वर्षाका कारण २१ जनाको मृत्यु, पाँच घाइते, पाँच बेपत्ता

काठमाडौँ । भारी वर्षा, बाढीपहिरो र अविरल वर्षाजन्य घटनामा परी २१ जनाको मृत्यु भएको छ । यस्तै, पाँच जना घाइते भएका छन् भने पाँच जना अझै बेपत्ता छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीका ५३ घटनामा चार जनाको मृत्यु भएको छ । पहिरोका २५६ घटनामा १४ जनाको मृत्यु, चार जना घाइते र पाँच जना बेपत्ता भएका छन् । त्यसैगरी, अविरल वर्षाका ११७ घटनामा तीन जनाको मृत्यु र एक जना घाइते भएका छन् ।

प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार बङ्गालको खाडीमा उत्पन्न न्यूनचापीय प्रणालीका कारण असोज ८ देखि ११ गतेसम्म देशका विभिन्न भागमा भारीदेखि अतिभारी वर्षा भएको थियो । प्राधिकरणको पछिल्लो विवरणअनुसार वर्षाजन्य विपद्मा २१ जनाको मृत्यु, पाँच जना बेपत्ता र पाँच जना घाइते भएका हुन् ।

बाढी र पहिरोका कारण देशभर १४३ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने ५१ घरमा आंशिक क्षति पुगेको छ । विपद्का कारण ७४७ परिवार प्रत्यक्ष प्रभावित भएका प्राधिकरणले जनाएको छ । जोखिममा परेका विभिन्न जिल्लाबाट करिब दुई हजार जनालाई सुरक्षित स्थानमा सारिएको छ ।

निरन्तर वर्षाका कारण देशभरका १८६ वटा वर्षामापन केन्द्रमा १०० मिलीमिटरभन्दा बढी वर्षा मापन भएको छ । सबैभन्दा धेरै नवलपरासी (बर्दघाट सुस्तापूर्व)को डेढगाउँमा ५४४ दशमलव दुई मिलीमिटर वर्षा भएको छ । कास्कीको पञ्चासेमा ५०० दशमलव दुई र तनहुँको अत्रौलीटारमा ४७२ मिलीमिटर वर्षा मापन गरिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका प्रवक्ता महतका अनुसार वर्षाका समयमा करिब नौ हजार पर्यटक तथा पदयात्री विभिन्न स्थानमा यात्रारत रहेका थिए । जाजरकोट, म्याग्दी, बागलुङलगायत जिल्लामा बाढी तथा पहिरोमा फसेका व्यक्तिलाई हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । उद्धार गरिएका व्यक्तिका लागि सम्बन्धित जिल्ला प्रशासनको समन्वयमा स्थानीय तहमार्फत आवश्यक बन्दोबस्ती तथा राहतको व्यवस्था गरिएको छ ।

भारी वर्षाको पूर्वानुमानसँगै प्राधिकरणले पूर्वतयारी तथा प्रतिकार्यका लागि सम्बन्धित निकायलाई तयारी अवस्थामा रहन आग्रह गर्दै नियमित सूचना तथा एड्भाइजरी जारी गरेको थियो । सम्भावित बाढी प्रभावित क्षेत्रका बासिन्दालाई सचेत गराउन बाढी पूर्वानुमान महाशाखाबाट आठ लाख १४ हजार एसएमएस पठाइएको थियो ।

पर्वतारोहण तथा पदयात्रामा रहेका पर्यटकलाई लक्षित गरी अङ्ग्रेजी भाषामा समेत सतर्कता सूचना जारी गर्दै जोखिमयुक्त क्षेत्रमा रहेकालाई सुरक्षित स्थानमा जान र सुरक्षित स्थानमा रहेकालाई त्यहीँ रहन आग्रह गरिएको थियो ।

केन्द्रीय मनसुन प्रतिकार्य कमाण्ड पोष्टको बैठक दैनिक बसेर परिस्थितिको समीक्षा गरिएको थियो । जोखिम देखिएका जिल्लामा आवश्यकताअनुसार सवारी आवागमनमा रोक लगाउन निर्देशन दिइएको तथा सम्भावित प्रभावित जिल्लामा स्थानीय तह र जिल्ला विपद् व्यवस्थापन समितिमार्फत विद्यालय बिदा दिइएको प्राधिकरणले जनाएको छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।