काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीका अध्यक्ष सुरेन्द्रकुमार पौडेल निलम्बनमा परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उदयपुर सिमेन्ट उद्योगको भ्रष्टाचार सम्बन्धी विषयमा विशेष अदालतमा मुद्दा दायर गरेपछि उनी निलम्बनमा परेका हुन् ।
अख्तियारले पौडेलसहित आठ जनाविरुद्ध ४६ करोड ५२ लाख ७४ हजार रुपैयाँ बराबरको बिगो रकम माग गर्दै मुद्दा दायर गरेको छ। मुद्दामा सिमेन्ट उद्योगका तत्कालीन निमित्त महाप्रबन्धक नवलकिशोर साह, नायब महाप्रबन्धक महेशप्रसाद काफ्ले, उत्पादन महाशाखा प्रमुख सञ्जयकुमार लाल, भण्डार महाशाखा प्रमुख महेशप्रसाद साह, उत्पादन विभाग प्रमुख रविचन्द्र पौडेल, सिमेन्ट उत्पादन महाशाखा प्रमुख हरिप्रसाद अधिकारी र बिक्री विभाग प्रमुख रामबहादुर बीसी समेत प्रतिवादी छन्।
अनुसन्धान अनुसार, आर्थिक वर्ष २०७४/७५ देखि २०७७ पुस मसान्तसम्म उदयपुर सिमेन्ट उद्योगमा कुल ३८ हजार ७६९ मेट्रिक टन क्लिङ्कर हिनामिना भएको, जसबाट सरकारी हानी र भ्रष्टाचार भएको आरोप पौडेलमाथि लागेको छ।








