सचिन ढकाल रास्वपाको समानुपातिकबाट चर्चा र विवादित बने, अनि फेरि हराए

काठमाडौं । व्यवसायी चन्द्र ढकालका छोरा सचिन ढकाल खासै चर्चित पात्र हैनन् । धेरैले उनको नाम समेत नसुनेको हुन सक्छन् । तर, राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक सूचीमा फ्याट्ट नाम आएपछि उनको चर्चा र विवाद एकैचोटी शिखरमा पुग्यो ।

उनी लगायत केही व्यवसायिक घरानाका व्यक्तिहरुको नाम भटाभट समानुपातिक सूचीमा देखिएपछि चौतर्फी विरोध भयो । सामाजिक सञ्जालका भित्ताहरु रंगिए । समानुपातिक सूची व्यवसायीको कब्जामा परेको भन्दै आलोचनाहरु बढे ।

त्यो विरोधले रंगिएका भित्तामा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष समेत रहेका चन्द्र ढकालका छोरा सचिन ढकालको पनि नाम अग्रस्थानमा अटायो ।

नाम अटाउन मात्र हैन, विरोधको स्वर यति तिखो हुँदै गयो कि अन्ततः सचिनले समानुपातिक सूचीबाट आफ्नो नाम फिर्ता लिन बाध्य भए ।

लामो स्टाटस लेख्दै उनले विदेशमा अध्ययनपश्चात उतै कैयौँ अवसरहरु प्राप्त भएपनि स्वदेशमै उद्यम गरी देशको समृद्धिमा सकेजति इट्टा थप्छु भन्ने अठोटका साथ म स्वदेश फर्किएको हुँ भन्दै चित्त दुखाए ।

र, नेपालको संविधानले व्यवस्था गरेको समानुपातिक निर्वाचन प्रणालीको मर्म र मान्यताको सम्मान गर्दै यस पटक व्यक्तिगत कारणवश उक्त सूचीबाट आफ्नो नाम फिर्ता लिने निर्णय गरेको भन्दै उनले संसद छिर्ने चाहनालाई थाती राख्न बाध्य भए ।

व्यापारिक कब्जाबाट जोगिएको समानुपातिक सूची
यो पटक उनी मात्र हैन केही यस्ता व्यक्तिहरु समानुपातिक सूचीमा प्रवेश गर्ने तयारीमा थिए उनीहरुले यसअघि कुनै राजनीतिक योगदान नगरेपनि सिँधै आर्थिक पहुँचको प्रयोगमार्फत व्यवसायिक भर्याङ समातेर सिँधै संसद छिर्ने तरखर गरिरहेका थिए ।

तर, मिडिया र सामाजिक सञ्जालको प्रखर आवाज बुलन्द बन्दा उनीहरुको संसद छिर्ने चाहनामा ब्रेक लाग्यो । यद्यपी, स्वार्थपूर्ण घरानाका व्यक्तिहरु यसअघि पनि संसद नछिरेका भने हैनन् । कुनै न कुनै बहानामा त्यस्ता व्यक्तिहरु अहिले पनि कहीँ कतै अटाएका छन् । तर, सामाजिक चेतनाको विष्फोटले धेरै जनालाई भने पछि हट्न बाध्य बनाएको छ ।

राजनीतिलाई स्वार्थको केन्द्र र सामाजिक सेवाबाट पछाडी हटाउन यस्ता विषयमा समाजको खबरदारीले धेर थोर काम भने गरेको छ ।

अनी, पुनः हराए सचिन
समानुपातिक सूचीमा नाम आएसँगै चर्चा र विरोधपछि सचिनले लामो स्टाटस लेखेर आफू पछि हटेको जनाएसँगै उनी घुमनाम छन् । समानुापतिक सूचीबाट पछि हट्ने क्रममा आफ्नै देशको माटो सिँचेर यहीँ सुन फलाउनुपर्छ र स्वदेशमै रोजगारीका अवसरहरु सिर्जना गरी समृद्ध नेपाल निर्माणमा इमान्दार रुपले लाग्नुपर्छ भन्ने मेरा पिताजी श्री चन्द्रप्रसाद ढकालको प्रेरणाबाट नै उद्यमशीलताको विकासमा लागिपरिरहेको छु भनेका उनले त्यसपछि सामाजिक सञ्जालमा एउटा पनि गतिविधि गरेका छैनन् । उनको त्यो नै अहिलेसम्मको अन्तिम अपडेट रहेको छ ।

राजनीतिक, सामाजिक तथा सार्वजनिक कार्यक्रमहरुमा उनी देखिएको समेत पाइदैन । यसबाट राजनीतिमा प्रवेश गरेर समाजसेवा र देश विकास गर्ने भन्दा पनि सांसद मात्र बन्ने उनको चाहना त थिएन भनेर प्रश्न पनि उठेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।