बजारमा ग्यासको हाहाकारः सुतेर बसेको छ काठमाडौं महानगर

काठमाडौं । झण्डै एक महिनादेखि बजारमा खाना पकाउने ग्यासको अभावसँगै हाहाकार छ ।

नेपाल आयल निगमले आवश्यकता अनुसार ग्यासको आपूर्ति भएको बताईरहे पनि दुई साता अघिदेखि लाइनमा बसेका सर्वसाधरणले अहिले पनि ग्यास पाइरहेका छैनन् ।

यस्तो समयमा बजार अनुगमन गर्ने र कारबाही गर्ने निकाय भने सुतेर बसे सरह रहेका छन् । सर्वसाधरणले ग्यास नपाएर छटपटाइरहँदा सरकारी निकायहरु भने ग्यासको अभाव नै नरहेको दाबी गरिरहेका छन् ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले केही दिन अघि बजार अनुगमन अनुगमनको क्रममा पर्याप्त मात्रामा ग्यास फेला परेको जनाएको थियो । सरकारी निकायहरुले यसरी ग्यासको अभाव छैन भनिरहे पनि एक हप्ता अगाडीदेखि सर्वसाधरणले लाइनमा बस्दा पनि ग्यास नपाएको गुनासो गरेका छन् ।

निन्द्रैमा काठमाडौं महानगरपालिका
बजारमा यति धेरै ग्यासको अभाव चुलिदा पनि काठमाडौं महानगरपालिका भने निन्द्राबाट अझै खुलेको छैन । उपभोक्ता संरक्षण ऐन, २०७५ ले बजारमा वस्तुरसेवा आपूर्ति, मूल्य, गुणस्तर, शुद्धता, परिमाण आदि जाँच्ने, निरीक्षण गर्नेसम्मको अधिकार स्थानीय तहलाई दिएपनि काठमााडौं महानगरपालिकासहित अन्य स्थानीय सरकारले अनुगमनमा चासो नै नदेखाएको पाइएको छ ।

काठमाडौं महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले त अहिले ग्यासको अभाव नै नरहेको बताउँदै आयल निगमले नै ग्यासको अभाव नरहेको बताइसकेको जनाए । ‘अहिले ग्यासको अभाव नै छैन, अस्ति केही अभाव भएको थियो, अहिले सहजै पाइन थालिएको छ ।’ उनले भने ।

सुचना अधिकारी नुरनिधि न्यौपानेले यसको मुख्य काम विभागको नै नभएको बताउँदै आफूहरुले अनुगमन नै गरेपनि कारबाही गर्ने अधिकार नभएको भन्दै कानुन अभाव रहेको बताए ।

कालोबजारीमा ग्यास किनबेच
ग्यास अभावको बहानामा फरक कम्पनीका सिलिन्डर नसाट्ने, नयाँ सिलिन्डर किन्न लगाउने र मनलाग्दी मूल्य असुल्ने धन्दा मौलाएको छ । निर्वाचनको मुखमा ग्यासको अभाव देखाएर कालोबजारी फस्टाएको हो । राजनीतिक दलहरुले चुनावमा ब्यापारीबाट चन्दा सहयोग लिने हुँदा त्यसको जोहो गर्न त अहिले ग्यासको अभाव गरिएको हैन भनेर पनि प्रश्न उठ्ने गरेको छ ।

सामान्य अवस्थामा एक कम्पनीको सिलिन्डर अर्कोमा साट्न मिल्ने अभ्यास भए पनि विक्रेताले कृत्रिम अभावको फाइदा उठाउँदै चर्को मूल्य लिएर साट्ने गरेका छन् । कतिपयमा साट्न नपाइने भन्दै पुरै किनाउने समेत गरेको पाइएको छ ।

ग्यास कम्पनी भन्छन्, अब सहज हुँदैछ
ग्यास कम्पनीहरुले पूर्ण सहज नभए पनि क्रमश सहज हुँदै गएको बताएका छन् । ‘सहज नै त हैन, तर अब लाइन बसेको एक दुई दिनभित्र पाइने भएको छ ।’ नेपाल ग्यास उद्योगका एक अधिकारीले भने ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।