भदौ १ – त्रिभुवन विश्वविद्यालयलाई राजनीतिको भागबन्डा बनाउनु हुन्न भन्दै त्यसको विरोधमा उत्रिएका प्रा.डा. गोविन्द केसीलाई उक्त प्रणालीको अन्त्य गर्न भन्दा पनि आफ्नो ज्यान जोगाउन गाह्रो पर्ने अवस्था आईपरेको छ ।

निक्कै बौद्धिक मान्छे भनेर चिनिने बाबुराम सरकारले उनको मागप्रति अबुझ भईदिँदा अनसनमा बसेका केसीको स्वास्थ्य अवस्था दयनीय अवस्थामा पुगेको हो ।
यतिबेला केसी भने त्रिविलाई जोगाउन आफ्नो ज्यान नै चढाउन पछि नपर्ने अवस्थामा छनु भने उता आफचिकित्सकहरु भने केसीको ज्यान जोगाउन भन्दै मुलुकभरका आकस्मिक सेवा बाहेकका सबै सेवा शनिबार र आइतबार ठप्प पार्ने घोषणा गरेका छन् ।

तर डा.बाबुराम भटुटराई सरकार भने गोविन्द केसीको दर्शन नबुझे झै गरेर बसेको छ ।

को हुन् डाक्टर केसी ?

सुरेन्द्र पौडेल-
गहुँगोरो अनुहार। बचेका कपाल केहीमात्र फुल्न बाँकी। ढाडमा झन्डै १५-२० केजीको झोला। साधारण सर्ट-पाइन्ट र चप्पल।
दुर्गम जिल्लाको विकट गाउँमा उकाली-ओराली गर्दा मन्द मुस्कान छर्दै पसिना पुछिरहेका कोही भेटिए, सोध्नुहोला, ‘तपाईं गोविन्द केसी हो?’
पेशाले उनी प्राध्यापक तथा हाडजोर्नीका वरिष्ठ शल्यचिकित्सक हुन्। कम्तीमा वर्षको दुईपटक झोलामा १५-२० केजी औषधि बोकेर पहाडका उकाली-ओराली र तराईका समथर मैदानमा निमुखा जनताको उपचार गर्न निस्कन्छन्। निःशुल्क स्वास्थ्य परीक्षण गर्छन्। निःशुल्कै औषधि बाँड्छन्। सरकारी खर्चमा होइन। कुनै संघसंस्थाको प्रायोजनमा पनि होइन। आफ्नै पसिनाले आर्जन गरेको पैसा खर्चेर।
‘किन त?’
‘सन्तुष्टिका लागि,’ महाराजगन्ज टिचिङ हस्पिटलको सरकारी क्वार्टरमा आफ्नो कामको वर्णन गर्दा उनी लाजले अलिअलि रातो हुन्छन्, ‘चिकित्सा पेसाको धर्म नै यही हो।’
‘काठमाडौं बसेर उपचार गर्न सकिँदैन?’
‘सकिन्छ,’ उनी मुट्ठी उठाउँछन्, ‘मान्छे जहाँसुकै होस्, बिरामी भएपछि समयमा उपचार पाउनु उसको अधिकार हो।’
‘सरकार केका लागि त?’
‘सरकार हाम्रो हो, हामी सरकारका,’ छातीमा हात राख्छन्, ‘सबै जिम्मेवार बन्नुपर्छ।’
१७ वर्ष भयो, डा. गोविन्द औषधिको भारी बोकी गाउँ डुल्न थालेको। ७२ जिल्लाका बिरामीमाझ पुगिसके। तीन जिल्ला बाँकी छन्।
देश-विदेश जहाँसुकै प्रकोपका ठूला घटना हुन्, उनी पीडितको उपचार गर्न पुगिहाल्छन्। कोसी बाँध भत्कँदा होस् या जाजरकोटमा हैजाको महामारी लाग्दा, भारतको गुजरातमा महाभूकम्प जाँदा होस् या बर्मामा आँधी आउँदा, उनी आफ्नै खर्चमा खटिएका छन्। बिरामीको उपचार गर्न उनलाई कुनै देशको सीमाले छेक्दैन। भाषा तगारो बन्दैन। उनको विचारमा, बिरामीको देश हुँदैन, र डाक्टरको पनि।
‘पैसा कमाउनु ठूलो कुरा होइन,’ चिकित्सा पेसाको धर्म भन्दैछन् उनी, ‘जहाँ उपचार चाहिन्छ, त्यहाँ डाक्टर पुग्नुपर्छ।’
‘मान्छेले विश्वास गर्छन् त?’
‘सबै ठाउँमा म यस्तो हुँ भन्दा विश्वास गर्दैनन्,’ उनी अनुभव सुनाउँछन्, ‘यत्रो टाढाबाट आफ्नो खर्च गरेर के आयो होला र भनेझैं गर्छन्।’
दसवर्षे माओवादी जनयुद्धका क्रममा गाउँ डुल्दा त उनले अनेकौं हन्डर खानुपर्यो । ‘यो माओवादी हो कि क्या हो,’ पहाडमा त्रास भरिएका यस्ता आवाज धेरैपटक सुने उनले, ‘यो त सिआइडीजस्तो छ।’
कसैले उनलाई ‘सरकारी गुप्चर’ को पगरी गुथाए, कसैले ‘छापामार’ बनाए। बिनाकसुर १९ घन्टा एउटै घरमा थुनिनुपर्योर। ‘माओवादी’ भनेर गाउँलेले खाना नखुवाएको अनुभव पनि छ, उनीसँग। तर, जस्तो अवस्थामा पनि उनका पाइला थामिएनन्। उनलाई लाग्थ्यो, ‘यही घडीमा गाउँमा मेरो खाँचो छ।’
गोविन्द पछिल्लोपटक स्वदेशभित्र जाजरकोटका महामारी पीडित र विदेशमा हाइटीका भूकम्प पीडितमाझ पुगेका थिए। उनको नयाँ योजना आगामी असार महिनामा तेह्रथुम र भोजपुरका दुर्गम गाउँमा औषधोपचार पुर्याँउनु हो।
यसका लागि उनको बैंक खाता ‘रेडी’ भइसकेको छैन। असारसम्म खातामा चाहिँदो रकम जम्मा हुन्छ। त्यसपछि यी ‘घुम्ती आकस्मिक सेवा’ १५-२० केजीको झोला बोकेर तेह्रथुम र भोजपुरका दुर्गम गाउँतिर हानिनेछन्।

***
२०१४ साल।
रामेछापको दुर्गम गाउँ माकादुम-सिम्लेमा जन्मे, गोविन्द। उनको परिवार गाउँमा हुनेखानेमै पर्थ्यो। उनले ६ कक्षासम्म दोलखाको मावली घरमा बसेर पढे। त्यसपछिका दुई वर्ष काठमाडौंको पद्मोदय स्कुलमा बिताए। स्कुल पढ्दा कक्षामा सधैं प्रथम हुन्थे।
एसएससी भने दोलखाको भीम पब्लिक हाइस्कुलबाट दिए, २०२९ सालमा। सेकेन्ड डिभिजन आयो।
त्यसपछि के पढ्ने? उनले मेसो पाएनन्। घरबाट पनि ‘यो पढ्’ कसैले भनेनन्। डाक्टर, इन्जिनियर – उनले सुनेकै थिएनन्। मन्त्री हुनुपर्छ- गाउँतिर सबै यही भन्थे।
‘तर, मैले मन्त्री हुने सपना देखिनँ,’ उनी भन्छन्।
एकदिन उनलाई बुवाले भने, ‘राम्रो विषय पढ्नुपर्छ।’
‘म पढ्दै जान्छु, हेरौं,’ राम्रो विषय कुन हो पत्तो नभएका गोविन्दले सिधा जवाफ दिए।
राम्रो विषयको खोजीमा उनी काठमाडौं आए। भान्दाइ कल्याण बस्नेत तत्कालीन महाराजगन्ज केन्द्रीय क्याम्पसमा हेल्थ असिस्टेन्ट (एचए) पढ्थे। उनी त्यसै (एचए) मा हाम्फाले।
‘सोचेकै थिइनँ,’ उनी भन्छन्, ‘त्यो बेला यहाँ पढेर डाक्टर हुन पाइन्छ भनेर।’
उनको ब्याचमा एचए पढ्ने झन्डै डेढ सय विद्यार्थी थिए। एचएमा राम्रो गर्नेलाई पढाउने अवसर दिइन्थ्यो। उनी १० राम्रा विद्यार्थीमा पर्थे। साढे दुई वर्षमा एचएको पढाइ सकिएपछि उनले ६ महिनाजति पढाए। त्यहीबेला शिक्षा मन्त्रालयको ढाका छात्रवृत्तिमा उनको नाम निस्कियो। उनी लागे ढाका – एमबिबिएस गर्न। एमबिबिएसमा इन्टर्नसिप गर्दा उनले रोजे – अर्थोपेडिक (हाडजोर्नी)।
यही उनको जीवनको ‘टर्निङ प्वाइन्ट’ बन्यो।
सन् १९८५ मा एमबिबिएस सकेर काठमाडौं फर्कनेबित्तिकै उनले शिक्षण अस्पतालको हाडजोर्नी शाखामा ‘हाउस अफिसर’को जागिर पाए। एक वर्षपछि स्थायी भई टेकु अस्पताल सरुवा भए। त्यहाँ उनी ‘मेडिकल अफिसर’ थिए। बिहान ९ देखि दिउँसो २ बजेसम्म ड्युटी हुन्थ्यो। अरू समय खाली नै हुन्थे। फुर्सद पायो कि लाइब्रेरी कुदिहाल्थे।
निजी नर्सिङ होममा काम गर्न उनलाई कहिल्यै मन लागेन। ‘म कहिल्यै प्राइभेटमा आकर्षित भइनँ,’ उनी थप्छन्, ‘जे काम गरे पनि एकोहोरो गर्न मनलाग्छ।’
तर, एकपटक आपत आइलाग्यो। एकजना अनन्य मित्र जापान जानुपरेपछि उनको ठाउँमा काम गर्दिनुपर्ने भयो। उनले एक वर्षजति काठमाडौं नर्सिङ होममा काम गरे। ‘डाक्टर अशोक बासकोटासँग सिक्न पाइन्छ भन्ने पनि थियो,’ उनी सुनाउँछन्।
उनले जीवनमा निजी नर्सिङ होममा काम गरेको त्यत्ति एकचोटि हो।
उनको पढ्ने इच्छा भने कहिल्यै मरेन। एमडी अध्ययनका लागि प्रवेश परीक्षा दिए। परीक्षा दिने दुई सय थिए, पढ्न पाउने १२ जनाले। उनी १२ भित्र परे। एमडीले उनले निजी खर्चमा पढ्न खोजेका थिए। त्यो बेला नेपालमा हाडजोर्नीका डाक्टर निकै कम थिए। त्यसैले उनले हाडजोर्नी नै रोजे।
‘अध्ययन विदा पाउँ,’ उनले सरकारसँग निवेदन गरे।
‘मिल्दैन,’ जवाफ आयो।
‘त्यसो भए बेतलवी विदा पाउँ,’ उनले अर्को निवेदन पठाए।
सन् १९८९ मा एमडी अध्ययन गर्न गोविन्द फेरि ढाका गए। १९९३ मा अध्ययन सकेर नेपाल फर्के।
‘म फेरि ज्वाइन गर्छु,’ गोविन्द स्वास्थ्य मन्त्रालय पुगे।
‘काठमाडौंबाहिर जानुपर्छ,’ मन्त्रालयका एक कर्मचारीले भने।
‘वीर अस्पताल मिलाइदिनोस्, ‘ उनले जोड गरे।
‘मिल्दैन।’
मन्त्रालयले उनलाई झापा खटायो। उनले जवाफमा राजीनामा ठोके।

***
अर्को जागिर भेट्टाउन उनलाई गाह्रो भएन।
उनले सुनेका थिए – शिक्षण अस्पतालमा हाडजोर्नी डाक्टरको अभाव छ। बुझे। सही रहेछ। प्राध्यापन र शल्यचिकित्सक दुवै काम उनले एकसाथ सुरु गरे। ८ महिना निःशुल्क काम गर्नुपर्यो ।
यो सन् १९९३ को कुरा। १९९४ मा उनी पक्का जागिरे भए, शिक्षण अस्पतालमा।
‘शल्यचिकित्सकमा हातको गुण चाहिन्छ,’ आफ्नो पेसा बताउँदैछन् उनी, ‘यो निकै जोखिमको काम हो, नतिजा तत्कालै देखिन्छ। चिलको जस्तो आँखा हुनुपर्छ। साहस पनि त्यति नै चाहिन्छ।’
विद्यार्थी पढाउने, अनि बिरामी पनि हेर्नुपर्ने- उनको व्यस्तता निकै बढ्यो।
बिहान साढे पाँच बजे उठ्ने गोविन्द बेलुकी १० दस बजेसम्म व्यस्त रहन थाले। बिहान उठ्यो। चियानास्ता गर्योब। पढाउन गयो। विद्यार्थीको परीक्षा लियो। त्यसपछि शिक्षण अस्पतालमा बिरामीको शल्यक्रिया। साँझ ८ बजे अस्पतालको ड्युटीबाट फुर्सद मिल्थ्यो। अनि लाइब्रेरी। एकैचोटि राति १० बजेपछि उनी कोठामा छिर्थे।
एक दिन होइन, दुई दिन होइन, सधैं यस्तै।
सुरुका ४ चार वर्ष गोविन्द आफ्ना भाइहरूसँग डिल्लीबजार बसे। तर बन्द-हडताल बढ्न थालेपछि कार्यालय आउजाउ गर्न गाह्रो भयो। उनी सरे अस्पतालको सरकारी क्वार्टरमा।
भाइहरूसँगको बसाइ टुटेपछि उनको खान्कीमा धेरै परिवर्तन आयो। ‘खाना पकाउन अल्छी छु,’ उनी हाँस्छन्, ‘बिहान पाउरोटी-जाम र फलफूल खान्छु। दिउँसो भेज ममः। राति सधैं दही चिउरा।’
‘भात कहिल्यै खाइन्न?’ आमनेपालीको भन्दा फरक खान्की देखेर मुखबाट प्वाक्क यो प्रश्न निस्कियो।
‘कहिलेकाहीँ कतै पाहुना लाग्न गएमात्र।’
उनले यस्तो भोजनशैली अपनाएको १२ वर्ष भयो। केही महिना अघिसम्म मासुका परिकार पनि खान्थे। तर अहिले मासुमात्र होइन, चियाकफी पनि पिउँदैनन्।
‘कति छाक त म खानै भ्याउँदिनँ,’ उनी भन्छन्, ‘थाकेर गइन्छ, एकछिन भन्यो पल्टियो, त्यसै निदाइन्छ।’
‘अब एकछाक खान,’ गोविन्द हाँस्दैछन्, ‘हरिद्वार जान मात्र बाँकी छ।’

***
जीवनमा एकछाक खान नपाउने नेपाली उनले थुपै्र देखेका छन्। त्योभन्दा बढी देखेका छन्, बिरामी हुँदा अस्पताल नदेखी मर्ने नेपालीहरू, अस्पताल पुगिहाले पनि खर्च नपुगेर रोग पाल्दै फर्कने बिरामीहरू।
शिक्षण अस्पतालसँग नाता गाँसिएपछिको पहिलो वर्ष उनले सँगालेको अनुभव यही थियो। यसैले उनलाई हौस्यायो- गरिब, असहाय र निमुखा जनताको उपचारमा लाग्न।
‘दार्चुला, हुम्ला, जुम्ला जिल्लाका दुर्गम गाउँबाट बिरामी आउँछन्,’ उनी भन्छन्, ‘साधारण उपचारका लागि हजारौं रुपैयाँ खर्च गरेर आउनुपर्छ। गाउँमै सामान्य प्राथमिक उपचार पाएको भए यो सब झन्झट बेहोर्नुपर्थेन।’
औसत नेपाली रोग सामान्य हुँदासम्म अस्पताल धाउँदैनन्। रोगले गाँजिसकेपछि मात्र अस्पताल र उपचारको खोजी सुरु हुन्छ। गाउँमा हुर्केकाले यो समस्या उनले नजिकबाट बुझेका छन्। त्यसैले उनलाई लाग्छ- स्थानीय स्वास्थ्यकर्मीलाई साधारण तालिम र शिक्षा दिए रोग बिग्रन पाउँदैन। र, सामान्य रोगका लागि सहरका महँगा अस्पताल धाउनुपर्दैन।
झोलामा औषधि बोकेर दुर्गम गाउँ डुल्ने उनको एकल ‘घुम्ती आकस्मिक सेवा’ अभियान यहीँबाट सुरु भयो।
२०४५ सालमा भूकम्प जाँदा उनी पहिलोपटक पीडितको उपचारमा सहभागी भए। भूकम्पले धरानमा ठूलो जनधनको क्षति गरेको खबर सुन्नासाथ उनी रात्रि बस चढेर त्यता हुइँकिए। दुईदिन त्यहाँ बिताए। सन् १९९४ मा काठमाडौं वरपरका गाउँमा ‘हेल्थ क्याम्प’ सञ्चालन गरे। १९९५ मा अर्को हेल्थ क्याम्प लिएर खोटाङ गए।
त्यसयता हिमालदेखि तराई, मेचीदेखि महाकालीसम्म दौडिरहेका छन्।
वर्षको कम्तीमा दुईपटक तीन जिल्ला घुम्नु गोविन्दको नियमित कार्यतालिकाभित्र पर्छ। एकचोटि निस्कँदा दुईदेखि तीन साता छुट्टयाउँछन्। ‘योभन्दा बढी गर्न बैंक खाताले भ्याउँदैन,’ उनी भन्छन्, ‘अरूको सहयोग लिने मेरो बानी छैन।’
उनले अस्पतालबाट वर्षको एक महिना घर विदा पाउँछन्। उनले सदुपयोग गर्ने समय यही हो। अहिलेसम्म दार्चुला, बैतडी, बझाङ, आछाम, बाजुरा, सुर्खेत, दैलेख, रुकुम, हुम्ला, डोल्पा, जुम्ला, मुस्ताङ, जोमसोम, मनाङ, गोरखा, धादिङ, रसुवा, सिन्धुपाल्चोक, खोटाङ, इलामलगायत ७२ जिल्ला पुगिसके, आफ्नै खर्चमा।
२०६४ सालमा कोसी बाँध भत्कँदा उनी काठमाडौंमै थिए। बाँध भत्केर हजारौं विस्थापित भएको र तिनको स्वास्थ्य नाजुक बन्दै गएको दृश्य टेलिभिजनमा देखेपछि काठमाडौंमा अडिन सकेनन्। रातारात औषधि किनेर अर्को बिहान घटनास्थलतर्फ हानिए। पाँच दिनमा उनले त्यहाँ १ हजार ७ सय ५१ जनालाई जाँचे। र, औषधि बाँडे।
यस्तै भयो, २०६६ सालमा पनि। जाजरकोटमा हैजाले सयौं मानिस पीडित भएको खबर सुनेपछि उनको मन काठमाडौंमा अड्न मानेन। यसका लागि धेरै औषधि चाहिन्छ भन्ने उनले बुझे। एक्लै सबै औषधि बोक्न सक्ने स्थिति थिएन। बाटो पनि अप्ठ्यारो थियो। उनी खच्चडमा औषधि लिएर पुगे, जाजरकोटको हैजाग्रस्त क्षेत्र। १० दिन उपचारमा जुटे। दुई दिन स्थानीय स्वास्थ्यकर्मीलाई तालिम दिएर काठमाडौं फर्के।
‘दुर्गम जिल्लाको पनि दुर्गमभन्दा दुर्गम गाउँमा जान्छु,’ उनी थप्छन्, ‘त्यहाँ जे उपलब्ध छ, त्यसैबाट उपचार गर्न सिकाउँछु। सामान्य शल्यक्रिया छ भने गाउँमै गराउँछु।’ ठूलै शल्यक्रिया गर्नुपर्ने बिरामी भेटे उनी काठमाडौं नै बोलाउँछन्। र, निःशुल्क उपचारको व्यवस्था मिलाइदिन्छन्।
तालिम दिने उनको आफ्नै शैली छ। थोरै अवधिलाई जाँदा स्थानीय स्वास्थ्यकर्मीको ज्ञान कति छ, थाहा पाउन गाह्रो हुन्छ। त्यही भएर सबभन्दा पहिला सबै स्वास्थ्यकर्मीलाई एक ठाउँ भेला गराउँछन्। काठमाडौंमै तयार पारेको प्रश्नावली बाँड्छन्। यसबाट स्वास्थ्यकर्मीको दक्षता बुझेर तालिमको प्रकृति तय गर्छन्। तालिम सकिएपछि फेरि पहिलेकै प्रश्नावली भर्न लगाउँछन्। भिन्नता तुरुन्तै थाहा हुन्छ।
तराईको तुलनामा पहाड र हिमाली क्षेत्रमा हाडजोर्नीको समस्या बढी भेटिने उनको अनुभव छ। घाँसदाउरा, मेलापात गर्दा सानोतिनो दुर्घटना भइरहन्छ। बाहिर चोट नदेखिए पनि भित्र हड्डी भाँच्चिएको हुन्छ। जोर्नी पाक्यो भने मान्छे जीवनभरलाई अशक्त बन्नसक्छ। बालबालिकामा यो झनै डरलाग्दो हुन्छ। उपचार गर्न ढिला भए रोग निको हुँदैन। चोट गम्भीर छ भने प्राथमिक उपचार कसरी गर्ने, उनी यस्तै कुरा स्थानीय स्वास्थ्यकर्मीलाई सिकाउँछन्।
केही विकासे संस्थाले मान्छे भेला पार्दा भत्ता बाँडिदिएर उनलाई अप्ठ्यारो पर्ने गरेको छ। ‘तालिम लिन आउँदा भत्ता माग्छन्,’ उनको अनुभव छ, ‘म दिन सक्दिनँ।’
कहिलेकाहीँ उनी बठ्याइँ पनि गर्छन्। अरूले तालिम दिइरहेका बेला अन्तिमतिर छिर्छन् र आफ्नो काम सुरु गर्छन्।
उनको यो अभियानमा बेलाबेला अरू डाक्टरले पनि रुचि देखाउँछन्। ‘डाक्टर साब,’ उनीहरू भन्छन्, ‘जाने बेला हामीलाई पनि खबर गर्नू, हामी पनि जान्छौं।’ तर, जाने बेला कोही आउँदैनन्। ‘डाक्टर साब, यसपालि मेरो काम पर्यो।, अर्कोपटक है,’ यस्तो जवाफ सुनेपछि उनी कुरा बुझिहाल्छन्।
‘मैले प्राइभेट नर्सिङ होममा काम नगरेको पनि यी अभियानमा ‘ह्याम्पर’ गर्छ भनेर हो,’ उनी भन्छन्, ‘अरू कुनै आदर्श छैन।’
उपचारमा निस्कँदा उनी अक्सर आफ्नो परिचय लुकाउँछन्। ‘जहाँ डाक्टरको आवश्यकता छ, त्यहाँमात्र म डाक्टर हुँ भन्छु,’ उनी भन्छन्, ‘अरू ठाउँमा शिक्षक भनेर चिनाउँछु।’ हुन पनि उनी डाक्टर र शिक्षक दुवै हुन्।
‘किन त?’
‘डाक्टर हुँ भन्यो। केही भा’को हुँदैन, लौ न डाक्टरसाब चेक गर्नुपर्योक भन्दै आउँछन्,’ फुत्किन लागेको हाँसो रोक्दै उनी भन्छन्, ‘असली बिरामीले उपचारको अवसरै नपाउलान् भन्ने डर।’
‘केले प्रेरणा दिन्छ त?’
‘थाहा छैन,’ उनी भन्छन्, ‘जानुपर्छ जस्तो लाग्छ, जान्छु।’
अविवाहित भएकाले पनि यस्तो घुमन्ते जीवन बिताउन सहज भएको उनको विश्वास छ। ‘बिहे गरेको भए गाउँ घुम्न यति समय पाउँथिनँ होला,’ उनी हाँस्दै भन्छन्।
‘बिहे नगर्ने त?’
‘गर्नैपर्छ भन्ने छैन।’
‘केही कारण छ कि?’
‘हा…हा…,’ उनी जोडले हाँसे, अलिकति लजाए, ‘त्यस्तो केही छैन।’

***
दुःख, पीडा सबैको एउटै हो, चाहे त्यो स्वदेशी होस् या विदेशी- विदेशतिर पनि उपचार गर्न कुद्दा गोविन्दलाई यही भावनाले प्रेरित गर्छ।
ठूला प्रकोपका घटना सुन्नेबित्तिकै उनी टेलिभिजनअगाडि बस्छन्। हेर्छन्। मानिसले के-कति दुःख भोगिरहेका छन् मूल्यांकन गर्छन्। तिनै दृश्यले उनलाई डाक्छ। अनि भिसा मिलाउँछन्। कुदिहाल्छन्।
त्यहाँ बस्दा सबभन्दा सस्तो होटल खोज्छन्। फुर्माइस गर्न बैंक ब्यालेन्सले धान्दैन भन्ने उनलाई राम्ररी थाहा छ। अनि घटनास्थल पुग्छन्, आफ्नो परिचय दिन्छन्। र, काम थालिहाल्छन्। १९९३ मा बंगलादेशमा आँधी आउँदा होस् या २०१० मा हाइटीमा महाभूकम्प जाँदा, उनी घटनास्थलमा खटिएका थिए। हाइटीमा उनले १६ दिन बिताए। दैनिक २५ जनालाई जाँचे। सबै आफ्नै खर्चमा।
२००१ मा भारतको गुजरातमा भूकम्प जाँदा उनले त्यहाँ तीन साता बिताए भने २००५ मा पाकिस्तानमा भूकम्प पीडितको उपचार गर्न दुई साता। २००८ मा बर्मामा आँधी आउँदा १२ दिन खटिएका थिए। त्यतिखेर बर्माको राजधानी रंगुनमा २ सय ७८ जनालाई हाडजोर्नीसम्बन्धी तालिम पनि दिए। बर्मा सरकारले विदेशीलाई आँधी प्रभावित क्षेत्रमा छिर्न दिएको थिएन। गोविन्द भने एक स्थानीय शिक्षकको सहयोगमा भेष बदलेर प्रभावित क्षेत्र पुगे। त्यतिखेर बर्मा सरकारले चिनेको भए सहयोग गर्ने शिक्षकलाई १५ वर्ष जेल हाल्न सक्थ्यो।
हाइटीमा पैसा नभएर दुई दिन कोल्ड ड्रिङ्कको भरमा बसेको क्षण उनलाई रोमाञ्चक लाग्छ। ‘यसैमा खुसी छु,’ उनी भन्छन्।

***
‘डाक्टर नमरुन्जेल विद्यार्थी नै हुन्छ,’ चिकित्सा क्षेत्रको गुरुमन्त्र सुनाउँछन्, गोविन्द।
त्यही भएर अहिले पनि दिनको कम्तीमा दुई घन्टा उनी अध्ययनमा बिताउँछन्। यी सबबाट फुर्सद पाए महिनादिनमा एकपटक भाइहरूकहाँ जान्छन्।
‘भातको स्वाद सम्झन पनि भाइहरूकहाँ गइरहनुपर्छ,’ उनी ठट्टा गर्छन्।
गोविन्दले प्राध्यापन र डाक्टर पेसा अंगालेको झन्डै दुई दसक बित्न लाग्यो। उनीसँग कार छैन। मोटरसाइकल छैन। मोबाइल छैन। मिल्यो भने साइकल किन्ने इच्छा छ। सम्पत्तिको नाममा अफिसले खोलिदिएको बैंक खाता र एउटा ल्यापटप छ। घरजग्गा केही जोडेका छैनन्। भएका पैतृक सम्पत्ति पनि बेचिसके।
‘सेवा गर्नुपर्छ,’ आमाबुवाको भनाइ सम्झन्छन्, ‘पैसा भन्या ठूलो कुरा होइन।’
‘मेरो केही डिमान्ड छैन,’ उनलाई लाग्छ, ‘जसरी पनि जिउन सकिन्छ।’ आवश्यक परे अझै घरपरिवारसँग पैसा माग्छन् उनी। भाइहरूलाई पनि उनको बानी थाहा छ। केही नसोधी सहयोग गर्छन्। आफ्नो बैंक खातामा पैसा छ भने औषधिको झोला बोकेर कुनै दुर्गम गाउँ हिँडिहाल्छन्।
‘कहिलेसम्म?’
‘जबसम्म जीउले धान्छ।’
‘आफैं बिरामी भए?’
‘म बिरामी नै हुन्नँ।’
(२०६७ वैशाख ११ गते नागरिक दैनिकम प्रकाशित)

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।