टेनिस राेका
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले युनिग्लोब हायर सेकेन्डरी स्कुल काठमाडौं लिमिटेडमा गरेकाे ६० करोड रुपैयाँ लगानीमा मूल्य निर्धारणको आधारमाथि गम्भीर प्रश्न उठेको छ । उक्त शंकास्पद र मिलेमतोमा ‘लो भ्यालू’ सेयरलाई उच्च मूल्य हालेर लगानी गरेको हुनसक्ने आशंका जन्माएको छ ।
वित्तिय संस्थामा निश्चित मूल्यको सेयर निक्कै महँगोमा किन्ने र ‘अन्डर टेबल कमिशन’ लिने व्यापक रुपमा चर्चा हुने गरेको छ । यस्तो कमिशन अर्थात वित्तिय अपराध कागजमा सबै ठिकठाक बनाएर नीतिगत रूपमै भ्रष्टचार हुने गरेकाे छ । नेपाल लाइफको युनिग्लोब स्कुलको लगानी पनि अन्डर टेबल कमिशनको हुनसक्ने आधार समेत भेटिएको छ।

नेपाल लाइफले लगानी गरेका कम्पनीले १ सय रुपैयाँको आइपिओ समेत जारी गर्ने तयारी गरिरहेको छ । उक्त स्कुलले आफ्नो वार्षिक साधारणसभामा नै आईपिओ जारी गर्ने विषय लगेकाे थियाे ।
बजारमा सय रुपैयाँमा नै आईपिओ जारी गर्ने तयारी गरेको कम्पनीले नेपाल लाइफले भने प्रति सेयर ४ सयका दरले १५ लाख कित्ता सेयर खरिद गरेको हो ।
नेपाल लाइफले एक होल्डिङ कम्पनीमार्फत पनि यहीँ स्कुलमा लगानी गर्ने गरी ठूलो धनराशि लगानी गरेको पाइन्छ । एउटै स्कुलमा दाेहाेराे र घुमाउराे लगानीले झनै शंस्का उत्पन्न गरेको छ ।
आईपिओ निकाल्ने तयारीमा छ युनिग्लोब
युनिग्लोब स्कुल कमलादीमा छ । २०८२ को २८ औं साधारणसभामा स्कुलले एजेण्डा नम्बर ६ मा आइपिओ जारी गर्ने सम्बन्धी एजेण्डा साधारणसभामा लगेर आइपिओकाे प्रकिया अघि बढाएकाे छ। 
यसको अर्थ अहिले नेपाल लाइफले प्रतिकित्ता ४ सय रुपैयाँमा किनेको शेयर र भविष्यमा सर्वसाधारणका लागि प्रस्ताव गरिने शेयरको मूल्यबीच ठूलो अन्तर हुन सक्ने अवस्था देखिन्छ। त्यही १५ लाख कित्ता शेयर प्रतिकित्ता १ सय रुपैयाँमा खरिद गर्न सकिने अवस्था भएको भए लागत १५ करोड रुपैयाँ मात्रै हुने देखिन्छ । यसरी, संस्थापक सेयर ४ सयमा किने पनि सर्वसाधरणले १ सयमा आईपिओ पाउने हो भने बिमामार्फत सर्वसाधरण तथा व्यवसायिक कम्पनीबाट उठाएको पैसाको लगानी उठ्न नै वर्षाै लाग्नेछ ।
२८ औं वार्षिक साधारणसभामा युनिग्लोबले २ प्रतिशत बोनश सेयर र त्यसका लागि कर प्रयोजनार्थ ०.२६३० प्रतिशत नगद दिएको थियो । नेपाल लाइफले २ प्रतिशत लाभांश दिने कम्पनीलाई ४ सयका दरले ६० करोड बराबर महँगोमा लगानी गरेको हो । यस्तो गैरसूचीकृत कम्पनीमा ठूलो लगानी गर्दा मूल्यांकन र निर्णय प्रक्रियाको पारदर्शिता महत्वपूर्ण हुन्छ। तर नेपाल लाइफले ४०० रुपैयाँको मूल्य निर्धारणको आधार सार्वजनिक गरेको छैन।
के भन्छ नेपाल लाइफ ?

नेपाल लाइफले लगानी मापदण्ड, भ्यालुएसन, कम्पनीको प्रतिसेयर आम्दानी लगायत विषय गोप्य राखेको छ । सुचनाको हक अन्तर्गत यस सम्बन्धी विवरण २०८२ साल पुस महिनामा मागिएको थियो । सुचना अधिकारीले सुचना उपलब्ध नगराएपछि माघ २ गते कार्यालय प्रमुखलाई सम्बोधन गरेर सुचनाको हक अन्तर्गत सुचना उपलब्ध गराउन माग गर्दा कम्पनीले गोपनियताको हक भन्दै सुचना उपलब्ध गराउन अस्वीकार गरेको थियो ।
सुचना आयोगले २०८३ वैशाख १० गते सात दिनभित्र सुचना उपलब्ध गराउन नेपाल लाइफलाई निर्देशन दिएको थियो । नेपाल लाइफ उक्त निर्णयको विरुद्धमा रिट निवेदन लिएर उच्च अदालत पाटन पुगेको थियो । उच्च अदालत पाटनले उक्त रिट खारेज गरिदिएको छ ।
यद्यपी, सूचना आयोगको निर्णयपछि सुचना अधिकारी बिनोद कुमार भुजेलले उपलब्ध गराएको आंशिक सूचनामा नियामक निकायसँग स्वीकृत लिएर नियम कानुन बमोजिम नै लगानी गरेको उल्लेख गरिएको छ ।
तपाईको खल्तीमा कस्तो पर्छ असर ?
नेपाल लाइफसँग जारी पुँजी ९ अर्ब रहेको छ । जीवन बीमा कोषमा २३२ अर्ब छ । त्यस्तै २३९ अर्ब लगानी छ । सक्रिय बिमालेख १८ लाख रहेका छन् । नेपाल लाइफले बिमा गर्ने तपाई हामी र व्यवसायिक कम्पनीहरुबाट प्रिमियम उठाएर लगानी गर्ने छ । यस्तो लगानी उचित भएमा राम्रो प्रतिफल दिन्छ र बोनश दर बढेर आउँछ । १ सय पर्ने ठाउँमा चार सय लगानी भयो भने त्यो लगानी पनि उठ्न गाह्रो हुन्छ र त्यसको असर तपाईले पाउने बोनश दरमा पर्दछ ।
यति मात्रै हैन, वार्षिक प्रतिवेदन अनुसार १६ जुलाई २०२५ मा नेपाल लाइफको बजार पुँजीकरण रु. ७३.३ अर्ब रहेको बताउँछ। सर्वसाधारणले अबौं लगानी गरेका छन् । नेपाल लाइफले राम्रो लगानी गरेर प्रतिफल राम्रो दिए सेयरमा लगानी गर्नेले फाइदा कमाउन सक्छन् । तर, संस्थाले गलत काम गर्दै गएमा सेयरधनीले समेत घाटा बेहोर्नुपर्ने हुन्छ ।




