असार २० – गत महिना सार्वजनिक भएको एसएलसी परीक्षामा सबभन्दा बढी विद्यार्थी उत्तीर्ण हुने जिल्ला कुन होला ? समान्यतः धेरैलाई लाग्न सक्छ काठमाडौँ, भक्तपुर वा कुनै सहरी तथा सुगम जिल्लाले यो स्थान प्राप्त गरेको हुनुपर्छ तर यथार्थ त्यस्तो छैन ।
परीक्षा नियन्त्रण कार्यालय, भक्तपुरले हालै तयार गरेको २०६८ सालको एसएलसी परीक्षाको जिल्लागत नतिजामा दुर्गम जिल्ला मनाङले नपत्याउने गरी सबैभन्दा बढी प्रतिशतमा विद्यार्थी उत्तीर्ण गराएको छ, जहाँ कुल सहभागीमध्ये दुई जना मात्र अनुत्तीर्ण भएका छन् ।
देशभरबाट कुल ४७.१६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको सो परीक्षामा मनाङ जिल्लाले भने ९३.५९ प्रतिशत विद्यार्थी उत्तीर्ण गराएर आफ्नो कीर्तिमान कायम गरेको छ ।
तर रमाइलो के छ भने सो जिल्लामा जम्मा ७८ जना परीक्षार्थीले मात्र परीक्षा दिएका थिए जसमध्ये ७३ जना उत्तीर्ण भएका हुन् ।
यसैगरी, सबैभन्दा कम विद्यार्थी हुने जिल्लामा सल्यान परेको छ । यहाँबाट कुल ३ हजार ९३२ जनाले परीक्षा दिएकामा ५०८ अर्थात् मात्र १२.९२ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएको परीक्षा नियन्त्रण कार्यालयको अभिलेखले देखाएको छ ।
मनाङपछिको दोस्रो जिल्ला पनि अर्काे दुर्गम जिल्ला मुस्ताङ भएको छ, जहाँ १३२ जना सहभागी भएकामा ११६ जना अर्थात् ८७.८८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । त्यसपछि ८३.६३ प्रतिशत ल्याएर तेस्रो जिल्ला बन्ने सौभाग्य ललितपुर बनेको छ भने काठमाडौँमा चौथौ अर्थात् ८२.४३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
कार्यालयका अनुसार जिल्लागत परिणाम शून्य भएको जिल्ला भने देखिएको छैन ।
कार्यालयका उपनियन्त्रक अम्विकाप्रसाद रेग्मीका अनुसार हालसम्म राम्रो वा नराम्रो नतिजा ल्याउने जिल्लालाई कुनै प्रोत्साहन वा सजायको व्यवस्था नभए पनि आगामी दिन परीक्षा सञ्चालन बोर्डले केही निर्णय गर्न सक्ने भएको छ ।
शिक्षा क्षेत्रका सरोकारवालाहरूले राम्रोलाई प्रोत्साहन र नराम्रोलाई सजायको व्यवस्था गर्न माग गर्दै आएका छन् । त्यसो त सरकारले लगानी गरिरहेको सामुदायिक विद्यालयको समग्र नतिजा यसपटक पनि कमजोर रहेको छ ।
नतिजाअनुसार २० प्रतिशतभन्दा कम विद्यार्थी उत्तीर्ण हुने जिल्लाहरूमा इलाम, भोजपुर, खोटाङ, उदयपुर, सिरहालगायत रहेको राष्ट्रिय समाचार समितिले उल्लेख गरेको छ ।
|
|








