काठमाडौं । कुमारी बैंकमा खराब कर्जा (एनपिएल) तथा नेट एनपिएल दुवै झनै बढेर गएको छ । खराब ऋण नियन्त्रण गर्न बैंक पूर्ण असफल जस्तै बनेको छ ।
खराब कर्जा झनै बढेर जाने तथा बैंक निरन्तर घाटामा गइरहने हो भने निकट भविष्यमा राष्ट्र बैंकले हस्तक्षेप गर्नुपर्ने अवस्था समेत निम्तने खतरा बढेर गएको छ ।
कुमारी बैंकको गत वर्ष नन् पर्फमिङ लोन (एनपिएल) ४.९६ प्रतिशत रहेको थियो । पहिलो क्वाटर रिपोर्ट अनुसार बैंकको एनपिएल ६.९८ अर्थात २ प्रतिशतले उकालो लागेको छ ।
आर्थिक वर्षको तीन महिनामा नै २ प्रतिशतले खराब कर्जा (एनपिएल) उकालो लाग्नु वाणिज्य बैंकका लागि अत्यन्तै चिन्ताजक र उच्च स्थिति हो ।
राष्ट्र बैंकको नीति अनुसार ३ देखि ५ प्रतिशतसम्मलाई मध्यम जोखिम र ५ देखि १० सम्म उच्च जोखिम मानिने गरिन्छ ।
राष्ट्र बैंकले एनपिएल ५ प्रतिशत बढेपछि सुरु चेतावनी स्वरुप कडा निगरानी गर्ने, रेस्ट्रिक्टेड लेन्डिङ गर्ने, प्रोभिजन बढाउन निर्देशन दिने, एक्सन प्लान माग्ने जस्ता कार्य गर्ने गर्छ ।
किन बढ्यो ह्वात्तै एनपिएल
कुमारी बैंक विभिन्न ६ वटा विकास बैंकबीच मर्ज तथा अधिग्रहण गरी बनेको थियो । त्यसो त कमजोर प्रदर्शन गरिरहेको एनसिसी बैंकसँग पनि कुमारीको मर्ज भएको थियो ।
अन्य बैंक तथा विकास बैंकसँग मर्ज गर्दा तिनीहरुको कर्जा पनि सकार्नुपर्ने हुन्छ ।

तिनै अन्य बैंकको कर्जाका कारण पनि कुमारी बैंक व्यवस्थापन अहिले एनपिएल नियन्त्रण गर्न सकसमा परेको बुझ्न सकिन्छ ।
नेट एनपिएल पनि दोब्बरभन्दा बढी
कुमारी बैंकको नेट एनपिएल पनि दोब्बरले वृद्धि भइरहेको पाइएको छ । गत वर्ष ०.८२ प्रतिशत रहेको नेट एनपिएल पहिलो त्रैमासिकसम्म आउँदा १.५६ पुगेको छ ।
बैंकले एनपिएल घटाउन पर्याप्त प्रोभिजन राखे पनि असुरक्षित खराब ऋणको भार झन् धेरै हुन पुगेको हो ।
नेट दोब्बर हुनुले प्रोभिजन बढाउँदा पनि वास्ताविक जोखिम झनै बढेको स्पष्ट हुन्छ ।
प्रोभिजन हरेक वर्ष नाफा कटाएर राख्ने गरिन्छ । नेट एनपिएल उच्च भएपछि अब प्रोभिजन झनै बढाउनुपर्ने दबाब बैंकमा थपिएको छ । यसबाट नाफा घट्ने निश्चित छ । त्यतिमात्र नभएर पुजी पर्याप्तता अनुपातमा झनै दबाब थपिँदा बैंकलाई भविष्यमा निक्कै चुनौती खेप्नुपर्ने देखिएको छ ।
कुमारीलाई रिपोर्ट बनाउनै सकस
बैंकको एनपिएल, नेट एनपिएलसहित अन्य विवरण मिलाउने क्रममा पनि बैंकलाई अहिले अप्ठ्यारो परिरहेको स्रोत बताउँछ । गलत रिपोर्ट बनाउँदा फसिने डर छ भने यथार्थ देखाउँदा राष्ट्र बैंकको कारबाहीमा परिने कारण बैंक अप्ठ्यारोमा परेको छ ।
बैंकले आर्थिक वर्ष २०८१/८२ को अडिट रिपोर्ट अहिलेसम्म तयार गर्न सकेको छैन । बैंकका सुचना अधिकारी चन्दन कार्कीले अडिट रिपोर्ट तयार भइरहेको जानकारी दिए । ‘साधारणसभासम्म अडिट रिपोर्ट तयार हुन्छ, सेन्ट्रल बैंकको अप्रुभ चाहिन्छ प्रक्रियामा छ ।’ उनले भने ।
नियामकसँग उठ्ने गरेको प्रश्न
नेपाल राष्ट्र बैंकले एनपिएल ५ प्रतिशत बढी भएमा उच्च जोखिमका रुपमा बैंकहरुलाई निगरानी गर्ने गरेको छ ।
राष्ट्र बैंकले नै मर्जका लागि दबाब दिने र कमजोर वित्तिय स्थिति भएका कम्पनीसँग मर्ज गर्दा त्यस्ता संस्थालाई प्राथमिकता दिने गरेको छैन । बरु, कमजोर प्रदर्शनका नाममा कडा निर्देशन दिने गरेको गुनासो बैंकहरुको छ ।
एनपिएल लगायतका विषयमा राष्ट्र बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को मापदण्ड पनि फरक रहेका छन् । राष्ट्र बैंकले ५ प्रतिशत एनपिएल क्रस हुने बित्तिकै उच्च जोखिम मान्ने गरेको छ । तर आईएमएफले भने १० प्रतिशतमाथि भएपछि उच्च जोखिम मान्ने गर्छ ।
यस्ता मापदण्ड आईएमएफसँग मिल्दोजुल्दो हुनुपर्ने माग समेत बैंकहरुको रहने गरेको छ । त्यसो त आईएमएफले पनि यो विषयमा राष्ट्र बैंकसँग चासो राख्ने गरेपनि राष्ट्र बैंकले अहिलेसम्म यसलाई वास्ता गरेको पाइएको छैन ।








