दुई दिनपछि चीनकाे उडान, तर बाढीले त्रिशुलीमै बिलायाे सपना

१२ गते चीन उड्ने टिकट हातमा थियो।
तर १० गतेकाे भाेटेकाेशी-त्रिशुलीमा आएकाे बाढीले हिमानीको यात्रा सधैँका लागि रोकियो।

हिमानी पौडेल विगत तीन वर्षदेखि चीनमा पढ्दै आएकी थिइन्।

हक्की स्वभावकी हिमानी पढाइसँगै सीप, कला र ज्ञान सिक्दै थिइन्।
उनको सपना चाइनामा पढेर ज्ञान हासिल गर्ने अनि आफ्नै देशमा आफ्नो ज्ञान र सीप प्रयोग गर्ने थियाे ।

चीन फर्किन उनले १२ गतेको टिकटसमेत काटिसकेकी थिइन्।
उड्नुभन्दा दुई दिनअघि, १० गते बिहान घरमा सबैजना सँगै बसेर खाना खाने योजना बन्यो।

हिमानीसँगै सम्पर्क बिहिन भएका बुवा ममी र ठुलाे बुवा ठुली ममी

बुवा–आमा घरमै हुनुहुन्थ्यो। ठूली ममी पनि आइसक्नुभएको थियो। ठूला बुवा पनि स्कुलबाट घर आइपुग्नुभयो।

घरमा पारिवारिक भेटघाटको माहोल थियो।

तर, कसैलाई के थाहा- यो भेट नै अन्तिम भेट बन्नेछ।

त्रिशूली नदी घरबाट करिब ८ सय मिटर टाढा थियो। त्यसैले बाढी घरसम्म आइपुग्ला भन्ने उनीहरूलाई लागेको थिएन।

बरु हिमानीका बुवा अरूलाई सचेत गराउँदै हिँडेका थिए । बाढी आउँदैछ रे, सतर्क रहनु हई भन्दै छिमेकतिर भनिरहेका थिए ।

तर केही क्षणमै आएको बाढीले सबै अनुमान गलत साबित गरिदियो।
बाढी यति शक्तिशाली थियो कि कसैलाई सम्हालिने समयसमेत दिएन।
सास फेर्ने मौका नदिई बाढीले परिवारका सदस्यहरूलाई एकपछि अर्को गर्दै टिपेर लग्यो।

र, त्यही बाढीसँगै बग्यो हिमानीको चीनमा ज्ञान, सीप सिकेर नेपालमा केही गर्ने याेजना ।

१२ गते चीन उड्ने टिकट काटेकी हिमानी अब कहिल्यै चीन फर्किने छैनन्।

किनकी, उनको गन्तव्यभन्दा दुई दिनअघि नै जिन्दगीले उनको यात्रा टुंग्याइदियो ।

एक मात्र आफ्नै दाजु, ठुलाेबुवाका छाेरा पत्रकार निराजन पाैडेल(आमा बुवा नै बेपत्ता) लगायत बाँकी परिवारका सदस्यले साताैं दिनसम्म उनीहरूकाे उद्वार तथा खाेजी कार्य जारी राख्दा पनि अत्ताेपत्ताे लागेन । अनि, आठाैं दिन बेपत्ता पाँचै जनाकाे कुशकाे शव बनाएर अन्त्येष्टि गरिएकाे छ ।

कुशकाे शव बनाएर अन्त्येष्टि गरिदैं

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।