काठमाडौँ, ९ फागुन । सरकारले नेपाल टेलिभिजनको महाप्रबन्धकमा वरिष्ठ पत्रकार गोविन्द रोकालाई चार वर्षका लागि नियुक्त गरेको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले रोकालाई नेपाल टेलिभिजनको महाप्रबन्धकमा नियुक्त गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार मन्त्री राम कार्कीले जानकारी दिए ।

माओवादीले सञ्चालन गरेको जनयुद्धमा युद्ध पत्रकारको भूमिका निर्वाह गरेका रोका शान्ति प्रक्रिया सुरु भएपछि नेपाल एफएममा समाचार प्रमुख भएर काम गरेका थिए ।

विसं २०५४ सालदेखि विभिन्न सञ्चार माध्यममा सम्बाददाताको रुपमा कार्य गरिसकेका उनले २०६३ सालमा रेडियो नेपालको समाचारमूलक कार्यक्रम घटना र विचारको संयोजक भएर काम गरेका थिए ।

नेपाल एफएममा समाचार प्रमुखको रुपमा पाँच वर्ष सेवा गरेका रोकाले मैत्री एफएममा प्रबन्ध निर्देशक भएर काम गरे भने रेडियो रानी भेरी एफममा  २०६४ देखि अध्यक्षका रूपमा भूमिका निर्वाह गर्दै अाएका छन् । यस्तै प्रदेश एफम एम सुर्खेतको अध्यक्ष, एबिसी टेलिभिजनमा समाचार सम्पादकको रुपमा काम गरेका छन् ।


प्रेस सेन्टर नेपालको उपाध्यक्ष समेत रहेका र पत्रकारितामा स्तातकोत्तर उत्र्तीण रोका सञ्चार क्षेत्रमा स्थापित व्यक्तित्वका रूपमा परिचित छन् ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।