असार ३१ – ‘विवाहवारी १४ वर्ष वारी’ भन्ने यो उखान सहरीया र सम्पन्न परिवारका लागि नौलो भएता पनि तनहुँको भुजेल गाउँका बस्तीका लागि भने खासै नौलो होइन ।
जिल्लाको पुरानो सदरमुकाम बन्दिपुर गाउँ विकास समिति–८ र आँवुखैरेनी गाविस–१ मा रहेको भुजेल बस्तीका बालबालिका १४ वर्ष पुग्नु अगावै बिहे गरेर छोराछोरीको आमाबाबु बन्ने गरेका छन् ।
स्थानीय भरत भुजेलले १४ वर्षको उमेरमा विवाह गर्नु भनेको उमेर पक्का भएको मानेर विवाह गर्ने गरिएको बताउनुभयो । “आफ्नो छोराले १५ वर्षको हुँदा १३ वर्षको केटीसँग विवाह ग¥यो”–स्थानीय सोमबहादुर भुजेलले भन्नुभयो–“अहिलो छोरो २० वर्षको हुँदा पाँचजना छोराछोरीको बाबु बनिसकेको छ ।” हाम्रो पालामा त अझै कलिलो उमेरमा विवाह गर्ने चलन थियो, अहिले १४ वर्षमा विवाह गर्नु कुनै नौलो कुरा नभएको उहाँ बताउनुहुन्छ ।
कानुनअनुसार विवाहको लागि केटाकेटीको उमेर २० वर्षभन्दा माथि हुनुपर्ने प्रावधान रहे पनि यस क्षेत्रमा पुरानै सोचका आधारमा विवाह गरिने पराम्परा कायम रहेको पाइन्छ ।
गरिबी, बेरोजगार, अशिक्षा र अन्धविश्वासको भँुवरीमा रुमल्लिएका यी गाउँका बालिकाको सानै उमेरमा विवाह गर्नु रहर नभई बाध्यता रहेको छ । सानै उमेरमा विवाह गरेकी सीमा भुजेलले भनिन्–“यहाँको त चलन नै यस्तै हो, पढ्ने रहर हुँदाहुँदै पनि बाबुआमाको भनाइलाई मान्नुपर्ने र विवाह गर्नुपर्ने चलन छ ।”
आफूले १३ वर्षको उमेरमा विवाह गरेको र अहिले २२ वर्षको हुँदा एक छोरा र दुई छोरीको आमा बनिसकेको उनले बताइन् । तनहुँको पृथ्वी राजमार्गदेखि करिब दुई किलोमिटर दूरीमा रहेको यस बस्तीमा बालविवाह गर्नु हुँदैन भन्ने थाहा हुँदाहँुदै पनि परम्परागत सोचका कारण यो प्रथालाई हटाउन नसकिएको अर्का स्थानीय रामबहादुर भुजेलले बताउनुभयो ।
उक्त बस्ती जिल्ला सदरमुकाम दमौलीबाट टाढा नभए पनि त्यस भेगका बालबालिकाको हकहितमा आवाज उठाउने कोही नभए जस्तो बनेको छ । बालविवाह न्यूनीकरणका लागि स्थानीय प्रशासनलगायत सम्बन्धित सङ्घसंस्थाले यसतर्फ ध्यान दिएमा समस्या समाधान हुनेमा दुईमत छैन । रासस
|