कात्तिक ६ । दुई महिनाकै सुविधा माग गर्ने तथा पैसा कम भएको भन्दै असन्तुष्ट बनेका म्यादी प्रहरीलाई हटाएर वैकल्पिकलाई राख्न सुरु गरिएको छ ।

भर्ना आह्वान गर्दा दुई महिनाका लागि लिइने भनेकामा डेढ महिनाका लागि मात्र नियुक्ति दिइएपछि विभिन्न ठाउँमा म्यादीहरु आन्दोलित बनेका थिए । उनीहरुलाई हटाएर वैकल्पिकलाई स्थान दिन थालिएको हो । देशका केही ठाउँमा भने अन्य सुरक्षाकर्मी सरह म्यादीले पनि तलब सुविधा पाउनु पर्ने माग समेत राखेर आन्दोलित बनेका थिए ।

यस्ता माग राखेर आन्दोलित बनेका मध्ये बारा प्रहरीले सोमबार १२ जनालाई सार्वजनिक अपराध ऐनअन्तर्गत कारबाही सुरु गरेको छ ।

आचरणविपरीत काम गर्ने वा हाजिर हुन नआउनेहरूको सट्टामा भर्ना गर्न वैकल्पिक सूचीमा ६ हजारको नाम निकालिएको छ । अहिले उनीहरुले पनि चान्स पाउन थालेका हुन् ।

निर्वाचन सुरक्षाका लागि सरकारले मुलुकभर ४५ हजार म्यादी भर्ना गरेको छ । उनीहरूलाई थप १५ दिन म्याद थप्दा राज्यलाई ३० करोड बढी भार पर्ने भएपछि सरकारले अवधि छोट्याएको कान्तिपुरमा खबर छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।