डवल महतारा – बर्दिया जिल्ला गुलरिया–११ का सशिराम घर्ती उमेरले ४५ बसन्त पार गरिसकेका छन् तैपनि, उनमा श्रमप्रतिको आस्था र जोस अझै घटेको छैन । बिहानदेखि बेलुकासम्म उनी काममा ब्यस्त भइरहन्छन् ।
जीवनमा अनेकौं किसिमका पेशा र ब्यवसायको पछि लागे । हरेक दुःख कष्टहरु भोगे । तर, त्यसबाट सोचे जस्तो जीवनस्तरमा परिवर्तन आउन सकेन । जीवनका हरेक उकाली–ओराली पार गर्दै आएका घर्ती अहिले रिक्सा चालकको पेशा गरेर आफ्नो जीवन यापन गरिरहेका छन् ।
दुःख कष्टकै विचबाट जीवन गुजारा गरिरहेका सशिराम भन्छन् –‘जीवनमा अनेकौं पीडा र कष्ट भोगें, अहँ कहिल्यै सुखका दिन आएनन् ।’ एक पछि अर्को गर्दै अनेकौं पेशा अँगाल्दै, छोड्दै गरेका घर्तीले विगत ५/६ महिना यता रिक्सा चलाएर आफ्नो जिवीकोपार्जन गर्न थालेका छन् ।
अस्थायी घर भएकाले पानी पर्नासाथ चुइने गर्छ । चार्रैतिरका पर्खाल ढलेकाले घरभित्र बस्नु र वाहिर बस्नुमा कुनै फरक छैन । जसले गर्दा घर पनि आकाशमुनिको खुला वास बनेको छ । जीवनको कथा एकदमै दयनीय भएको सशिरामले बताए । घरमा एक छाक खान र एक सरो लाउन मुस्किल छ । उनले भने –‘त्यसैमा पनि सबै मानिसहरुले मलाई नै हेला गर्छन् ।’
घर–वास वाहेक अन्य जग्गा जमिन नभएका घर्तीलाई संधै आर्थिक अभाव भैरहने गरेको छ । तैपनि, उनी अभावको बिचबाटै संघर्ष गरिरहेका छन् । जीवनका हरेक पाटापक्षलाई केलाएर अध्ययन गर्ने हो भने उनको जीवन निराशाको सागर मात्र होइन, उत्प्रेरणाको श्रोत पनि बनेको छ ।
एक छोरा, एक छोरी भएका सशिरामलाई प्रकृतिले त दुःख दियो नै, त्यसैमा पनि श्रीमतिले छोडेर अर्कैको पछि लागिदिएपछि झन् ठूलो चोट परेको छ । ‘एक त समयले दुःख दियो, त्यसैमा पनि श्रीमतिले झन् ठूलो दुःख दिएर गई’ बिगतको दिन स्मरण गर्दै सशिरामले भने । सानो छोरा अमृत र छोरी पिंकीलाई छिमेकी मन्जरीको घरमा छोडेर दैनिक काममा निस्कने गर्दछन् उनी ।
सशिरामले रिक्सा भाडामा लिएर दिनभरि पसिना बगाउँदै दैनिक २ देखि ३ सयसम्म कमाउने गरेका छन् । रिक्साको भाडा ५० रुपैयाँ तिरेर करिब डेढ दुई सय बच्छ । बचेको पैशाबाट छोरा–छोरी हेरिदिए बापत घर्तीले मन्जरीलाई दैनिक ६० रुपैयाँ बुझाउने गरेका छन् । उनले भने –‘रिक्सा चलाएर बचेको पैंशाले खान र लाउन ठिक्कै हुन्छ ।’
वर्षाको कारण घरमा बस्न समस्या पर्ने भएकाले उनी रात काट्नका लागि जिल्ला स्वास्थ्य कार्यालयमा धाउँने गर्छन् । कार्यालयको ब्रण्डामा एक च्यादरको भरमा रात काट्ने सशिरामलाई सबैले बिरामी कुरुवा हो भन्ने लाग्छ । उनले एक मुठी प्राण धान्नकै लागि अनेकौं कष्ट भोग्नु परेको बताए र भने –‘म जस्तो गरिवलाई हेर्ने कोही निकाय छैन ।’
देशमा धेरै ब्यवस्था र सरकार फेरिए । धेरै नेताका दिनहरु आए सरकारमा पुग्नका लागि । तर, सशिरामको दिनदशामा कुनै परिवर्तन आएन । राजनीतिक आन्दोलनको वेला थुप्रै पटक नारा लगाउन र टायर बाल्न सडकमा गएपनि देशमा ब्यवस्था फेरिएपछि कुनै सोधखोज नएको उनले दुखेसो ब्यक्त गरे । उनले विगतको कुरा स्मरण गरेर प्रश्न गर्दै भने –‘म जस्ता गरिव दुःखीका सुदिन कहिले आउने ?’