्रम महोत्सवमा पनि अत्यन्तै चर्चामा रहे । सबै प्रसंगलाई
रमाइलो पारामा प्रस्तुत गरेकाले उनी चर्चामा रहेका हुन् । यसको उदाहरणका
रूपमा एउटा प्रसंग लिन सक्छौँ । दर्शकदिर्घाबाट उनलाई प्रश्न सोधियो,
‘तपाईं त अत्यन्तै राम्रो सम्पादक । नेपाल आएको पनि तीन दिन भइसक्यो ।
पक्कै पनि यहाँका पत्रिका पढ्नुभयो होला । कस्ता लागे त यहाँका अंग्रेजी
पत्रिका ?’ उनले जवाफ दिए, ‘यहाँको एउटा पत्रिकाले हिजोको मेरो कार्यक्रमको
कभरेज नै गरेको रहेनछ, त्यसैले मनै परेन ।’ उनी गम्भीर विषयलाई पनि
ठट्यौलो पारामा प्रस्तुत गर्न माहिर देखिए । भारतमा विनोद इमानदार,
सबैभन्दा बढी स्वतन्त्र, सैद्धान्तिक सम्पादक मानिन्छन् । प्रस्तुत छ,
विनोद मेहतासँग गरिएको कुराकानी :

 

तपाईं बेलायतमा पढ्नु जानुअघि राजनीतिमा पनि चासो राख्नुहुन्थ्यो । पत्रकार हुन छाडेर किन राजनीतिमा आउनुभएन ?

त्यो वेला सानो थिएँ । राजनीति केही होला भन्ने लाग्थ्यो । तर, पछि जति
राजनीति बुझ्दै गएँ, त्यति मलाई राजनीति केही होइन भन्ने ज्ञान बढ्दै गयो ।
खासमा के भने म सम्पादक वा पत्रकार भएर नै यति धेरै खुसी भएँ कि मलाई अरू
कुनै क्षेत्रमा जानु नै परेन । सम्पादक भएका कारण मलाई सबै पार्टीको
राजनीति थाहा हुनुपर्ने बाध्यता भने थियो । तर, वास्तवमा म राजनीतिलाई घृणा
गर्छु, पार्टी राजनीतिलाई । त्यसैले चासो हुँदाहुँदै पनि पार्टी राजनीतिमा
म कहिल्यै लागिनँ ।

राजनीतिमा नलागे पनि पारिवारिक पृष्ठभूमिका कारण तपाईं आर्मी हुनुपर्ने । आर्मी हुन पनि कहिल्यै मन लागेन ?

मेरा एकजना दाइ मात्र आर्मीमा थिए । त्यसैले लाग्यो, एउटा देशका लागि
एउटा परिवारबाट एकजना गए त भइगो । सबैजना देशका लागि नै गएर किन देशलाई झन्
बोझ थप्ने । मेरो बुबा पनि आर्मीमा हुनुहुन्थ्यो । त्यतिवेला के देखेँ भने
प्रायः सबै आर्मी भरियाको जस्तै काम गर्थे । आफ्नै झोला पनि कति हो कति
गह्रौँ । त्यसले मलाई त्यतापट्ट िआकर्षण गरेन । अर्को कुरा, आर्मीमा जान
दिमाग नै चाहिँदैनथ्यो । दिमाग नै नचाहिने काममा किन लाग्नु भनेर पनि सायद म
आर्मीमा गइनँ होला । तर, म सम्पादक हुनुमा नै गर्व गर्छु, खुसी छु ।

तपाईं जर्ज अरवेलबाट निकै नै प्रभावित देखिनुहुन्छ । जर्ज अरवेलले आफ्नो कुकुरको नाम माक्र्स राखेका थिए, तपाईंले इडिटर ।

कुकरको नाम त यत्तिकै राखियो । तर, केही हदसम्म भने मलाई जर्ज अरवेलको
कुराले छोएको भने हो । त्यहीबाट मैले कुकुरको नाम ‘युनिक’ राख्नुपर्छ भन्ने
सिकेँ । मैले कुकुरको नाम सजिलोका लागि इडिटर राखेँ । प्रायः सम्पादक
आफूलाई अति नै सिरियस देखाउन चाहन्छन् । मलाई त्यस्तो कत्ति पनि लाग्दैन ।
किन सिरियस
हुनुपर्‍यो र ?

त्यसो भने सम्पादकमा के हुनुपर्छ ? तपाईं त राम्रो सम्पादक, सम्पादकमा हुनुपर्ने केही गुण बताइदिनुस् न ।

सबैभन्दा पहिलो कुरा, सम्पादक आफ्ना रिपोर्टरकहाँ दौडेर जान सक्ने
हुनुपर्छ । अन्य कुरा त सामान्य भइहाले । गम्भीर भएर एउटा कुरा भने सबै
पत्रकारले सोच्नुपर्छ, कतै मैले लेखिरहेको यो कुरा भ्रामक पो हो कि ?
त्यस्तै कुरा नसोचेकाले मेरा गल्ती भएका छन् । कैयौँपटक त जागिर पनि गए ।
अर्को कुरा, राम्रो सम्पादकले राजीनामा पनि सधैँ गोजीमा राखिरहनुपर्छ । के
थाहा, कुन दिन साहु कोसँग मिलेर आउँछन् अनि नानाथरी प्रश्नको जवाफ
दिनुपर्छ । त्यसको साटो सरल हिसाबले राजीनामा दिए त भइहाल्यो । जे होस्,
सम्पादकले गोजीमा राजीनामा बोक्न बिर्सनुहुँदैन ।


यति धेरै गुण थाहा छ तपाईंलाई । तपाईं सफल पनि मानिनुहुन्छ, तर कुनै पनि मिडियामा लामो समय टिक्न सक्नुभएन नि ।

यसका विभिन्न कारण छन् । पहिलो कुरो त मैले सधैँ कर्मचारी भएर मात्र काम
गरेँ । मलाई कामसँग मात्र मतलब थियो । मलाई केही व्यवसायीले जागिर दिएका
थिए । जुन दिनसम्म उनीहरूलाई म राम्रो लागेँ, त्यो दिनसम्म उनीहरूले मलाई
राखे । जुन दिन म राम्रो लागिनँ वा उनीहरूलाई फलदायी छैन भन्ने लाग्यो,
त्यो दिन निकालिएँ । यो मेरो वशको कुरो होइन । व्यवसायीले छानिएको म,
उनीहरूबाटै निकालिएँ । खासै के नौलो कुरो भयो र ? तर, आउटलुकमा त मैले १७
वर्ष लगातार काम गरेँ नि । आउटलुकमा पनि म सम्पादक मात्रै थिएँ । मेरो एक
पैसा पनि लगानी थिएन । यसले पनि पहिलेका काममा म ठीक थिएँ, साहुहरू गलत
भन्ने प्रमाणित गर्छ । अर्को कुरो, मैले भनँे नि, एउटा राम्रो सम्पादकको
गोजीमा सधैँ राजीनामा हुनुपर्छ । मेरो गोजीमा पनि त्यो थियो ।

सम्पादक भएकै कारण आफ्नो संस्मरण लखनउ ब्वाई कत्तिको सम्पादन गर्नुभयो ?

हेर्नुस्, आफूले भोगेको जीवन सम्पादन गरेर चिरिच्याट्ट पारेर ल्याउने
कुरा होइन । मैले आफ्नो जीवन एक अक्षर पनि सम्पादन गर्न चाहिनँ । जस्तो
भोगेको थिएँ, त्यस्तै लेखेँ । आफूले बाँचेको जीवन सम्पादन गर्ने ठाउँ नै
कहाँ हुन्छ र ? मैले पुस्तकको सुरुमै जर्ज अरवेलको भनाइ पनि राखेको छु,
‘आत्मसंस्मरण तब विश्वासिलो हुन्छ, जब केही कष्टप्रद वा अविश्वसनीय कुरा
संस्मरणमा आउँछ ।’ त्यसैले पनि मैले मेरो जीवन सम्पादनविनै छाप्न चाहेँ ।

इमानदार भएरै होला, तपाईंले बि्रटेन जाँदा स्विजरल्यान्डकी एक युवतीसँग
भएको असुरक्षित सम्पर्कले छोरी जन्मिएको त लेख्नुभएको छ । तर, त्यहाँ त
तपाईंले सबै नाम परिवर्तन गर्नुभएको छ नि ।

त्यो कुरा मैले पहिले कहीँ पनि भनेको थिइनँ । त्यतिवेला जन्मेकी मेरी
छोरी अहिले ४० वर्षभन्दा बढीकी भइसकिन् होली । तर, मैले मेरो एक मात्र
सन्तानलाई आजसम्म भेटेको छैन । मैले त्यहाँ मेरी प्रेमिकाको नाम ढाटेँ ।
पत्रकारिताको कुरा भएको भए, नढाटेँको भए हुन्थ्यो होला । त्यो त मेरो निजी
जिन्दगीको कुरा हो । मलाई अरू कसैलाई हर्ट गर्ने चाहना भएन । मैले आफ्नी
श्रीमतीसँग नै सल्लाह गरेर नाम परिवर्तन गरेँ ।

के ती छोरीलाई भेट्नुभयो भने तपाईं आफ्नै घर लैजानुहुन्छ ?

पक्कै पनि । मेरी एक मात्र सन्तान हुन् उनी । म उनलाई खोज्न लामो समय
पनि लागेँ । तर, विभिन्न कारणले आजसम्म उनी कहाँ छिन्, के गर्दै छिन् भन्ने
केही पत्ता लगाउन नै सकिएको छैन । पछिल्लो समय मैले स्विजरल्यान्डमा रहेका
मेरा साथीहरूलाई उनको परिवारबारे पत्ता लगाउन अनुरोध पनि गरेको छु । म त
जहाँ भेटे पनि उनलाई घर लैजानेछु ।
बि्रटेन गएका वेला तपाईं साथी
अजादसँग मिलेर बस्न चाहनुहुन्थ्यो । उसले आफ्नो हेरचाह गरोस् भन्ने तपाईंको
चाहना थियो । तर, उसले त तपाईंलाई काममा पो लगाइदियो, त्यो पनि तपाईंले
पुस्तकमा भनेजस्तै एउटा कुल्ली काममा ।
हो, काममा लगाइदियो । र, गाली
पनि गर्‍यो । उसले भनेको त्यो वेलाको कुरा नै मेरा लागि समाचार भयो । मैले
कहिल्यै नसोचेको कुरा भनेको थियो । बाबुआमाले आफ्नै छोराछोरीबाट पनि भाडा
लिन्छन् भनेको थियो । त्यो मलाई नयाँ लाग्यो । त्यसले मलाई नराम्रो लागेन ।
केही गर्नुपर्छ भन्ने उत्साह पो थपिदियो । त्यसपछि म लामो समय काममा
लागेँ । घरबाट विदेशी डिग्री लिन हिँडेको म काममा लागेँ, बेलुकीको कक्षामा त
भर्ना भएँ । तर, दिनभर मरेर काम गरेपछि कसरी पढाइ सम्भव थियो र ?

त्यतिवेला तपाईंको प्राथमिकतामा केटी र सेक्स पनि थियो नि ।

त्यतिवेला म भर्खरै टिन एजको अन्त्यमा थिए । २०/२२ वर्षे दिमागमा
सेक्सको चाहना भएन भने पो अचम्म मान्नुपर्छ । तपाईं आफैँ भन्नुस्, एउटा
युवा केटी र सेक्सलाई बिर्सेर कसरी बाँच्न सक्ला र ? त्यो वेला मेरो पहिलो
प्राथमिकता विदेशी डिग्री हासिल गर्नु थियो । घरमा नै त्यही भनेर गएको
थिएँ । दोस्रो, सेक्स । तर, अहिले यो ७१ वर्षे बुढालाई सेक्सको केही मतलब
नै छैन । अजादले मलाई भनेको थियो, बि्रटेनमा जुन देशका केटी पनि हुन्छन् ।
त्यतिवेलासम्म म भर्जिन थिएँ । त्यसैले पनि सेक्स दोस्रो प्राथमिकतामा हुनु
स्वाभाविक थियो । तर, त्यहीवेला पनि मैले सेक्सलाई आफ्नो अन्तिम इच्छा
बनाउँछु भन्ने चाहिँ सोचेको थिइनँ ।

आफ्नै संस्मरण लेख्दा तपाईंका सबैभन्दा ठूला चुनौती के थिए ?

सबैभन्दा ठूलो चुनौती त मलाई लेख्न नै थियो । मैले बट्रान्ड रसेलका सबै
किताब पढेको थिएँ । उनको लेखनबाट प्रभावित भएको थिएँ । उनले आफ्नो
संस्मरणमा केही पनि लुकाएका थिएनन् । मलाई त्यसले प्रभावित गरेको थियो ।
मेरा लागि लेख्नु नै चुनौती थियो । जब लेख्न थालेँ, सम्झनाहरू बारम्बार
सजिलै आए । त्यसैले कुनै गाह्रो नै भएन ।

पत्रकार र नेता सँगै हिँडेका देखिन्छन् । पत्रकारले नेताका समाचार
लेख्छन् । तर, तपाईंले त आफ्नो पुस्तकमा कुनै पनि नेताबारे राम्रो धारणा
लेख्नुभएको छैन नि ।

लेखेको छु । कैयौँ नेताका राम्रो बानीको पनि टिप्पणी गरेको छु । तर,
मेरो व्यक्तिगत धारणा भने फरक छ । कुनै पनि नेता र पत्रकार साथी हुनै
सक्दैनन् भन्ने मलाई लाग्छ । हुन् पनि कसरी, हाम्रो धारणा र काम पनि
मिल्दैन । नेताहरू गफ दिएर राजनीति गर्छन् भने पत्रकारले साँचो कुरा
लेख्नुपर्छ ।

तपाईं आफैँ बारम्बार नेता र पत्रकार साथी हुन सक्दैनन् भन्नुहुन्छ तर
आफैँ भने दिल्लीमा कैयौँ नेताले बोलाएका लन्चमा सहभागी हुनुभएको छ ।
कहिलेकाहीँ त एक्लै पनि भेट्न जानुभएको छ ।

साथी नहुनु भनेको एउटा कुरा हो । हामीले नै उनीहरूबारे लेख्ने भएकाले
उनीहरू हामीलाई बारम्बार बोलाउँछन् । त्यो पनि सामान्य कुरा नै हो । तर,
हामीले उनीहरूलाई भने धेरै भाउ दिनुहुन्न । मैले आजसम्म पनि कुनै नेतालाई
मेरो यो काम गर्दिनुस् न भनेको छैन । एकपटक भनेको थिएँ । सोनिया
गान्धीलाई । आउटलुकको १०औँ वाषिर्कोत्सवमा अतिथि भएर आइदिनुस् भनेको थिएँ ।
उहाँ आइदिनुभयो ।
अब, लन्चमा जाने कुरा । कहिलेकाहीँ म नेताले मलाई
मात्र बोलाएको लन्चमा पनि सहभागी भएको छु । त्यस्तो वेला उनीहरू कसैले पनि
मेरो पैसा तिर्न पाएका छैनन् । उनीहरूसँग जान्छु, कुरा सुनेजस्तो गर्छु,
आफ्ना केही कुरा भए राख्छु र आफूले खाएको पैसा तिरेर हिँड्छु । तपाईं आफैँ
भन्नुस्, कोही नेतालाई तपाईंले साथी बनाउनुभयो । अब अर्को दिन उसले गरेको
नराम्रो कामबारे लेख्नुपर्‍यो भने तपाईंको कलम कसरी चल्ला ? कलम चल्दै
चल्दैन । साथीका बारे नराम्रो कसरी लेख्ने । त्यसैले पत्रकारले नेतालाई
कहिल्यै साथी बनाउनुहुँदैन ।

तपाईं राजनीति पनि त्यति रुचाउनुहुन्न । नेता पनि साथी बनाउनुहुन्न
भन्ने पक्षमा हुनुहुन्छ । तर, सोनिया गान्धीको चर्को समर्थन गर्नुहुन्छ ।
वास्तवमा तपाईं कुन पार्टीलाई समर्थन गर्नुहुन्छ ?

म कुनै पार्टीको पनि राजनीतिमा विश्वास गर्दिनँ । भारतको कांग्रेस
पार्टी पनि त्यति मन पर्दैन तर सोनिया गान्धी मन पर्छ । म पुँजीवादभन्दा
बढी माक्र्सवादलाई प्रशंसा गर्छु । तर, माक्र्सवाद नै मेरो रोजाइ भने
होइन । म सामाजिक प्रजातन्त्रमा बढी विश्वास गर्छु ।

तपाईंले छापेका आउटलुकका कैयौँ लेख विवादास्पद भए । आउटलुकमा पनि
तपाईंले लेटर टु द इडिटरलाई बढी प्राथमिकता दिनुभयो । ती पनि विवादास्पद
भए । अरुन्धती रायको त ३५ पेजभन्दा बढीको एउटै लेख छाप्नुभयो । यो सबै
सामथ्र्य कहाँबाट जुटाउनुभयो ?

मेरो एउटै सिद्धान्तले काम गर्‍यो, पत्रिका भनेको सबैको सहभागितालाई
समेट्न सक्ने हुनुपर्छ । त्यसैले मैले सबै लेखलाई प्राथमिकता नै दिएँ ।
अर्को, अरून्धती रायको कुरा । उनी राम्रो लेख्न सक्ने अत्यन्तै कम
मान्छेमध्ये पर्छिन् । त्यसैले उनको लेख मलाई मन पर्‍यो । कतिपय ठाउँमा त
मैले कहिल्यै नलेख्ने मानिसका लेख पनि छापेको थिएँ । उनीहरू लेखेर दिन्थे ।
अत्यन्तै राम्रो । म सोध्थेँ, ‘यति राम्रो लेख्ने मान्छेले अरूवेला किन
नलेखेको ?’ उनीहरू जवाफ दिन्थे, ‘कसैले मागेको भए पो ।’ मैले मागेँ र
उनीहरूको विश्लेषण छापेँ ।

तपाईं सधैँ दिल्ली डायरी मात्र लेख्नुहुन्छ । अन्य सहरका डायरी
लेख्नुहुन्न । फराकिलो विषयलाई दिल्ली डायरीमा नै अटाउनुहुन्छ । के अब
फर्केपछि काठमाडौं डायरी लेख्नुहुनेछ ?

मेरो दिल्ली डायरी दिल्लीको विषयमा मात्रै लेखिएको होइन । त्यसमा फरक
विषय समेटेको छु । दिल्लीले एउटा प्लेटर्फम बनेर सहयोग गरेको छ । अन्य विषय
समेट्ने हो भन्ने अन्य सहरका डायरी पनि लेख्न सक्छु होला । हेरौँ,
काठमाडौं डायरी लेखिन्छ कि लेखिँदैन । शिखर आरोहण, नयाँ पत्रिकाबाट

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।