मङ्सिर ७ – सत्तारुढ प्रमुख घटक एकीकृत नेकपा माओवादी र मधेसी मोर्चाको बालुवाटारमै आकस्मिक बैठक बसेपछि प्रधानमन्त्रीले राजीनामा दिँदै भन्ने विषयले ठूलै हलचल छाएको छ ।

त्यति मात्रै नभएर आजै दिउँसो २ बजे प्रधानमन्त्री निवास बालुवाटारमै सरकारमा सहभागी दलहरुको समेत बैठक बोलाइएपछि आज प्रधानमन्त्रीले राजीनामा दिँदै भन्दै सामाजिक सञ्जालहरुमार्फत यो विषय यत्रतत्र पुगेको हो ।

तर प्रधानमन्त्रीका सल्लाहकार तथा एमाओवादी नेता देवेन्द्र पौडेलले भने आज प्रधानमन्त्रीले राजीनामा नदिने स्पष्ट पारेका छन् । उनले राजीनामा नभएर राष्ट्रका नाममा सम्बोधन भने आउन सक्ने भने बताए ।

त्यसो हुँदा बाह्रबुँदे सम्झौता भएको ऐतिहासिक दिन तथा चुनाव घोषणा भएको दिनकोे अवसरमा प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गरेपनि राजीनामा नै भने नआउने बताइएको छ ।

यद्यपी, आजै मोर्चा र सत्तारुढ दलहरुसँगको बैठक आह्वान गरिएकाले यो विषयले पनि चर्चा भने पाएको हो ।

राष्ट्रका नाममा दिइने सम्बोधनमा प्रधानमन्त्रीले विपक्षीहरुलाई पनि यही सरकारमा सामेल हुन आग्रह गर्ने समेत बुझिएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।