साउन ८ – चलचित्र मुनामदनका निर्देशक ज्ञानेन्द्र देउजाले आज विष पिएका छन् । कपन निवासी देउजाले दिउँसो ३ बजे रेडबुलमा विष मिसाई पिएर आत्महत्याको प्रयास गरेका हुन् ।

विष पिएर अचेत अवस्थामा भेटिएका देउजाको आज साँझ जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा भर्ना गराई आईसीयूमा उपचार भईरहेको छ । उनको अवस्था अहिले भने खतरामुक्त रहेको चिकित्सकहरुले बताएको परिवारजनले बताएका छन् ।

देउजा राष्ट्रबैंकका सहायक निर्देशक पनि हुन् ।

उनीद्वारा निर्देशित मुनामदन फिल्म काठमाडौंमा चलिरहेको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको खण्डकाब्य मुनामदनमा आधारित फिल्मले राजधानीमा राम्रै व्यापार गरिरहेको छ ।

१५ वर्षअघि असिस्टेन्टकारुपमा देउजा फिल्मकर्ममा छिरेका थिए । उनले पहिलोपटक रक्षक फिल्म निर्देशन गरेका थिए । पछिल्लो फिल्म ‘छविलाल कन्जुस छैन’ रिलिज हुन बाँकी छ ।

यस्तो अवस्थामा उनले विष पिएर आत्महत्या गर्न खोज्नुको कारण भने पत्ता लागेको छैन ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।