
काठमाडौं । देशकै ‘नम्बर वान’ भनेर दाबी गरेको बात्सल्य (क्लिनिक) ले कानुन विपरित बालबालिकालाई प्रचारप्रसारको माध्यम बनाइरहेको पाइएको छ ।
बालबालिकाको अधिकारको विषयमा कानुनमा स्पष्ट व्यवस्था भएपनि बात्सल्यले व्यापारिक स्वार्थका लागि बालबालिकालाई प्रचारको साधन बनाएको पाइएको हो ।
बात्सल्यले सन्तान नहुनेहरुले बात्सल्यमा आए सन्तान हुने सन्देश दिनका लागि भर्खरै जन्मिएका बालबालिकालाई समेत प्रचार प्रसारको साधनका रुपमा प्रयोग गरेकाे छ ।
लामो समयदेखि सन्तान नभएकाहरुको भावनामा खेल्ने गरी बालबालिकाको फोटो तथा भिडियो देखाएर व्यापारिक स्वार्थ पूरा गर्न यस्तो कार्य भइरहेको पाइएको होे । बात्सल्यले भने व्यापारिक स्वार्थका लागि नभएर सकरात्मक सन्देश दिन बालबालिकाको फोटो तथा भिडियो प्रयोग गरेको बताउने गरेको छ ।
विभिन्न बालबालिकाको फोटो राखेर फेसबुकमा प्रचार गरिएको एक पोष्टमा ‘विशेषज्ञता र प्रविधिको सुमधुर मिलनका साथ यहाँ हुन्छ मातृत्वको सपनाहरु साकार’ भनि सम्पर्क नम्बर राखेर प्रचार गरिएको छ । यो एउटा उदाहरण मात्र हो, यस्ता दर्जनौं उदाहरणहरु बेवसाइट र सामाजिक सन्जालमा देख्न सकिन्छ ।
अर्को एउटा भिडियोमा भने साना बालबालिकालाई ‘आई लभ बात्सल्य, आई लभ आईभिएफ’ लेखिएको प्लेकार्ड बोकाएर प्रचारप्रसारमा प्रयोग गरिएको छ ।
वर्षौसम्म सन्तान नभएपनि बात्सल्यमा आउँदा सन्तान भयो र खुसी हुनुहुन्छ भन्ने प्रकारको सन्देश दिने गरी पनि बालबालिकाको तस्बीर र फोटो प्रयोग गरेर दर्जनौं प्रचार प्रसार भएको पाइन्छ ।
बालबालिका सम्बन्धी ऐन २०७५ को परिच्छेद ३, दफा १६ को उपदफा (१) मा बालबालिकासँग सम्बन्धित कार्य गर्ने प्रत्येक निकाय तथा संस्थाका अधिकारीले हरेक काम कारबाही गर्दा बालबालिकाको सर्वोत्तम हितलाई प्राथमिकता दिई आवश्यक बालमैत्री प्रक्रिया अपनाउनु पर्ने उल्लेख छ ।
बात्सल्यले प्रचार गर्ने कतिपय फोटो तथा भिडियोमा डाक्टर तथा नर्स आफैंले बालबालिकालाई समातेको र उनीहरुको बाबु आमालाई छेउमै राखेर बात्सल्यमा राम्रो सेवा सुविधा छ, हाम्रो यति बर्षसम्म सन्तान नभएपनि यहाँ आउँदा भयो, तपाई पनि आउनुहोला, धन्यवाद बात्सल्य जस्ता कुराहरु समावेश गरिएको देख्न सकिन्छ ।
बात्सल्यले बच्चाका अभिभावकहरु खुसी भएर आफैंले फोटो भिडियो राख्न भनेको दाबी गरेको छ ।
मार्केटिङ विभागका नविन विष्टले भिडियो तथा प्रचार सामग्रीहरुमा जहाँ जहाँ बच्चाको फोटो तथा भिडियो प्रयोग गरिएको छ, त्यहाँ अभिभावकको पूर्ण र स्वेच्छिक लिखित सहमति लिएर मात्र सामग्री प्रयोग गरिएको बताएका छन् । हामी गोपनियताको यो मापदण्डमा १०० प्रतिशत सुनिश्चितता प्रदान गर्दछौं । उनले भनेका छन् ।
बिष्टले यसो भनेपनि बात्सल्यको बेवसाइटदेखि सामाजिक सञ्जालहरुमा भने व्यक्तिगत गोपनियता समेत कायम गरिएको पाइदैन । एउटा मात्र नभएर दर्जनौं त्यस्तै खालको फोटो तथा भिडियो प्रयोग भएको पाइएकाले बात्सल्यले भनेको विषयमा विश्वास गर्न सकिने आधार छैन ।
बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ३ (१) ले प्रत्येक बालबालिकालाई सम्मानपूर्वक बाँच्न पाउने अधिकारको सुनिश्चिता रहेको छ । ऐनको ११ मा गोपनियता सम्बन्धी अधिकारको व्यवस्था गरिएको छ ।







