कम्पनीले परिवर्तन गरिसक्दा पनि अझै फिर्ता भएनन् अंगिरमान सिंह

काठमाडौँ । प्रभु बैंक लिमिटेडमा क्लाउड मान्डप प्रा.लि.को तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गरेका अंगिरमान सिंह कम्पनीले हटाइसक्दा पनि अझै सञ्चालक पदमै रहदै आएको भेटिएको छ ।

क्लाउड मान्डप प्रा.लि.को सञ्चालक समितिको बैठकले २०७८ साल माघ ११ गते अंगिरमान सिंहलाई परिवर्तन गरी उनको ठाउँमा रामकृष्ण लामिछानेलाई प्रभु बैंक लिमिटेडको सञ्चालकमा नियुक्त गरि प्रतिनिधि पठाउने निर्णय गरिसकेको छ।

नियमअनुसार कम्पनीको संचालक समिति बैठकले प्रतिनिधि परिवर्तन गर्ने निर्णय पारित गरिसकेको भए पनि उनी जबर्जस्ति बोर्डका बैठकमा सहभागी हुँदै भत्ता बुझिरहेका छन्। जबकि उक्त मिति पश्चचात उनले गरेका कुनै पनि निर्णय वैध मानिदैन।

कम्पनी ऐनमा भएको व्यवस्था र प्रावधानअनुसार कम्पनीले गरेका निर्णयको वेवास्ता गर्दै बोर्डले नियम उल्नंघन गरेको पाईएको छ।

कम्पनीले फिर्ता बोलाई अर्का संचालक नियुक्त गरिसक्दा पनि अंगिरमान सिंह अझै प्रभु बैंकको सञ्चालक समितिमा प्रतिनिधिका रूपमा कायम रहनु विरोधाभास भएको र यसले स्वार्थको निर्णयको आशंका गरिएको छ।

कम्पनी ऐन तथा बैंक तथा वित्तीय संस्था सम्बन्धी कानुनअनुसार संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक परिवर्तन गर्न सक्ने व्यवस्था छ। यसको जानकारी बैंक र सम्बन्धित नियामक निकायमा त्यसको औपचारिक अद्यावधिक हुनुपर्ने व्यवस्था छ।

तर, सो प्रक्रिया र व्यवस्थाको वेवास्त गर्दै जानाजानी ढिलाइ गरिँदा बर्खास्त गरिएको व्यक्ति अझै सञ्चालक पदमा सक्रिय रही आएका छन्। यसले बैंकको निर्णय प्रक्रिया र संस्थागत विश्वसनीयतामाथि गम्भीर प्रश्न उब्जाएको छ।

यस बिषयमा नेपाल राष्ट्र बैंकले समेत चासो देखाएको छैन। नियामक निकायले यस्तो संवेदनशील विषयमा प्रभावकारी निगरानी नगर्नुले अर्को संसय पैदा गरेको छ।

कानुनविद्हरूका अनुसार, यदि बर्खास्त गरिएको व्यक्ति सञ्चालक समितिमा बसेर निर्णय प्रक्रियामा सहभागी भइरहेको पुष्टि भएमा त्यस अवधिमा भएका निर्णयहरूको वैधानिकतामाथि नै प्रश्न उठ्नेछ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।