काठमाडौं । सरकारी स्वामित्वको नेपाल एयरलाइन्सकाे चालक दलका सदस्य नै सुन तस्करीमा पनि संलग्न रहेको तथ्य बाहिर आएको छ ।
नेपाल एयरलाइन्सका चालक दलका एक सदस्य दोहामा पक्राउ परेपछि यो रहस्य सार्वजनिक भएको हो । एयरलाइन्सका चालक दलका सदस्य सन्देश तिवारीलाई सुन तस्करीको आरोपमा दोहा प्रहरीले नियन्त्रणमा लिएको हो ।
पक्राउ परेसँगै तिवारीलाई तीन महिनाको लागि निलम्बन गरिएको बताइएको छ। तिवारीबाट आठ तोला सुन बरामद गरिएको जनाइएको छ ।
उक्त घटना नोभेम्बर २९ को हो, उडान नम्बर आरए २४० दोहाबाट काठमाडौँ आइपुग्ने तालिका रहेकोमा दोहा विमानस्थल भन्सार जाँचका क्रममा तिवारीमा आठ तोला सुन भेटिएपछि पक्राउ परेको रातोपाटीले उल्लेख गरेको छ ।
नेपाल एयरलाइन्सले भने औपचारिक रुपमा यो घटनालाई अहिले पनि सार्वजनिक गरेको छैन ।








