काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रोफेशनल होल्डिङ कम्पनीमा पनि शंकास्पद र अपारदर्शी ढंगले ७३ करोड लगानी गरेको पाइएको छ । युनिग्लोब हायर सेकेन्डरी स्कुल काठमाडौं लिमिटेडमा गरेको ६० करोड रुपैयाँको अपारदर्शी लगानीमाथि प्रश्न उठिरहेका बेला प्रतिकित्ता चार सयका दरले महँगोमा १८ लाख ४३ हजार २ सय २४ कित्ता सेयर खरिद गरेको हो ।
यो लगानीमाथि झनै शंका गर्नुपर्ने कुरो के छ भने घुमाईफिराई अन्तिममा यो लगानी पनि युनिग्लोब स्कुलमा नै पुगेको छ । यसअघि प्रतिकित्ता ४ सयका दरले महँगोमा युनिग्लोबको सेयर किनेको नेपाल लाइफले अहिले भने त्यहीँ स्कुलमा समेत लगानी गरिरहेको प्रोफेशनल होल्डिङमा पनि महँगाेमा लगानी गरेकाे हाे ।
अपारदर्शी ढंगले लगानी गरेको नेपाल लाइफले एउटै स्कुलमा दुईतिरबाट नै प्रतिकित्ता चार/चार सयका दरले हुने गरी डेढ अर्ब भन्दा बढी लगानी गरेको हो ।
नेपाल लाइफले युनिग्लोब स्कुलको १५ लाख कित्ता सेयर प्रतिकित्ता ४ सय रुपैयाँका दरले खरिद गरी ६० करोड रुपैयाँ लगानी थियो। तर, स्कुलले आगामी दिनमा सर्वसाधारणका लागि प्रतिकित्ता १ सय रुपैयाँकै दरमा आईपीओ जारी गर्ने प्रक्रिया अघि बढाएको अवस्थामा नेपाल लाइफले संस्थापक सेयरका लागि चार गुणा मूल्य तिरेको देखिन्छ।

यस अवस्थामा प्रतिकित्ता ४ सय रुपैयाँमा सेयर खरिद गर्नुपर्ने आधार के थियो भन्ने प्रश्न उठेको छ। अझ गम्भीर पक्ष, नेपाल लाइफले सोही स्कुलमा अर्को होल्डिङ कम्पनीमार्फत समेत लगानी गरेको देखिनु हो। प्रत्यक्ष लगानीसँगै होल्डिङ कम्पनीमार्फत गरिएको यस्तो दोहोरो तथा घुमाउरो लगानीले लगानीको वास्तविक उद्देश्य र मूल्य निर्धारण प्रक्रियामाथि थप प्रश्न खडा गरेको छ।
बीमा कम्पनीले गैरसूचीकृत कम्पनीमा ठूलो रकम लगानी गर्दा कम्पनीको वास्तविक वित्तीय अवस्था, प्रतिसेयर आम्दानी, सम्पत्तिको मूल्य, भविष्यको प्रतिफल तथा स्वतन्त्र मूल्यांकनजस्ता आधार महत्वपूर्ण हुन्छन्। तर, नेपाल लाइफले युनिग्लोब र प्रोफेशनल होल्डिङको सेयर प्रतिकित्ता ४ सय रुपैयाँ कसरी निर्धारण भयो भन्ने विस्तृत आधार सार्वजनिक गरेको छैन।
सूचनाको हकअन्तर्गत लगानीको मूल्यांकन, लगानी मापदण्ड तथा निर्णय प्रक्रियासम्बन्धी विवरण मागिए पनि नेपाल लाइफले गोपनीयताको कारण देखाउँदै सूचना उपलब्ध गराउन अस्वीकार गरेको थियो। त्यसपछि सूचना आयोगले २०८३ वैशाख १० गते सात दिनभित्र सूचना उपलब्ध गराउन निर्देशन दिएको थियो। उक्त निर्णयविरुद्ध नेपाल लाइफ उच्च अदालत पाटन पुगे पनि अदालतले रिट खारेज गरिदिएको छ।
नेपाल लाइफका सूचना अधिकारी विनोदकुमार भुजेलले उपलब्ध गराएको आंशिक सूचनामा भने नियामक निकायको स्वीकृति लिएर प्रचलित नियम तथा कानुनबमोजिम नै लगानी गरिएको दाबी गरेका छन्। तर, प्रतिकित्ता ४ सय रुपैयाँ मूल्य निर्धारणको आधार र सोही कम्पनीमा होल्डिङ कम्पनीमार्फत गरिएको थप लगानीबारे प्रश्न भने कायमै छ।
वित्तीय क्षेत्रमा गैरसूचीकृत कम्पनीको सेयरको मूल्यभन्दा अस्वाभाविक रूपमा बढी रकम तिरेर लगानी गर्ने र त्यसबाट ‘अन्डर द टेबल’ कमिसनको खेल हुनसक्ने जोखिमबारे समय–समयमा प्रश्न उठ्ने गरेको छ। यस्तो अवस्थामा कागजमा प्रक्रिया पूरा भएको देखिए पनि वास्तविक लाभ कसले लियो भन्ने विषय महत्वपूर्ण छ।
करिब १८ लाख सक्रिय बिमालेखबाट संकलित प्रिमियमको ठूलो हिस्सा विभिन्न क्षेत्रमा लगानी हुने भएकाले यस्तो लगानीमा पारदर्शिता र प्रतिफलको सुनिश्चितता बीमितको प्रत्यक्ष सरोकारको विषय हो भने जथाभावी लगानीले बिमितले पाउने बोनशदरमा समेत प्रत्यक्ष असर पार्ने गर्छ ।
यदि बजारमा १ सय रुपैयाँमा आईपीओ जारी गर्ने तयारी गरिरहेको कम्पनीको सेयरमा नेपाल लाइफले ४ सय रुपैयाँका दरले लगानी गरेको हो भने उक्त मूल्य अन्तरको औचित्य पुष्टि गर्नुपर्ने देखिन्छ। त्यसमाथि एउटै कम्पनीमा प्रत्यक्ष ६० करोड र होल्डिङ कम्पनीमार्फत समेत ७३ कराेड लगानी भएको विषयले नेपाल लाइफको लगानी निर्णयमाथि थप अनुसन्धान आवश्यक देखाएको छ।
याे पनि पढ्नुहाेस्
नेपाल लाइफको युनिग्लोबमा ६० करोडको अपारदर्शी लगानीको भित्री कथा ! तपाई खल्तीमा यसरी पर्छ असर ? (भाग-१)




