काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटनका क्रममा आफ्नो आलोचना भएपछि सामाजिक सञ्जालमार्फत व्यङ्ग्यात्मक टिप्पणी गरेपछि त्यसको जवाफमा जेनजी अभियन्ता रक्षा बमले पनि कडा टिप्पणी गरेकी छन्।
बमले आइतबार फेसबुकमा लेखेकी छन्, ‘धन्न जेनजीहरूले आन्दोलन गर्दिएर, रगत बगाइदिएर, घाइते/सहिद भइदिएर, सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री, मन्त्री र सांसद हुन पाएका छन्।’
प्रधानमन्त्री शाहले आइतबार नै फेसबुकमार्फत ‘धन्न खुलामञ्च राम्रो बनाइएछ, नयाँ पार्टीले कार्यक्रम गरेर गाली गर्न पाएका छन्’ भन्दै व्यङ्ग्य गरेका थिए। उनको उक्त टिप्पणी कांग्रेस सभापति गगन थापाको अभिव्यक्तिप्रति लक्षित रहेको बुझिएको थियो।
कांग्रेसको महाधिवेशन उद्घाटन समारोहमा थापाले प्रधानमन्त्री शाह संसद्मा उपस्थित नभएसम्म संसद् खुला भएको मान्न नसकिने बताएका थिए। त्यसपछि शाहले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका थिए।




