काठमाडौं । कोरोनाको महामारीसँगै अहिले सबै कार्यालय वा घरमा मात्र हैन, मानिसहरुले गोजीमै सेनिटाइजर बोकेर हिड्ने गरेका छन् । कुनै कार्यालय वा बैंकमा छिर्नुपर्यो भने थर्मल गनले ज्वरो नापेर सेनिटाइजर हातमा दलेपछि मात्र छिर्न पाइन्छ ।
यसरी, तपाई हामीले लगाईरहेको सेनिटाइजर भने कतिपय त मानव स्वास्थ्यलाई गम्भीर असर पर्ने विषाक्त रसायन मिसिएको समेत रहेको पाइएको छ । औषधी व्यवस्था विभागले परीक्षण गर्दा विषाक्त रसायन मेथनल मिश्रित ह्याण्ड स्यानिटाइजर पाइएको र त्यस्ता स्यानिटाइजर प्रयोग नगर्न भन्दै विषाक्त रसायन मिसाइएका स्यानिटाइजर र उत्पादन कम्पनीको नाम नै सुचना जारी गरेर जानकारी गराएको छ ।
विभागका अनुसार नेपाल कायाकल्प उद्योग भक्तपुरद्धारा उत्पादित इन्स्टान्ट ह्याण्ड स्यानिटाइजर विषाक्त रसायन मिसिएको स्यानिटाइजर हो । त्यसैगरी, हेगिनी सोप तथा केमिकल प्रा.लि काठमाडौंद्धारा उत्पादित इन्स्टान्ट ह्यान्ड स्यानिटाइजर ओरिजिशन पनि विषाक्त रसायन मिसिएको भित्र पर्दछ ।
आधार केमिकल्स तथा फुड इन्ड्रस्ट्री प्रा.लि काठमाडौंले उत्पादन गरेको एडभान्स ह्याण्ड स्यानिटाइजर पनि विषाक्त रसायन मिसिएको स्यानिटाजर हो । त्यसैगरी, सर्च चेम कम हर्बल प्रोडक्स, काठमाडौंले उत्पादन गरेको इन्स्टान्ट ह्याण्ड स्यानिटाइजर रिफ्रेसिङ जेलमा पनि विषाक्त रसायन मिसिएको पाइएको छ भने सुर्यमुखी हर्बल प्रोडक्स काठमाडौंले उत्पादन गरेको सुर्यमुखी ह्याण्ड सेनिटाइजर पनि विषाक्त मिसिएको स्यानिटाइजर हो ।
विभागले यी स्यानिटाइजरहरुमा विषाक्तरसायन समावेश भएको पाइएकाले मानव स्वास्थ्यमा गम्भीर नकरात्मक असर पर्ने भन्दै त्यस्ता स्यानिटाइजहरुको उत्पादन तथा बिक्रि वितरण तत्काल रोक्का राख्न सरोकारवालाहरुलाई सूचित पनि गराएको छ ।







