काठमाडाैं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आफ्नाे समुहमा महासचिव मिलाउन हम्मे हम्मे परेकाे छ ।
११औँ महाधिवेशनमा अध्यक्ष आफैं बन्ने तयारीमा रहेकाे उनले महासचिवसहितका पदाधिकारी मिलाउन सकेका छैनन् ।
११औँ महाधिवेशन उद्घाटन सत्र सकिएलगत्तै शनिबार बेलुका एमाले अध्यक्ष केपी शर्मा ओलीले महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र पृथ्वीसुव्वा गुरुङलाई आफ्नो निवासमा बोलाएका थिए ।
उनले यसरी बाेलाउनुकाे मुख्य कारण महासचिव मिलाउनु थियाे । यि तिनै जनाले महासचिवकाे अडान राखेका छन् ।
गुण्डुमा करिब ४ घण्टा भएको छलफलमा महासचिव शंकर पोखरेलले आफू महासचिवको उम्मेदवार बन्नबाट पछि नहट्ने अडान राखेका थिए । उनले आफ्नाे अडान राखिरहँदा गुरूङले झनै कडा रूपमा दाबी प्रस्तुत गरे भने ज्ञवालीले पनि अडान राखि नै रहे ।
ओलीले महासचिव टुङ्ग्याएपछि मात्र अरू पद मिलाउन सकिने बताएका थिए । उनले उपाध्यक्षमा रामबहादुर थापा बादल, विष्णु पौडेल र गुरु बराललाई नै अघि सार्ने तयारी गरेपनि महासचिवकाे दाबी गरिरहेका तीन जनाकाे व्यवस्थापन निक्कै पेचिलाे बनेकाे छ ।
ओलीले पाेखरेललाई महासचिव र गुरूङलाई उपाध्यक्ष बनाएर मिलाउने प्रयास गरे पनि सफल हुन सकेकाे छैन ।








